पोखरा विमानस्थलका पूर्वाधार हस्तान्तरण तयारी

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७८
HB_pokharaairpot

राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको टर्मिनल भवन । विमानस्थलको ६६ प्रतिशत काम सम्पन्न भएको छ । तस्बिरः हरि बाँस्तोला

पोखरा । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण नसकिँदै केही पूर्वाधारहरु हस्तान्तरणको तयारी थालिएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आएका बेला निर्माणाधीन विमानस्थलका केही पूर्वाधार हस्तान्तरण गर्न लागिएको हो । विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सकिएको छ । बनिसकेका पूर्वाधारहरु यही शनिबार नागरिक उड्ययन प्राधिकरणलाई हस्तान्तरण गर्न लागेको स्रोतले बताएको छ ।
अझै ७ प्रतिशत काम बाँकी हुँदै हालसम्म बनिसकेका पूर्वाधार हस्तान्तरण गर्ने तयारी गरिएको हो । रनवेदेखि ट्याक्सी वे, टर्मिनल भवनसहित अधिकांश संरचना निर्माण भैसकेको छ । तर निर्माण नसकिँदै पूर्वाधार हस्तान्तरण खासै औचित्यपूर्ण नहुने बताइएको छ । गएको जुलाई १० मै काम सकेर हस्तान्तरण गर्ने भनिएको विमानस्थल कोरोना संक्रमणका कारण १ वर्ष पछि सरेको हो ।
आउँदो जुलाई १० मा आयोजनाको काम सकेर हस्तान्तरणको तयारी छ । तर विमानस्थल बनिसके पनि बाह्य व्यवस्थापनमा भने अड्चन कायमै छ । आयोजना प्रमुख विनेश मुनंकर्मीले पूर्वाधार हस्तान्तरणको औपचारिक जानकारी नआएको बताए । ‘शनिबार कार्यक्रम गर्ने कुरा फाइनल हो । तर त्यसको मोडालिटीबारे औपचारिक जानकारी छैन,’ उनले भने, ‘पूर्वाधार हस्तान्तरणबारे केन्द्रमा छलफल भएको होला । यहाँ केही खवर छैन ।’ बनिसकेका पूर्वाधार हस्तान्तरण गर्दा खासै असर नपर्ने उनले सुनाए । ‘आफ्नो देशको हाई प्रोफाइल आउँदा हस्तान्तरण गर्न खोजेको हुन सक्छ । त्यो राम्रै पनि हो,’ उनले भने, ‘भोलिसम्म कार्यक्रमबारे जानकारी होला ।’
विदेशमन्त्री वाङ यी पोखरा आउने कार्यक्रम भने छैन । उनले काठमाडौंबाटै भर्चुअल माध्यममा सम्बोधन गर्ने र पोखरा विमानस्थलको निरीक्षण गर्ने बताइएको छ । उनी भोलिदेखि १३ गतेसम्म नेपाल भ्रमणका लागि आउन लागेका हुन् । पहिलो पटक प्रधानमन्त्री भएका बेला केपी शर्मा ओलीले २०७३ सालमा विमानस्थल निर्माणको शिलान्यास गरेका थिए । तर आवश्यक तयारी नपुगेको भन्दै १ वर्षसम्म काम सुरु हुन पाएन । चीनको सिएएमसिईले निर्माणको जिम्मा पाएको छ । विमानस्थल निर्माणका लागि पोखराको छिनेडाँडा क्षेत्रमा २ हजार ९ सय ६ रोपनी जमिन अधिग्रहण २०३२ सालमै गरिएको हो ।
त्यसपछि २०६९ सालमा थप जग्गा अधिग्रहण गरियो । अझै ४ सय रोपनी अधिग्रहण गर्नुपर्ने आयोजनाले जनाएको छ । विमानस्थलभित्र इन्धन डीपो, सुरक्षाकर्मी बस्ने भवन, जहाज पार्किङ लगायत संरचना बनाउन बाँकी नै छ ।

Related News

सम्बन्धित समाचार

hero news full width