कास्कीका ७२ वटै वडामा माओवादीको एकै दिन अधिवेशन

आदर्श समाज सम्वाददाता
मंसिर ३, २०७८
maoist kaski

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कास्कीमा पार्टी सदस्यको संख्या १० हजार ३ सय ८३ पुगेको छ । माओवादीले सदस्यता नवीकरणको काम सकेर वडा र पालिका अधिवेशनको अन्तिम तयारीमा जुटेको छ ।
राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको माओवादीले निर्धारित मितिभित्र पोखरा महानगरपालिका र ४ गाउँपालिकामा गरी उक्त संख्यामा पार्टी सदस्यता नवीकरण भएको पार्टी केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङ (करण) ले जानकारी दिए । उनका अनुसार यसअघि जिल्लामा माओवादीका ८ हजार २ सय पार्टी सदस्य थिए ।
जिल्ला इन्चार्ज करणले पार्टीमा युवा, महिला र उत्पीडित समुदायको आकर्षण बढेको बताए । उनले भने, ‘हाम्रो पार्टीमा पछिल्लो समय आकर्षण बढेको छ । महिला, दलित, युवा लगायतको पार्टी कमिटीमा प्रतिनिधित्वको ग्यारेन्टी विधानमा भएपछि माओवादी रोज्ने बढेका छन् ।’

एकै दिन ७२ वडाको सम्मेलन
माओवादी कास्कीले मंसिर ४ गते जिल्लाका ७२ वटै वडामा एकैसाथ अधिवेशन गर्ने भएको छ । पार्टी केन्द्रले तोकेको मितिमा नै सबै वडाको अधिवेशन सम्पन्न गरिने र सम्पूर्ण तयारी पूरा भएको पार्टी केन्द्रीय प्रतिनिधि एवं पोखरा महानगर इन्चार्ज दीपक कोइरालाले बताए । उनका अनुसार सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिनेछ । सर्वसहमति नभएकाको हकमा निर्वाचनका प्रक्रिया समेत अवलम्बन गर्न सकिने नेता कोइरालले जानकारी दिए ।
नेता कोइरालाले पार्टीले लिएको विचार र कार्यक्रमका कारण फेरी माओवादीमाथि आकर्षण बढिरहेको बताए । उनले भने, ‘अहिले पनि देशको समग्र राजनीति माओवादी केन्द्रकै एजेन्डाको वरिपरि घुमेको छ । वडा, पालिका र राष्ट्रिय सम्मेलनपछि माओवादी देशको पहिलो शक्ति बन्ने गरी नयाँ उत्साहका साथ जनतामा जानेछ ।’
मंसिर ४ मा माओवादीको वडा सम्मेलनको देशभर एकैपटक बिहान ११ बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल रुपमा गर्ने कार्यक्रम छ ।

Related News

सम्बन्धित समाचार

hero news full width