विश्व शान्ति कांग्युर ‘महापूजा’ सुरु

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७८
Maha Puja Photo

पोखरा । पोखरामा गुरुङ (तमु) लामा बौद्ध धर्म समाजको आयोजनामा प्रथम विश्व शान्ति कांग्युर (त्रिपिटक) वाचन महापूजा आइतबारदेखि सुरु भएको छ । पोखरा ९ नायँबजार तमु धिंमा सुरु भएको महापूजाको गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गरेका हुन् ।
चैत १८ गतेसम्म चल्ने पूजाको प्रदेश प्रमुख गुरुङले दीप प्रज्वलन गर्दै बौद्ध धर्म समाजका संस्थापक एवं केन्द्रीय अध्यक्ष धर्म गुरु खेम्पो डा. शिर लामा गुरुङलाई वाचन गरिने पुस्तकको पहिलो ठेली हस्तान्तरण गरी पूजाको शुभारम्भ गरेका हुन् । कार्यक्रममा प्रदेश प्रमुख गुरुङले धार्मिक सहिष्णुतामा जोड दिए । धार्मिक द्वन्द्व गर्नुभन्दा सबैले सबै धर्मको अस्तित्व स्वीकार्नुपर्ने उनको धारणा थियो । बौद्ध धर्मालम्बीहरुले समाजलाई असल बाटो तर्फ डो¥याएकाले यस धर्मको महिमा झनै अपरम्पार रहेको उनको तर्क थियो । धर्म छान्न पाउने अधिकार सबैको रहेको उल्लेख गर्दै धार्मिक स्वतन्त्रताका लागि नेपाली जनता सजग र सतर्क हुनुपर्ने उनले बताए ।
कोरोना भाइरसको महामारीका कारण मृत्युवरण गर्नेहरुको आत्मा शान्तिका लागि नेपालमै पहिलो पटक कांग्युरवाचन महापूजा आयोजना गरिएको धर्म गुरु खेम्पो डा. शिर लामा गुरुङले बताए । उनका अनुसार १ सय ३ ठेलीको ग्रन्थ ६ दिनमा सकिने लक्ष्य राखिएको छ । उनले हरेक दिन धर्म देशना, ग्रहशान्ति, र पितृपूजा हुने बताउँदै बौद्धमार्गी मात्रै नभई अन्य धर्मावलम्बीहरु समेत पूजामा भाग लिन सक्ने बताए ।
६ दिन सञ्चालन हुने सो पूजामा करिब १५ लाख खर्च हुने अनुमान गरिएको छ । खर्चको स्रोत भक्तजनले दिने दान रहेको आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार घाटा भएमा समाजले व्यहोर्ने र नाफा भएमा नाफा रकम त्रिपिटकवाचकको गुठी बनाएर विकट ठाउँहरुमा खर्च गर्नेछ । गण्डकी प्रदेशबाट सुरु भएको महापूजा निकट भविष्यमै अन्य प्रदेशमा गर्दै जाने धर्म गुरु खेम्पो शिर लामाले जानकारी दिए । महापूजामा नेपालका विभिन्न स्थानमा रहेका बौद्ध धर्मगुरुहरुको उपस्थिति रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width