आँखा रोग उपचार प्रभावकारी: प्रदेश प्रमुख

आदर्श समाज सम्वाददाता
फागुन १८, २०७८
eye

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आँखा रोगको उपचार नेपालमा प्रभावकारी बन्दै गएको बताएका छन् ।
हिमालय आँखा अस्पतालको २९ औं वार्षिकोत्सव समारोहको मंगलबार उद्घाटन गर्दै उनले सीमित स्रोतसाधनबीच पनि आँखामा लाग्ने जस्तोसुकै रोगको उपचार सम्भव हुँदै गएको बताएका हुन् ।
नेपाल सरकार तथा दातृनिकायको प्रयासबाट स्थापित हिमालय अस्पतालबाट आँखा उपचारमा पहुँच पुगेको बताए । उनले भने, ‘आँखाको सुरक्षासँगै उपचारमा संलग्न चिकित्सकलगायत सम्पूर्ण शक्ति जिम्मेवार भएर लाग्नु पर्दछ । यतिखेर मुलुकको सबै क्षेत्रमा आँखाको सर्वसुलभ उपचार सेवा पुगेको छ ।’ नेपालको आँखाको उपचार पद्दति गुणस्तरीय भएकोले तराई क्षेत्रमा सञ्चालनमा आएका अस्पतालमा भारतका नागरिक समेत उपचारमा आउने गरेको बताए ।
पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले आँखा अस्पतालले आवश्यकताअनुसार अस्पतालमा विभिन्न विषय थप्दै जाने बताए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इलिया श्रेष्ठले अस्पतालले १ वर्षमा १ लाख १७ हजार जनाको परीक्षण गर्नुका साथै ५ हजार ५ सय ४२ जनाको शल्यक्रिया गरेको जानकारी दिइन् ।
उनका अनुसार अस्पतालले सो अवधि गण्डकी र कर्णालीका विभिन्न स्थानमा २६ आँखा शिविर गरी करिब ११ हजार जनाको आँखा परीक्षणसहित १ हजार ३ सय ७६ जनाको आँखाको शल्यक्रिया गरेको बताइन् ।
साविकको गण्डकी, धौलागिरी र कर्णाली अञ्चलमा आँखा उपचारमा सेवा पुर्‍याउने लक्ष्यसाथ ३ दशकअघि आइकेयर फाउन्डेसन नेदरल्याण्डको सहयोगमा अस्पताल सञ्चालन आएको हो ।
नेत्र ज्योति संघ कास्की अध्यक्ष कृष्णबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष प्राडा दिलबहादुर क्षत्री, अस्पतालका अनुसन्धान अधिकृत पवन बराल, कर्मचारी युनियनका अध्यक्ष प्रेमकुमार नकर्मी लगायतले आँखा अस्पतालको योगदानबारे बोलेका थिए । कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग