पर्यटन प्रवद्र्धनका लागि ‘जाउँ है पोखरा’

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७८
hote

पोखरा । आन्तरिक पर्यटन पुनर्उत्थानको प्रमुख उद्देश्यसहित जाउँ है पोखरा अभियान–२०७८ सुरु भएको छ । कोभिड १९ को प्रभाव मत्थर हुँदै गर्दा पश्चिमाञ्चल होटल संघ पोखराले सोमबार बुटवलमा अभियान केन्द्रित छलफल तथा पत्रकार सम्मेलन आयोजना गरेको थियो ।
अभियानका संयोजक एवं संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले आन्तरिक पर्यटनका माध्यमबाट पर्यटन पुनर्जागृत गर्ने अभियानको मुख्य उद्देश्य रहेको जानकारी दिए । आगामी चैत २९ देखि बैशाख १ गतेसम्म पोखरामा संघले आयोजना गर्ने फेवा नव वर्ष महोत्सवमा सहभागिताका लागि संयोजक तुलाचनले रुपन्देहीवासीलाई आमन्त्रण गरे ।
संघका अध्यक्ष लक्ष्मण सुवेदीले आन्तरिक पर्यटन नै दिगो पर्यटनको मुख्य आधार भएको बताए । त्यही भएर पनि संघले आन्तरिक पर्यटनमा जोड दिंदै जाउँ है पोखरा अभियान संचालन गरेको अध्यक्ष सुवेदीले स्पष्ट पारे ।
लुम्बिनी प्रदेशका पर्यटन सचिव महेशचन्द्र नेउपानेले पर्यटन व्यवसाय आवतजावतमा आधारित हुने स्मरण गराउँदै व्यवसायीसँग छलफल गरेर नै मन्त्रालय अघि बढ्ने बताए । स्थानीय खानाको प्रवद्र्धनमा समेत ब्यबसायीले ध्यान दिनु पर्ने उनको सुझाव थियो ।

कोरोनाबाट थला परेको पोखराको पर्यटन उकास्न होटल संघले यो अभियान ल्याएको हो

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ बुटवलका संस्थापक अध्यक्ष माधव नेपालले पर्यटन क्षेत्रलाई प्रदान गरिंदै आएको पुनर्कर्जाको व्यवस्थालाई ५ वर्षसम्म निरन्तरता दिनुपर्ने माग गरे ।
नाट्टा लुम्बिनीका अध्यक्ष सागर अधिकारीले लुम्बिनी र पोखरालाई पर्यटकीय हिसाबले जोड्नु पर्ने बताए । बुटवल र पोखराबीच स्तरीय पर्यटक बस सेवा विस्तार गर्न जरुरी रहेको उनको सुझाव थियो । नेपाल पत्रकार महासंघ रुपन्देही सभापति रामराज पोखरेलले पोखराले आफ्न्नो पर्यटनसम्बन्धी अनुभव अन्य सम्भावना बोकेका सहरलाई बाँड्नुपर्ने बताए ।
होटल संघ पोखराका सल्लाहकार हरि शर्मा गैह्रेले लुम्बिनी र पोखराबीच संस्कृति र खानाको सम्बन्ध पनि स्थापित गर्न सकिने बताए । पोखरा, बुटवल, चितवन र काठमाडौंलाई गोल्डेन ट्रयांगल मानेर प्रवद्र्धनका कार्यक्रम अगाडि बढाउनुपर्ने उनको सुझाव थियो ।
कार्यक्रमका सहभागीले पोखरासम्म स्तरीय बस सेवा र सडक सुधारमा जोड दिए । पोखरा र भैरहवाबीच सिधा हवाईसेवाको शुल्क महँगो भएको गुनासो पनि सहभागीको थियो । पोखराका पर्यटकीय प्याकेज र वरपरका गन्तव्यबारे समेत सो अवसरमा जिज्ञासा राखिएको थियो । फागुन ८ देखि ११ सम्म चल्ने अभियानअन्तर्गत बुटवल, हेटौंडा, वीरगंज र चितवन समेटिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width