दशवटा रथ बनाएकोले रामका बा दशरथ : ओली

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७८
chautari~

पोखरा । नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलेको युगबारे मान्छेहरुले गलत व्याख्या गरेको टिप्पणी गरेका छन् ।
‘रामराज्य भनेको आहा थियो । कस्तो थियो ? के इन्टरनेट फ्रि गरिदिएको थियो ?, पोखरामा शुक्रबार प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रा पुर्खाहरुले समाजका लागि र मानव सभ्यताको लागि खोज अनुसन्धान गरे । असाधारण योगदान गरे । त्यो पो राम्रो हो ।’ उनले रामको जन्म ठोरीमै भएको दाबी दोहो¥याएका छन् । त्यतिमात्रै होइन, दशरथको नामको व्याख्या समेत गर्न भ्याए । ‘रामका बा नेमी भन्ने थिए, माडीका छेउमा । अहिलेको माडी र ठोरीको बीचमा पर्छ त्यो । त्यहाँ रामको जन्म भएको थियो र त्यहाँका राजाको नाम नेमी भन्ने थियो,’ उनी भन्छन्, ‘जसले मेसोपोटामियामा आविष्कार भएको गाडा नेपालमा ल्याए । त्यसलाई घोडा लगाएर रथ बनाएर दौडाउन थाले । ४२ सय वर्षअघि मेसोपोटामियामा गाडा बनेको थियो । २ सय वर्षपछि राजा नेमीकोमा आइपुग्यो । उनले पनि १० वटा रथ बनाए । त्यसरी रामका बाको नाम दशरथ भयो ।’
ओलीले अधिकांश समय धार्मिक र दर्शनमाथी टिप्पणी गरे । सत्ययुग, त्रेतायुग, द्वापर युग कस्तो न थियो भन्ने भ्रमबाट बाहिर निस्कन उनले आग्रह गरे । ‘हाम्रा पुर्खाहरु कल्पना त गर्ने हुन् । पुष्पक विमानको कल्पना गरे, हेलिप्याड चाहिन्थ्यो कि चाहिंदैनथ्यो ? रन–वे चाहिन्थ्यो कि चाहिंदैनथ्यो ? हामी अहिले एयरपोर्ट बनाउन यति मेहनत गरिरहेका छौं,’ उनले अघि भने, ‘एकैछिनमा विमान लंकामा गयो । फर्केर आयो । विमान कताबाट बन्यो ? पाइलट को थियो थाहा छैन । अटोमेटिक थियो कि ? जेहोस् हाम्रा पुर्खाको चिन्तन असाधारण छ ।’ उनी त्यतिमा मात्रै रोकिएनन् र थपे, ‘रामको पालामा चप्पल बनेको थिएन । लक्ष्मणले सिंहासनमा खडाउ राखेर राज्य गर्छु भनेका थिए । कपडा सिउने प्रचलन थिएन । हामी द्वापर युगमा, त्रेता युगमा के के न विकास थियो भन्छौं ।’
उनले सर्वोच्च अदालतमा गोरु व्याएको टिप्पणी गरेका छन् । ओलीले गैरसंवैधानिकरुपमा आफ्नो सरकार ढालिएको बताए । ‘एउटा जननिर्वाचित प्रगतिशील सरकारलाई ढालेका छन् । संसारमा अदालतले सरकार बनाउने र परिवर्तन गर्दैन । सरकारप्रति व्यंग्य गर्दै उनले भने, ‘५२ सालमा १ जनाले सर्वाेच्चमा गोरू ब्यायो भन्थे । अहिले गोरु ब्याएनमात्रै ५ वटा पाठा पायो । बाच्छा ।’

प्रेस चौतारीको नवौं महाधिवेशनमा पोखरामा सुरु

ओलीले प्रतिगमनविरुद्ध लेख्न पत्रकारलाई आग्रह गरेका छन् । देशको अर्थतन्त्र ध्वस्त भएकोमा उनले देशको राजनीति बिग्रिन नदिन चुनावबाट यो गठबन्धनलाई ठेगान लगाउनुपर्ने बताए । ‘सही–गलत छुट्याउनुस् । सही कुरा बाहिर ल्याउनुस् । गलत कुराको खण्डन गर्नुस्,’ ओली भन्छन्, ‘यो निर्वाचनबाट जालझेल र षड्यन्त्र तोड्नुपर्छ । षड्यन्त्र गर्नेहरुलाई ठेगान लाउनुपर्छ ।’ ओलीले गठबन्धन कारण देशको अर्थतन्त्र चौपट भएको आरोप लगाए । माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालको दशा बिग्रिएर नेकपाको सरकार ढलाएको उनको गुनासो छ । ‘हामीसँग दुइतिहाईको सरकार थियो । प्रचण्डलाई दशा लाग्यो, माधव नेपाललाई दशा लाग्यो । सरकार ढालेर अहिले हेर्नुस् त ढोकाबाहिर कुरेर बसेका छन्, भित्रबाट प्रसाद बाँड्न आउँछ कि भनेर,’ उनी भन्छन्, ‘बुद्धि बिगार्दा यस्तो हुन्छ । तपाईंहरुले बुद्धि नबिगार्नुस् ।’
एमाले महासचिव शंकर पोखरेलले लोकतन्त्रविरुद्ध षड्यन्त्र भएको बताए । उनले प्रचण्डको छेपारे चरित्रले छेपारो नै लजाउने गरेको आरोप लगाए । संगठनमा अराजकता मौलाउँदै जाँदा उनीहरु विभाजनको बाटोमा लागेको उनको भनाइ थियो । एमाले सचिव पद्मा अर्यालले आगामी वर्ष हुने ३ तहको चुनावमा पार्टीको पक्षमा जनमत निर्माण गर्न दृढतासाथ लाग्न चौतारीका सदस्यलाई निर्देशन दिइन् ।
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राज्यको चौथो अंग मजबुद बनाउनुपर्नेमा जोड दिंदै गण्डकीले संचारमैत्री विधेयक पारित गर्ने आश्वासन दिए । प्रेस काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार आचारसंहितामा रहेर पत्रकारिता गर्नुपर्नेमा जोड दिंदै काउन्सिल यस विषयमा संवेदनशील रहेको बताए । नेपाल पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेलले राज्यले कानुनलाई अझै पनि प्रेस स्वतन्त्रतामैत्री बनाउन नसकेको टिप्पणी गरे । कार्यक्रममा बान अध्यक्ष उज्वल चौलागाईं, फोनिज अध्यक्ष डण्ड गुरुङ, संचारिका समूह अध्यक्ष नीतु पण्डित लगायतले बोलेका थिए । चौतारी अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा भएको उद्घाटन समारोहमा वरिष्ठ उपाध्यक्ष माधव नेपालले स्वागत र महासचिव राजेश राईले संचालन गरेका थिए । समारोहमा बद्री पंगेनी लगायत कलाकारले सांगेतिक प्रस्तुति दिएका थिए । महाधिवेशनले १ सय ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने महाधिवेशन संयोजक गणेश पाण्डेले बताए ।
यसैबीच, प्रेस चौतारीले सो अवसरमा विभिन्न पुरस्कार वितरण गरेको छ । २०७७ सालको हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कारबाट चौतारीका पूर्व अध्यक्ष राजेन्द्र अर्याल, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार कृष्णविनोद लम्साल, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार सागर पण्डित, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार केपी गौतम, प्रेस चौतारी पद्मलक्ष्मी–सावित्री वस्नेत स्मृति पत्रकारिता पुरस्कार अब्दुल्लाह मियाँ पुरस्कृत भए ।
यस्तै, २०७८ सालको हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार चौतारीका पूर्व अध्यक्ष गगन विष्ट, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार झलक सुवेदी, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार अनुप तिवारी, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार हिरा परियार, प्रेस चौतारी पद्मलक्ष्मी–सावित्री वस्नेत स्मृति पत्रकारिता पुरस्कार शिवराज भट्ट, चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार शान्ति गुरुङ छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width