पोखरेली पर्यटन व्यवसायी दुर्लुङमा

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७८
durlung

पोखरा । पर्वतको कुस्मा नगरपालिका वडा नं ३ स्थित धार्मिक एवं ऐतिहासिक स्थल दुर्लुङको पर्यटकीय सम्भावना उजागर गर्नुपर्नेमा जोड दिइएको छ ।
पर्यटन क्षेत्रमा नयाँ गन्तव्यको पहिचान, प्रचारप्रसार र प्रवद्र्धनको लक्ष्यका साथ नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट्स (नाट्टा ), गण्डकी प्रदेशद्वारा आइतबारदेखि सुरु गरिएको पर्वत र वागलुङ जिल्ल्का पर्यटकीय गन्तव्य अवलोकन भ्रमण, अन्तरक्रिया एवं तालिमका अवसरमा दुर्लुङमा आयोजित कार्यक्रमका सहभागीले सम्भावना भएर पनि प्रचारप्रसार अभावमा पछि परेका दुर्लुङका पर्यटकीय सम्भावना उजागर गर्नुपर्ने बताए ।
गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले इतिहासको साक्षी दुर्लुङको ऐतिहासिक एवं धार्मिक महत्वलाई पर्यटन बजारमा पु¥याउनुपर्ने बताए । प्राकृतिक दृश्यावलेकनका लागि पनि यहाँको उत्तिकै महत्व रहेको उल्लेख गर्दै उनले आसपासका गाउँका उत्पादनलाई पनि यहाँको पर्यटनसँग जोड्न सकिने बताए ।
नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोना प्रभावित पर्यटनलाई आन्तरिक पर्यटनको विकासका माध्यमबाट अघि बढाउन सकिने बताउँदै गण्डकी प्रदेशमा लुकेर रहेका पर्यटकीय गन्तव्यको प्रवद्र्धनलाई संस्थाका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । दुर्लुङकोटको पर्यटकीय सम्भावनालाई उजागर गर्नका लागि गन्तव्य पहिचान कार्यक्रम मार्फत आफूहरू आएको उल्लेख गर्दै उनले सबैको साथ र सहयोगमा यस्ता गन्तव्यको प्रवद्र्धन र विकास गर्न सकिने बताए ।
दुर्लुङकोट भूमे मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले बाइसे चौबीसे राजाका पालादेखि नै यस क्षेत्रको महत्वपूर्ण शक्तिपीठका रुपमा रहेको र मनले चिताएको पुग्ने धार्मिक स्थलका रुपमा रहे पनि पर्यटकीय रुपमा अझै ओझेलमा परेको बताए । कुष्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले स्थानीय तहका तर्फबाट यस स्थलको विकासका लागि निरन्तर साथ र सहयोग गर्दै आइएको बताए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले सम्भावना बोकेका गन्तव्यको प्रवद्र्धनका लागि पर्यटन सम्बद्ध संघ संस्थासँग सहकार्य गर्दै बोर्ड अघि बढिरहेको बताए ।
वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले दुर्लुङकोटका पर्यटकीय सम्भावनालाई पर्यटन बजारसँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै स्थानीय जागरुकता आवश्यक हुने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले कोरोनाले प्रभावित बनाएको पर्यटनलाई पुर्नरुत्थान गर्नु जरुरी रहेको बताउँदै परिषद्ले पर्यटनसम्बद्ध सबै संस्थालाई साथमा लिएर हिड्ने विश्वास व्यक्त गरे । कार्यक्रममा दुर्लुङकोट भूमे मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष मनकुमारी गिरी, सचिव बालकृष्ण शर्मा, कुश्मा नगरपालिका ३ का कावा अध्यक्ष यमनाथ शर्मा, स्थानीय समाजसेवी खेमबहादुर गुरुङ, नाट्टा गण्डकी प्रदेशका महासचिव कमला गिरी, कार्यक्र्रम संयोजक एवं नाट्टा गण्डकी प्रदेशका उपाध्यक्ष किशोर दाहाल लगायतले दुर्लुङकोटको धार्मिक एवं सांस्कृति महत्वबारे प्रष्ट पारे ।
कार्यक्रम संयोजक किशोर दाहालका अनुसार कार्यक्रमका क्रममा पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि, सञ्चारकर्मीसहितको टोलीले आइतबार कुश्मास्थित शताब्दी घरको पनि अवलोकन गरेको छ ।
टोलीले बागलुङ कालिका भगवतीको दर्शनसँगै कुश्मा आसपासका पर्यटकीय स्थलको प्रवद्र्धनात्मक भ्रमण एवं स्थानीय पर्यटन व्यवसायीलाई डिजिटल मार्केटिङ तालिम दिएर फर्कने कार्यक्रम छ ।

Related News

सम्बन्धित समाचार

hero news full width