सबै पालिकामा प्राविधिक शिक्षालय: शिक्षामन्त्री

अन्नपूर्ण बहुप्राविधिकको भवन शिलान्यास

श्रीभद्र पौडेल
माघ २५, २०७८
annapurna gaupalika progrem photo

हेमजा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकार सबै पालिकामा प्राविधिक शिक्षालय खोल्ने ढंगले अघि बढेको बताएका छन् । अन्नपूर्ण गाउँपालिकाको ढिकुरपोखरीस्थित अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको मंगलबार भवन शिलान्यास गर्दै उनले सो कुरा बताएका हुन् ।
मन्त्री पौडेले ती शिक्षालयमा फरक–फरक प्रकृतिका विषय समेटिने पनि स्पष्ट पारे । उनले भने, ‘सर्वप्रथम सबै पालिकामा शिक्षालय खोलिन्छ, त्यसपछि त्यहाँ उत्पादित सीपलाई श्रम, उत्पादन हुँदै रोजगारीसँग जोड्ने पनि सरकारको योजना छ ।’
मन्त्री पौडेलले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई अध्ययनका अलावा श्रम साथै उत्पादनसँग जोड्नका लागि हाल कार्यविधि निर्माण भई कार्यान्वयनको प्रक्रियामा अगाडि बढिसकेको पनि जानकारी दिए । त्यसका लागि केही समयलगत्तै विद्यालय छनोट गरिने उनले बताए ।
मन्त्री पौडेलले भवन निर्माण स्थलसम्म पुग्ने सडकको स्तरोन्नति लागि संघ सरकारले रकम उपलब्ध गराउने प्रतिबद्घतासमेत जनाए । त्यसका साथै उक्त शिक्षालयमा हाल पठनपाठन भइरहेको बाली विज्ञानका अतिरिक्त अन्य विषयहरु पनि क्रमशः समेट्दै जाने उनको भनाइ छ । शिक्षालय स्थापनामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको योगदाज्ञनको पनि मन्त्री पौडेलले स्मरण गरे ।
कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले उक्त शिक्षालयलाई मिनी नेपालको संज्ञा दिंदै भौगोलिक विविधताबाट विद्यार्थी सहभागी भएको औंल्याए । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का सदस्य सचिव जीवनारायण काफ्लेले शिक्षालय स्थापनासँगै त्यहाँको उत्पादन रोजगार वा स्वरोजगारमा जोडिने विश्वास व्यक्त गरे ।

प्राविधिक शिक्षालयको भवनको लागत ३ करोड ८७ लाख २६ हजार रहेको छ

प्रतिनिधिसभा सदस्य दुर्गाकुमारी विश्वकर्माले आफूले १५ वर्षअघि देखेको सपना हाल विपनामा परिणत हुन लागेको भन्दै खुसी व्यक्त गरिन् । शिक्षालय स्थापनामा पछिल्लो ४ वर्ष अधिक प्रयास गरिएको उनको भनाइ छ ।
गाउँपालिका अध्यक्ष युवराज कुँवरले शिक्षालय स्थापनामा अन्नपूर्णवासी एक भएको बताए ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले शिक्षालय स्थापना हुनु खुसीको कुरा भएको जनाउँदै त्यसबाट स्थानीयवासीले पनि फाइदा लिनुपर्ने भनाइ राखे ।
पूर्व जिविस सभापति एवं शिक्षासेवी पुण्यप्रसाद पौडेलले शिक्षालयका लागि अव व्यवस्थापकीय अन्य कुरामा पनि ध्यान दिनुपर्ने बताए । शिक्षालय प्रमुख मोतिमाया सुवेदीले सबैको सद्भावबाट शिक्षालय हालको बिन्दुसम्म आएको चर्चा गरिन् ।
सो अवसरमा वक्ताले वन मन्त्रालयमा अड्किएको जग्गा प्राप्तिको प्रक्रियालाई थप सहज बनाइदिन मन्त्री पौडेल समक्ष आग्रह पनि गरे । त्यस्तै शिक्षालय स्थापनामा माछापुच्छे« शिक्षा क्याम्पस÷माविमा केही वर्ष अगाडि लगाइएको महायज्ञको पनि ठूलो भूमिका रहेको उनीहरुको ठहर छ ।
साविक ढिकुरपोखरी गाविसअन्तर्गत वडा ३ स्थित काहुँनडाँडामा ३ करोड ८७ लाख २६ हजार लागतमा तीनतले, १५ कोठे पक्की भवन निर्माण थालिएको हो । उक्त शिक्षालय भवनका लागि यसअघि नै माछापुच्छे« महायज्ञबाट १४ रोपनी जग्गा प्राप्तिसमेत भइसकेको छ । अब ५ सय रोपनी जग्गाको वन मन्त्रालयमार्फत प्राप्तिको प्रक्रिया अगाडि बढेको जनाइएको छ ।
शिक्षालयअन्तर्गत हाल माछापुच्छे« मावि र धारापानी माविमा पठनपाठन भइरहेको छ । हाल विभिन्न जिल्लाका १ सय २० जना विद्यार्थीले बालीविज्ञान विषय पढिरहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width