कोरोना बिसाउँदै रमाए पर्यटक

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०७८
holi festival

पोखरा । कोरोना कहर बिर्साउने गरी पोखरामा विदेशी पर्यटकले होली मनाएका छन् । नेपालीहरुको पर्व फागुपूर्णिमा अर्थात् होली अवसरमा विदेशी पर्यटकले आपसमा रंग दलेर यो पर्व मनाउँदै नौलो अनुभूति गरे ।
पोखराको मुख्य पर्यटकीयस्थल लेकसाइडमा जम्मा भएका विदेशी पर्यटकहरुले पञ्चेबाजाको तालमा नाचगान गर्दै आपसमा विभिनन रंग दलेर मनाउँदा फरकखालको महसुस भएको प्रतिक्रिया दिए ।
रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान), पोखराले पोखरा घुम्न अब सुरक्षित छ भन्ने सन्देश दिने उद्देश्यले बिहीबार होली महोत्सवलाई निरन्तरता दियो । रेवान अध्यक्ष लक्ष्मण बरालले अब पोखरा सबै हिसाबले सुरक्षित छ र पर्यटकीय गतिविधि चलायमान भएको छ भन्ने सन्देश पनि आयोजित महोत्सव सफल भएको दाबी पनि गरे ।
महोत्सवमा नाचगान र रंगले छ्यापाछ्याप गर्दै लेकसाइड परिक्रमा गर्दा विदेशी पर्यटक निकै दंग थिए । पहिलो पटक होलीमा सहभागी भएका पर्यटकले विशेष रुचिका साथ नेपालीसँगै रमाइलो गरेका थिए । उनीहरुको अनुहार रंगले रंगीचंगी बन्दा आपसमा चिन्नसमेत मुस्किल परेको थियो ।
फेवाताल किनार अम्बोटमा भेला भएर पर्यटक पञ्चेबाजा, संगीतको तालमा होली खेल्दै खहरेचोकसम्म पुगेका थिए । उनीहरुले गौरीघाट, वाराहीचोक, हल्लनचोक परिक्रमा गरेका हुन् ।

रेवान पोखराले आयोजना गरेको होली महोत्सवमा विदेशी पर्यटक नौलो मान्दै आपसमा रंग दलेका थिए

होली महोत्सवले कोरोनाले सुस्ताएको पर्यटन क्षेत्र चलायमान गराएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । उनले कोरोनाबाट सुस्ताएको पर्यटन अब चलायमान बन्ने शुभसंकेत देखा परेको बताए । सहभागीलाई मनोरञ्जन दिन लेकसाइडको विभिन्न ठाउँमा कन्सर्टसमेत आयोजना गरिएको थियो । महोत्सव पर्यटनसम्बद्ध विभिन्न संघसंस्था, सरकारी कार्यालयका प्रतिनिधि, स्थानीय क्लब, आमा समूहको सहभागिता थियो ।
रेवानले अंग्रेजी नयाँ वर्ष अवसरमा हालैमात्र २२ औं पोखरा सडक महोत्सव सम्पन्न गरेको छ । रेवानले सडक महोत्सव सुरुआतसँगै होली महोत्सवलाई पनि निरन्तरता दिएको हो । कोरोना महामारीले गत वर्ष होली महोत्सव स्थगित भएको थियो । त्यसअघि २०७६ सालमा होलीपछि विश्वव्यापी महामारीरुपमा कोभिड–१९ संन्त्रास सुरु भएको हो । कोरोनाले सबैभन्दा प्रभाव पनि पर्यटन क्षेत्रलाई पा¥यो ।
पोखरामा हाल पर्यटन क्षेत्रमा ५ अर्ब बढीको लगानी रहेको पर्यटन व्यवसायी बताउँनछन् । नेपाल घुम्न आउने विदेशी पर्यटकमध्ये ४० प्रतिशतजसो पोखरा घुम्छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width