म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर २ लमसुङस्थित बाढीले बगाएको दरखोला दोस्रो लघुजलविद्युत परियोजना पुनर्निर्माण भएको छ । २० भदौमा दरखोलामा आएको बाढीले ४३ किलोवाट क्षमताकोे दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युत गृह,बाँध र कुलो बगाएपछि गाउँ अन्धकार बनेको थियो । सो परियोजना पुनर्निर्माण भएपछि करिब साढे ५ महिना पछि विद्युत सेवा सुचारु भएको छ ।
गाउँपालिकाबाट विनियोजित १२ लाख रुपैयाँ र गण्डकी प्रदेश सभा सदस्य नरदेवी पुनको सिफारिसमा स्थानीय पूर्वाधार विकास कार्यक्रम मार्फ १० लाख रुपैयाँ गरी २२ लाख रुपैयाँ लगानीमा परियोजना पुनर्निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर पाइजाले जानकारी दिए । गत पुस महिनाबाट बाढीले बगाएको परियोजना मर्मतको काम थालिएकोमा आइतबार परीक्षण उत्पादनको काम सम्पन्न भएको पाइजाले बताए ।
परियोजनाबाट गाउँका ३ सय ५५ घरधुरीमा विद्युत सेवा पुगेको छ । बत्ती बलेपछि टुकीको भरमा विद्यार्थीहरुले पढ्नुपर्ने बाध्यता हटेको स्थानीयवासी भक्तबहादुर सिंकिजा पुन मगरले बताए । मोबाइल चार्ज, टेलिभिजन हेर्न र बालबालिकाको अध्ययनमा समेत सहजता मिलेको छ भने विद्युत सेवा सुचारु भएपछि गाउँमा रहेका कुटानी पिसानी गर्ने मिल, फर्निचर उद्योग र मासुपसल लगायतका घरेलु उद्योगहरुलाई राहत मिल्ने भएको छ ।
आइतबार परियोजनाको निरीक्षणमा पुगेकी गाउँपालिका अध्यक्ष थमसरा पुनले परीक्षण उत्पादन सफल भएको र स्थानीय उपभोक्ताहरुको बैठक बसेर नियमित रुपमा विद्युत सेवा सुचारु गर्ने तयारी भएको जानकारी दिइन् । ‘दुर्गम बस्ती महिनौंदेखि अन्धकारमा रहँदा निकै नै सास्ती भएको थियो, पालिकाले यहाँको समस्यालाई गम्भीरताका साथ लिएर समाधानमा जुटेपछि स्थानीयबासीलाई अन्धकारमै बसिरहनुपर्ने बाध्यता हटेको छ’, अध्यक्ष पुनले भनिन् ।
बाढीले बगाएर क्षतिग्रस्त बनेको परियोजनाको टर्वाइन, एलसी बोर्ड, रनर, अर्थिङ प्लेट लगायतका मेसिन उपकरणहरु नयाँ फेरिएको छ भने मुहानमा २५ मिटर कुलो निर्माण र मर्मतको काम गरिएको छ । त्यसैगरी विद्युतगृह भवन नयाँ निर्माण गरिएको छ । खोलाको किनारदेखि केहीमाथि सुरक्षित ठाउँमा विद्युतगृह निर्माण भएको कारण परियोजनाको उत्पादनसमेत घटेर ३५ किलोवाटमा सीमित भएको समितिले जनाएको छ ।
२०७६ मा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ८५ लाख ९७ हजार, जनश्रमदान ३३ लाख गाउँपालिकाको ५० लाख र स्थानीयवासीबाट चन्दा सहयोगबाट प्राप्त ५ लाख ३ हजार लागतमा परियोजना निर्माण गरिएको थियो । गाउँपालिका अध्यक्ष पुन, प्राविधिक टोली, वडा अध्यक्ष गमबहादुर विक लगायत जनप्रतिनिधि ,वडा सचिव गिरिराज शर्मा, युवा क्लब र स्थानीयवासीको उपस्थितिमा विद्युत परीक्षण गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
hero news full width
मुख्य समाचार
महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा
माघ ५, २०८१मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट
माघ ५, २०८१अध्यादेशको विरोधमा कास्कीका ३५ शिक्षकले दिए सामूहिक राजीनामा
माघ ५, २०८१पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने
माघ ४, २०८१पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
माघ ४, २०८१