बन्दीपुरमा चितुवाको त्रास

रासस
मंसिर ३, २०७८
Leopard-BW_1200px

दमौली । तनहुँको बन्दीपुर क्षेत्रमा चितुवाको त्रास बढेको छ । केही दिन यता बन्दीपुर आसपास चितुवा आतंक बढेको हो । साँझ परेपछि बन्दीपुरका विभिन्न ठाउँमा चितुवा देखिएको स्थानीयवासीले बताएका छन् ।

चितुवाले बुधबार राति बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटका स्थानीयवासी सीता भट्टराईले पालेको गाईको बाच्छी मारेको छ । “तीन चार दिनदेखि चितुवा हिँडेको स्थानीयले भनिरहेका थिए, गोठमै पसेर चितुवाले बाच्छीलाई आक्रमण गरेर मार्‍यो”, उहाँले भन्नुभयो ।

उहाँले यसबारेमा आफूले डिभिजन वन कार्यालय तनहुँमा जानकारी गराएको बताउनुभयो । उहाँका अनुसार गाईको बाच्छी चितुवाले आक्रमण गरेपछि वन कार्यालयले रु ३० हजार राहत दिने भएको छ । गत असोज अन्तिम साता बन्दीपुर –५ बाहुनभञ्ज्याङमा चितुवाको आक्रमणबाट ९ वर्षीया स्वीकृति थापाको मृत्यु भएको थियो । यसपछि बन्दीपुरमा चितुवाको त्रास बढेको भन्दै सो कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ । बन्दीपुर १ ४ र ५ का क्षेत्रमा चितुवा देखिएको स्थानीयवासीलाई उद्धृत गर्दै वन कार्यालय बन्दीपुरका प्रमुख सुरेश भुजेलले जानकारी दिनुभयो ।

वन क्षेत्रमा झाडी बढ्दै गएकाले चितुवाको बासस्थान पनि बढेको र अहिलेको समय प्रजननको भएकाले चितुवाले मानिस र अन्य जीव जनावर आक्रमण गर्नसक्ने डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताउनुभयो । चितुवाको आक्रमणबाट बच्न सचेत र सतर्क रहन स्थानीयवासीलाई आग्रह गरिएको उहाँले बताउनुभयो । “केही चितुवा बच्चा जन्माएपछि आहाराको खोजीमा हिँड्ने भएकाले यो समयमा चितुवासँग सतर्क रहनुपर्छ”, उहाँले भन्नुभयो ।

जङ्गल फँडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको छ । “तनहुँमा विशेष गरी चितुवाको समस्या रहेकाले चितुवाको स्वभाव, यसले आक्रमण गर्न सक्ने समय लगायतका विषयमा उपभोक्तालाई बेला–बेलामा जानकारी गराएका छौँ”, उहाँले भन्नुभयो, “चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ ।”

वनजङ्गलमा पाइने जीवजन्तु मानिसले सिकार गरेर खाइदिने गरेका कारण पनि चितुवाले बस्तीमा आएर मानिसलाई आक्रमण गर्न थालेको छ । चितुवाको प्राकृतिक खाना भनेको जीवजन्तु नै भए पनि त्यस्ता जीवजन्तु मानिसले खाइदिने गरेका कारण चितुवाको सिकार मानिस हुन थालेको उहाँले बताउनुभयो ।

कार्यालयले चितुवाबाट बच्नका लागि घरगोठ उज्यालो बनाउने, वस्तुलाई बचाउन गोठ बलियो निर्माण गर्नुपर्नेलगायतका विषयलाई ध्यान दिनुपर्ने कुराहरु उपभोक्तालाई सचेत गराउँदै आएको छ । “वनजङ्गलमा भएका पानीका स्रोत मासिँदै गएको छ, पानी खोज्दै बस्तीमा आउने चितुवाले घर नजिकै बालबालिका देखेपछि बच्चामाथि आक्रमण गर्न सक्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि जङ्गलमा पोखरी बनाएर पानीको स्रोत संरक्षण गर्न सकियो भने चितुवाबाट बच्न सकिन्छ ।”

मृग वन कुखुरालगायत वन्यजन्तु मानिसले सिकार गरिदिँदा वनमा आहाराको अभाव भई चितुवाले मानिसको सिकार गर्ने गरेको काफ्लेले बताउनुभयो । “वन्यजन्तुको चोरी सिकार गर्नेलाई पक्राउ गर्न सबैले सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

विसं २०७४ फागुन १ गते पहिलोपटक तनहुँमा भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । त्यसयता चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा एघार जना बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणमा पर्ने बालबालिका १२ वर्ष उमेरसम्मका छन् ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width