यो ४ वर्षमा २ भूमिकामा रहनु भयो । लामो समय प्रतिपक्षी भएर बसेपछि अहिले मुख्यमन्त्री भएर बस्नुभएको छ । प्रदेश सरकारले ४ वर्ष पार गरेर पाँचौं वर्षमा लाग्दैछ । यो बीचमा तपाईंको अनुभव कस्तो रह्यो ?
यो ४ वर्षमा म करिब ३ वर्षजति प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा रहें र अहिले ८ महिना मुख्यमन्त्री भएर काम गरेको छु । प्रतिपक्षमा हुँदा मेरो भूमिका जनताको आवश्यकता र चाहना साथै विकास निर्माणका सम्बन्धमा तत्कालीन सरकारलाई सचेत र सक्रिय बनाउनतर्फ धेरैभन्दा धेरै प्रयत्न गराउनमा रह्यो । मेरो सबैभन्दा बढी भूमिका सदनमा हुन्थ्यो । त्यहाँ एउटा सकारको कमी कमजारी औल्याउँदै सचेत गराउने र अर्को नीति निर्माण गर्ने जिम्मेवारी थियो । हामीलाई के राम्रोसँग थाहा थियो भने जबसम्म प्रदेशको नियम कानुन बनाउन सकिंदैन प्रदेश अघि बढ्दैन भन्ने थियो । जसले गर्दा कानुन निर्माणमा पनि हामीले सहयोगीको भूमिका निर्वाह गर्यौं । अर्कोतर्फ जिम्मेवार प्रतिपक्षको भूमिका पनि थियो । पछि राजनीतिक घटनाक्रम अनुसार ममाथि गठबन्धनको सरकार नेतृत्व गर्ने जिम्मेवारी आएपछि मेरो अनुभव फरक हुनु स्वाभाविक नै हो । हिजो हामी बाहिर हुँदा बजेटका आन्तरिक सबै कुरा थाहा थिएन । अहिले हाम्रो पोजिसन के रहेछ भन्ने छर्लंग भयो । हामीले अहिलेको बजेट ल्याउँदै गर्दा सानो आकारको ल्याउनु पर्ने परिस्थिति सिर्जना भयो । यसका लागि पहिलेको सरकारले गरेका योजनालाई लिएर जाँदा नयाँ योजना ल्याउन हामीसँग धेरै ठाउँ रहेन । हाम्रो पालामा भौतिक पूर्वाधारतर्फ डेढगाउँ झ्यालबास बाहेक अरु पुरानै योजना निरन्तरता भन्दा हुन्छ । पहिलेको सरकारले सुरु गरेका कामहरु उज्यालो प्रदेश, एक घर एक धारा, राष्ट्रिय गौरवका योजना यी सबै कुरा हामीले दायित्व बहन गर्दै जानुपर्ने भएकाले जिम्मेवारी फरक भयो । हिजो जनताको आवाज लिएर आउँदा सरकारले पूरा गरेन भनेर हामीले भन्थ्यौं भने अहिले मैले पनि त्यो पूरा गर्न सकेको छैन । किनभने अहिलेको सरकारको पनि आफ्नो सीमितता छ । त्यही सिमितता भित्र रहेर हामीले काम गर्ने हो । त्यसकारण सरकारमा आएपछिको भूमिका अलि फरक हुने रहेछ भन्ने कुरा मलाई अनुभव भइरहेको छ । अहिले पनि मैले चाहन्छु आए जतिका योजना पूरा गरौैं, तर हुने रहेनछ । आखिर त्यही ३० अर्बभित्र खेल्ने कुरा रहेछ । यसले गर्दा सरकार चलाउँदा के कस्ता अप्ठेराहरु हुँदा रहेछन् भन्ने कुरा स्वाभावैले यहाँ आएपछि थाहा हुने कुरा भयो । हिजो जिरो अवस्थाबाट सुरु भएका क्रियाकलाप हामी प्रतिपक्षमा रहँदा रामैै्र छ भनेर भनेको अवस्था हो भने मैले नेतृत्व गरेपछिको काम जनताले मूल्यांकन गर्ने हो । हामी आएपछि गरेका जनतासँग उनीहरुको संवेदनशीलतासँग सम्बन्धित निशुल्क रगतको निर्णयसँगै कोभिड प्रभावित, सडक मानव व्यवस्थित गर्ने काम सुरु गरेका छौं । यसले जनतामा राम्रै सन्देश गएको छ भन्ने मलाई लाग्दछ ।
तपार्इं पहिला प्रतिपक्षी दलको नेता हुँदा सरकारलाई घच्घचाउने र काम गरेन भने आवाज उठाउनुहुन्थ्यो । अहिले प्रमुख प्रतिपक्षी दलको भूमिकामा नेकपा एमाले छ । उहाँहरुको भूमिका कस्तो पाइरहनुभएको छ ?
सुरुमा म आउनासाथ नै एउटा चुनौती थियो, बजेट ल्याउने । प्रमुख प्रतिपक्षी दलका नेता पूर्व मुख्यमन्त्रीजीलाई म आफै गएर बजेटको विषयमा सहयोग गर्न अनुरोध गरें । किनभने हामीसँग एकदिन मात्र समय थियो । त्यो दिन पछि सार्न पाइने थिएन । त्यो कुरामा अवरोध गरेको भए असहज हुन्थ्यो होला । तर एक प्रकारको सहमति अनुसार प्रदेशका लागि बजेट आवश्यक छ भनेर उहाँले सहयोग गर्नुभएको हो । त्यसपछि हामी अघि बढ्दै जाँदा अवरोध भए । त्यो प्रक्रियाको कुरा हो त्यो हिजो पनि भएको थियो अहिले पनि भइरहन्छ । त्यसपछि सदन स्थगित भयो, अब हिउँदे अथवा विधेयक अधिवेशन बोलाउन बाँकी छ । योबीचमा २ पटक हामीलाई उहाँहरुले ध्यानाकर्षण गराउनुभएको छ । अब सदन सुरु भएपछि जनताका कुरा राख्ने अधिकार त छँदैछ । मलाई के विश्वास छ, भने विगतको हाम्रो परम्पराभन्दा दाँया बाँया उहाँहरु जानुहुन्न ।
तपाईं आफू मुख्यमन्त्री बनेकोमा भाग्यमानी ठान्नुहुन्छ की देशले दुर्भाग्य व्यहो¥यो भन्ने बुझ्नुहुन्छ ?
हामी ५ वर्षका लागि प्रमुख प्रतिपक्ष दल भएर बस्न केन्द्रदेखि तलसम्म तयार भइसकेका थियौं । तर राजनीतिक घटनाक्रमले के भयो, नेतृत्व लिनुपर्ने अवस्था हामी माथि आयो । त्यो नभएर ५ वर्षसम्म अघिल्लै टिकेको भए राम्रो हुन्थ्यो । स्थायित्व हुन्थ्यो । अहिलेसम्म नेपालमा कुनै पनि सरकारले स्थायी सरकार चलाउन सकेन भन्ने सन्दर्भमा लगभग २ तिहाइमा सरकार थियो । त्यसका लागि हाम्रो शुभकामना थियो । तर उहाँहरुको व्यवस्थापन नमिलेपछि हामीलाई मौकासँगै बाध्यता आयो । प्रमुख प्रतिपक्षी दल त भवितव्य केही भयो भने मैले सरकार चलाउँछु भनेर बसेको हुन्छ नि । यस अर्थमा हामीमाथि जिम्मेवारी आयो । यसमा व्याक्तिगत रुपमा के भयो भनेर प्रश्न गर्न जरुरी नै छैन । १५ सिट भएको पार्टीको नेता मुख्यमन्त्री बन्दा खुसी हुनु त स्वाभाविक नै हो । तर व्यक्तिगत खुसी हुनु र नहुनुभन्दा पनि हामीले जिम्मेवारी बहन गरेका छौं । बाँकी समयलाई पनि जिम्मेवारी ढंगबाट अगाडि लैजानु मेरो जिम्मेवारी हो ।
४ दल र १ स्वतन्त्र सांसदको तपाईंलाई समर्थन छ । यसरी धेरै पार्टी गठबन्धन भएर सरकार बनाउँदा किचलो भएको सुनिन्छ । यहाँलाई कस्तो छ ।
हाम्रोमा त्यस्तो केही छैन । मलाई पनि त्यस्तो लाग्थ्यो । तर सुरुमा मन्त्रालय बाँडफाँडमा त समस्या भयो नै । एउटै पार्टीभित्र नै बाँडफाँडमा समस्या हुन्छ भने गठबन्धनमा नमिल्नु स्वाभाविक नै हो । तर हामीले जुन व्यवस्थापन ग¥यौं अहिलेसम्म राम्रै चल्दै आएको छ । म आफै नयाँ छु, धेरैजसो मन्त्रीज्यूहरु नयाँ हुनुहुन्छ । जानेर नजानेर केही समस्या भएका छन् भने मुख्यमन्त्रीको हैसियतले त्यसलाई सहज बनाएर लैजाने दायित्व मेरो हो । आजसम्म ठिकै छ र भोलिका दिनमा पनि ठिक नै हुन्छ । सबै बुझेका र जिम्मेवार व्यक्तिहरु भएकाले केही हुन्छ कि भनेर शंका मान्नुपर्दैन अहिलेसम्म यहाँको गठबन्धन राम्रोसँग अघि बढेको छ ।
धेरै मन्त्रालयका मन्त्रीज्यूहरुले अर्थ मन्त्रालयबाट तारताम्य मिलेन भन्ने उहाँहरुको गुनासो छ । अभिभावकका हिसाबमा ती समस्या हल गर्न तपाईको भूमिका कस्तो हुन्छ ?
केन्द्रदेखि यहाँसम्म जहाँ पनि अर्थ मन्त्रालय खुसी भएको पाइँदैन । जहाँ पनि ढुकुटी सम्हाल्ने मान्छेसँग त कोही पनि खुसी हुँदैनन् । यो समान्य कुरा नै भयो । बीचमा तपाईले भनेजस्तै फाइलहरु अगाडि बढेनन् भन्ने कुराहरु आएका थिए । त्यो सुनिसकेपछि अर्थ सचिव र अर्थ मन्त्रीज्यूसँग कुरा गरिसकेको छु त्यसकारण अहिले त्यो गुनासो छ जस्तो मलाई लाग्दैन ।
अहिले संरचनागत र राजनीतिक रुपमा संघीय संरचना छ । तर मानसिक रुपमा संघीयता आएन । तपाईंहरु योजनाको पोको बोकेर काठमाडौंतिर धाइरहेको अवस्था छ । मानसिक रुपमा संघीय संरचना किन बन्न सकेन ?
संघीयताको मोडल तयार गर्ने बित्तिकै अधिकारहरु बाँडफाँड गरिदिनुपर्ने थियो । तर अहिले भएको संवैधानिक र कानुनी व्यवस्था त मान्नैपर्यो । त्यो भनेको के हो भने बजेट बिनियोजन गर्दा अहिले पनि ७० प्रतिशत केन्द्र सरकारले चलाउने बाँकी ३० हामीले चलाउने परम्परा छ । यसैकारण पनि हामीलाई बजेटको अभाव छ । हामीसँग अरु स्रोत त छैन । त्यहीकारण हाम्रो प्रदेशको आयस्रोतको पाटो भनेको पर्यटन, व्यवसाय, उद्योगधन्दा थिए, ती पनि कोरोनाले थलिएको छ । यो अवस्थामा केन्द्रसँग आफ्ना कुरा राख्नु स्वाभाविक नै हो । किनभने सशर्तका योजना दिने सिस्टम नै हटाउनुपर्ने थियो । अहिले पनि केन्द्रले अनुदान दिंदा विभिन्न शीर्षकमा दिने प्रचलन छ यो हुुनुहुन्न । बजेट कति दिने हो दिएर कुन विकास निर्माण केन्द्रले हेर्ने कुन प्रदेशले हेर्ने छुट्टिन जरुरी छ । त्यस्तै प्रशासनिक कुरामा पनि अहिले सबै सचिवज्यूहरु संघको हुनुहुन्छ । त्यो त हाम्रो हुनुपर्यो नि । यति हुँदाहुँदै पनि प्रदेश सरकारले जहाँ पैसा छ त्यहा गएर त भन्नुप¥यो । एउटा प्रदेश प्रमुखले केन्द्रीय सरकारको प्रमुख समक्ष गएर प्रदेशको अवस्था, आवश्यकता जानकारी गराउनु मेरो कर्तव्यभित्रै पर्छ । यदि त्यो नगरेको भए दुम्कीबास–त्रिवेणी सडक खण्डको गाँठो फुक्ने थिएन । अघिल्लो सरकारको पालादेखि नै अड्किएर रहेको फाइल मेरै उपस्थितिमा सचिवस्तरको निर्णय भएर कार्यान्वयमा गएको छ । म नगएको भए त्यो काम नै हुने थिएन । यदि वातावरणीय मूल्यांकन गर्ने र वन फडानी गर्ने अधिकार प्रदेशसँगै भएको भए त्यो सडक खोलिसक्थ्यौैं । यो तितो यथार्थ स्वीकार्दै हाम्रो आउजाउ भेटघाटलाई अन्यथा लिनुपर्ने अवस्था छैन ।
– विगतको सरकारले थालेका कार्यक्रमलाई निरन्तरता दिएका छौं ।
– ५ वर्षसम्म अघिल्लै टिकेको भए राम्रो हुन्थ्यो । स्थायित्व हुन्थ्यो ।
– १५ सिट भएको पार्टीको नेता मुख्यमन्त्री बन्दा खुसी हुनु त स्वाभाविक नै हो । तर व्यक्तिगत खुसी हुनु र नहुनुभन्दा पनि हामीले जिम्मेवारी बहन गरेका छौं ।
– संघले बजेट कति दिने हो दिएर कुन विकास निर्माण केन्द्रले हेर्ने कुन प्रदेशले हेर्ने, त्यो छुट्टिन जरुरी छ ।
यसरी अझै पनि भनसुनका आधारमा योजना ल्याउनुपर्ने, छनोट गर्नुपर्ने हो भने त प्रदेश सरकार पनि संघ सरकारको प्रशासनिक इकाइजस्तो भएन र ?
त्यो त हेर्ने दृष्टिकोणमा फरक पर्छ । इकाइ जस्तो भयो भन्ने कुरा कुनै हालतमा होइन । हामी प्रदेशलाई सक्षम, सबल र संघीयता देखिने बनाउने गरी लागेका छौैं । अहिले संघीयताको रुप प्रदेशले छर्लंग बनाउँछ । यसको उपयोगिताको कुरा आआफ्नो पक्षबाट धारणा आउनु स्वाभाविक कुरा हो । अहिले सबै नयाँ चिज छ । यो चिज सबल बनाएर लैजाने हाम्रो दायित्व हो यो कुरा केन्द्रले बहन गर्नुपर्छ । यद्यपि अहिलेको संघ सरकार आएपछि पनि यसतर्फ सोचिएको छैन । आउनासाथ विभिन्न झमेलामा फसेको छ । अधिकार दिने लिनेतर्फ त समय नै छैन उहाँहरुलाई । तर सैद्धान्तिक कुरा के हो भने केन्द्रीय सरकारले संघीयता कार्यान्वयनमा भएका कमी कमजोरी सल्टाएरै लानुपर्छ । हामी पनि सातै प्रदेशका मुख्यमन्त्रीहरु बसेर हाम्रा आवाज उठाउनेबारे हामी सोच्दैछौं ।
संघबाट बजेट ल्याउने अनि यहाँबाट तल पठाउने काम भएको छ । यो त प्रदेश सरकारले बिचौलियाको काम गरेको जस्तो भएन र यो अवस्था कति वर्षसम्म चल्छ ?
एकात्मक शासनबाट हजारौं वर्षदेखि चलिआएको यो देशको परिस्थितिलाई संघीयतामा लगेको ५ वर्ष भएको छैन । अब कति वर्षसम्म चल्ने भन्ने त प्रश्न नै भएन नि । यो पनि कोरोना महामारी नआएको भए आन्तरिक रुपमा राजस्व बढाउँदै जान्थ्यौैं । त्यो मौका नै हामीलाई मिलेको छैन । त्यसकारण समयले साथ दियो भने प्रदेशले कम्तीमा २ वटा बजेट राम्रोसँग ल्याउन पायो भने हामी यहाँका उद्योगी, व्यावसायी, व्यापारी सँगै हामीले लगानी सम्मेलनका कुरा गरेका छौं उनीहरुलाई ल्याएर हाम्रो अर्थतन्त्र मजबुत बनाएर जान सक्ने अवस्था रहन्छ । त्यो भएकै छैन, हामीलाई कहिले केले, कहिले केले अवरोध गरिरहेकै छ । यो अवस्थामा जेजति भए त्यो सन्तोषजनक हो या होइन भनेर पो हेर्नुपर्ने अवस्था हो । संघीयता भनेको लामो अभ्यासपछि सफल हुने कुरा हो । त्यसैले यो ४ वर्षलाई आधार बनाएर यो भएन त्यो भएन भन्न भन्दा पनि यो प्रक्रिया हो, यो केही झन्झटिलो र खर्चिलो पनि छ भने व्यवस्थापन गर्दै जाने हो ।
यो ४ वर्षमा संघीयता संस्थागत गर्न देखिएका चुनौती तथा अड्चन के–के हुन् ?
सबैभन्दा पहिलो हाम्रोमा बजेटरी सिस्टम छैन । अहिले ७०/३० को उल्टो अवस्था छ । ७ प्रदेश विकसित हुनु भनेको नेपाल नै विकसित हुनु हो नि । तर बजेट सिस्टमले हामीलाई सपोर्ट गर्नुपर्यो । अर्को के हो भने कानुनी उल्झन । जस्तो, प्रहरी ऐन बनाएका छौं कार्यान्वयन गर्न सकेका छैनौं । निजामती सेवाको उही हालत छ । पालिकामा भएका कार्यकारी अधिकृत केन्द्रले सारिदिन्छ । यद्यपि उहाँहरुले सहयोग गर्नुभएको यो अलग कुरा हो । यो सिस्टम हटाउनुपर्ने हुन्छ । वन ऐन, स्वास्थ्य त्यस्तै छ । अहिलेको सरकार विधेयक तयार गरेको छ । त्यो विधेयक भएन भने संघीयता मजबुत हुँदैन भने अध्यादेशबाटै पनि त्यो पारित गर्ने तयारी छ । त्यसमा प्रदेशको प्रमुख सचिवबाहेक सबै सचिवहरु प्रदेशले चलाउन पाउने विधेयक पारित हँुदैछ भन्ने सुनेको छु । यो गर्नुपर्छ र यो सुरुआत हो । हामी पनि विस्तारै आफ्नै खुट्टामा उभिनसक्नु पर्छ । त्यो अहिले नै हुनुपर्ने हो तर भएको छैन । त्यसका लागि हामीसँग यातायात, रजिस्ट्रेसन इत्यादिबाट आउने रकम मात्र त हो । ढुंगा गिट्टी बालुवा त्यति कन्ट्रोल हुन नसकेको अवस्था छ । तर आन्तरिक स्रोत परिचालन गर्ने र संघीयता मजबुत बनाउने तर्फ जानुपर्छ ।
प्रदेशमा मन्त्रालय बढाउँदै जाँदा संघीयतामाथि प्रश्न गर्नेहरुलाई बल पुगेजस्तो देखिन्छ ? प्रशासनिक खर्च घटाएर पुँजीगत खर्चलाई बृद्धि गर्नका लागि प्रदेश सरकार चुकेको हो ?
यहाँ त्यस्तो केही छैन । सिंगल पार्टीको सरकार हुनु र गठबन्धनको सरकार हुनुमा फरक पर्छ । यही प्रदेशमा एउटै पार्टी हुँदा त चलाउन गाह्रो भएर मन्त्रालय फुटाउनु भएको हो नि । म आएपछि त्यही फुटाएर राखेको मन्त्रालयका मन्त्री थपिनुभएको त हो । म आएपछि आन्तरिक मामिला थपिएको मात्र त हो । जहाँ मितव्यायी र सुशासन गर्ने कुराहरुमा त कुनै दुविधा नै छैन । यसमा कोसिस गर्नुपर्छ । मन्त्री भएपछि गाडी त चढ्नुप¥यो नि त्यही कुरामा मन्त्री भएको छ नयाँ गाडी चढ्यो भनेर व्याख्या गरिदिने हो भने एउटा अर्थ लाग्छ । तर सरकार एक्टिभ बनाउन साधन पनि महत्वपूर्ण हो । त्यसकारण केही नयाँ गाडी किनिए, म स्वीकार्छु त्यो कुरा । हामीले गठबन्धनका पार्टीको नेताहरुलाई सुविधा दिएका छौं । त्यो हाम्रो बाध्यता हो । यसैका लागि एउटै पार्टीको सरकार बन्नुपर्छ भनेको हो । तर पुँजीगत खर्चलाई असर पार्नेगरी त्यस्तो केही भएको छन् । हामी यसमा सचेत छौं । हामी गठबन्धनको सरकार हौैं, हाम्रो गतिविधिले जनताले हेर्ने दृष्टिकोण फरक पर्छ भनेर कोड अफ कन्डक्ट भित्र रहेर काम गर्नुस भनेर सबैलाई मन्त्रालयलाई हामीले निर्देशन गरेका छौं ।
अब कुनै समस्या नभए १ वर्षपछि प्रदेशको चुनाव पनि हुन्छ, अन्तिममा केही गरौं न त भन्ने कुनै योजना सोच्नुभएको छ कि ?
अब आउने योजना यही भन्ने भन्दा पनि अब हाम्रो के कोसिस हुन्छ भने २ महिनाभित्र त बजेट नै तयार गर्नुपर्छ । यसमा विगतको कमी–कमजोरी हेर्ने कुरा र यो प्रदेशको विकास निर्माणका सन्दर्भमा भोलि आउने सरकारलाई पनि मार्ग निर्देशन र आधार तय गर्न आगामी बजेटमा विज्ञहरु राखेर राष्ट्रिय र प्रदेश गौरवका आयोजनासँगै अन्य कुराहरु समेट्छौं ।
Related News
सम्बन्धित समाचार
तत्काललाई टर्यो पोखरा महानगरको लफडा
देशभरका कानून व्यवसायी पोखरामा
देशभरका कान्छा न्यायाधीशले कसरी पढे ? सुनाए अनुभव
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१