कोरोनाको २ वर्षपछि महोत्सव रौनक

आदर्श समाज सम्वाददाता
चैत्र ६, २०७८
lekhnath festival

लेखनाथ । लेखनाथमा जारी महोत्सवमा यतिखेर दर्शकको उत्साहजनक सहभागिता छ । विश्वभर फैलिएको कोरोना महामारीले २ वर्षसम्म मेलामहोत्सव स्थगित थिए । आर्थिक क्षेत्र चलायमान हुन सकेको थिएन ।
लामो समयको सन्नाटा चिर्दै आयोजित १७ औं संस्करणको लेखनाथ महोत्सवको छुट्टै रौनक छ । महोत्सवको १० औं दिन शनिबार बिदा परेकोले दर्शकको उपस्थिति बाक्लो देखिन्थ्यो । एकपटक त महोत्सव जानै पर्छ भन्ने सोचका साथ आएका दर्शकका कारण महोत्सव सफलताउन्मुख रहेको आयोजकले दाबी गरेका छन् ।
लेखनाथको तालचोक वरपर बाक्लो संख्यामा शनिबार बिहानदेखि दर्शकको चहलपहल सुरु थियो । त्यो चहलपहल साँझसम्म कायम रह्यो ।
गर्मीको कुनै प्रवाह नगरी कोही आफ्ना बालबालिका डो¥याउँदै थिए भने कोही वरपरको रमाइलो दृष्य हेर्दै महोत्सवमा रमाएका थिए । दर्शकको भिडले व्यवस्थापन गर्न आयोजक लेखनाथ उद्योग बाणिज्य संघलाई हम्मेहम्मे परेको थियो ।
आवश्यक स्वदेशीदेखि विदेशी सामान सूपथ मूल्यमा किन्न पनि पाइने भएपछि दर्शकले महोत्सव हेरेर फर्किंदा केही न केही खरिद गरेर फर्किएको पाइन्थ्यो ।
महोत्सव समापन हुन २ दिन बाँकी रहेकाले यो पटक सबैभन्दा धेरै दर्शकले मेलाको अवलोकन गरेको आयोजकले अनुमान गरेका छन् । शनिबारमात्र करिब ४० हजार दर्शकले मेलाको अवलोकन गरेकोमा हालसम्म १ लाख ८० हजार दर्शक मेला प्रवेश गरेको महोत्सव प्रचार प्रसार उपसमिति संयोजक गोपीचन्द्र बास्तोलाले बताए ।
महोत्सवमा ब्यापारको कारोबार पनि बढेको संघका कोषाध्यक्ष भरतराज ओझाको दाबी छ । उनका अनुसार शनिबारमात्र करिब १ करोड बराबरको आर्थिक कारोबार भएको छ । हालसम्म ४ करोड ९० लाख बराबरको कारोबार भएको आयोजकको दाबी छ ।
महोत्सवमा दोहोरी, डिजे र पप कन्सर्टले दर्शक तान्ने गरेको छ । विद्यालयस्तरीय नृत्यमा लक्ष्मी मावि अर्घौ र न्यू लाइट इङलिस बोर्डिङको लोकनृत्य प्रस्तुत रहेको संयोजक सन्तोष बरालले जानकारी दिए । यसै गरी पोखरा २७, बडहरे गन्धर्व समाजले जातीय भेषभुषा प्रस्तुत गरेका थिए ।
शनिबार लोकदोहीरतर्फ बद्री पंगेनी, भूमिका गिरी, रेशम निर्दोष, तुलसा जिसी, नवराज अधिकारी, निशा पोखरेल, नारायण सुनार र अमृता नेपाली, बालबलाकार सुप्रिम मल्ल लगायतको प्रस्तुति रह्यो । लाइभ कन्सर्टमा शिव परियार, साहिमा श्रेष्ठ र एलविन थापा लगायतको प्रस्तुतिले महोत्सवस्थल गुन्जायमान थियो ।
आइतबार पपतर्फ सविन राई, धर्वेन्द्र सेवान र लोकदोहोरीमा खुमन अधिकारी, चोलेन्द्र पौडेल, शिवहरि ढुंगाना,राजेन्द्र सापकोटा, सुदीप तामाङ, मीना बुढाथोकी, ज्योति लोहोनी, मीरा पोख्रेल, सरिता सारुमगर र सरला अधिकारीको प्रस्तुति रहने स्टेज संयोजक नेत्रपाणि बास्तोलाले बताए । फागुन २६ देखि सुरु महोत्सव चैत ७ सम्म संचालन हुनेछ । महोत्सवमा करिब ३ सय स्टल छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width