तस्बिर : रोजी गौचन थकाली ।
पोखरा । ७ वर्षअघि टुकुचे पीक नजिकैबाट हिउँ पहिरो झरेको मुस्ताङका सांसद महेन्द्र थकालीले सम्झे । ‘त्यतिबेला ३ जना मान्छे र थुप्रै याकहरु मरेका हुन् । यो वर्ष संयोगले मान्छेलाई केही भएन,’ उनले भने, ‘मलाई अनौठो लागिरहेको छ कि मंसिरको बेला हिम पहिरो कसरी झर्यो ? वैशाख, जेठ तिर झरको भए सामान्य मान्न हुन्थ्यो ।’ थासाङ गाउँपालिका २ नाउरीकोट नजिकै टुकुचे पीक (स्थानीय भाषामा मानापाथी हिमाल) बाट हिउँ पहिरो झरेर गाउँ छेउमै आइपुग्यो । आइतबार दिउँसो करिब १२ बजे हिम पहिरो झरेको हो । ‘धवलागिरि हिमालतिर झरिरहन्छ । हामी खासै मतलब गर्दैनौं । यता झरेको यो पहिलो घटना हो,’ थकाली अघि भन्छन्, ‘जलवायु परिवर्तन नै त होला । नत्र यस्तो नहुनुपर्ने हो । अहिले पुसमा पनि हिउँ पर्दैन । कहिले वैशाखमै हिमपात हुन्छ ।’
एउटा अध्ययनले मुस्ताङको तापक्रम विश्वमै सबैभन्दा तीव्र गतिमा बढेको देखाएको छ । पृथ्वीको तापक्रम गएको १ सय वर्षमा १ दशमलव १ डिग्री बढेको छ । नेपालमै भएको अध्ययनलाई हेर्दा, यहाँको तापक्रम वृद्धिदर ०.०५६ डिग्रीले बढेको छ बर्सेनि । तर मुस्ताङको अन्यत्रभन्दा धेरै बढेको छ । यहाँ हरेक १० वर्षमा १ डिग्री तापक्रम बढ्छ । बर्सेनि ०.१ डिग्री बढेको छ । ‘१ डिग्रीको फरक धेरै नै ठूलो हुन्छ । गण्डकी प्रदेशकै हिमाली क्षेत्रमा तापक्रम अन्य प्रदेशभन्दा बढी देखिएको छ । भविष्यमा अझै बढी असर पर्ने देखिन्छ,’ जलवायु परिवर्तनविद् मन्जित ढकालले भने, ‘एउटा–एउटा घटनालाई घटनाको प्रकृति नबुझिकन जलवायु परिवर्तनसँग जोड्नु राम्रो त होइन । तर हामीले नसोचेका र फरक प्रवृत्तिका घटनाहरु बढ्दै गएका छन् र पहिले भन्दा छिटोछिटो पुनरावृत्ति भइरहेको छ । यो जलवायु परिवर्तनकै असर हो ।’
नेपालमा विज्ञहरुले ४७ वटा हिमताल फुट्ने उच्च खतराको सूचीमा राखेका छन् । त्यसमध्ये गण्डकीका ३ वटा पर्छन् । ‘बेमौसमी वर्षा हुने । वर्षाको अवधि सकिएपछि पनि अनौठो खालको वर्षा हुने, यस्ता खालको प्रवृत्ति विश्वव्यापी रुपमा बढ्दै गएको छ । हाम्रो नेपालमा पनि छि¥यो,’ उनले भने, ‘पहिले १० वर्षको अन्तरालमा प्रकोपको पुनरावृत्ति हुन्थ्यो भने अब ३ वर्षमै पुनरावृत्ति हुने देखिन्छ ।’
अरु ठाउँमा प्रत्येक वर्ष ०.०५७ डिग्री तापक्रम बढ्ने गरेकोमा मुस्ताङको तापक्रम भने बर्सेनि ०.१ डिग्री बढेको छ
प्रदेशको तापक्रम वृद्धिको अध्ययन हेर्दा गण्डकीमा वर्षाको चरित्र फेरबदल भएको छ । लगातार पानी नपर्ने दिन बढेको छ भने थोरै दिनमै धेरै पानी पर्न थालेको छ । ‘नेपालभरिमा मुस्ताङमा मात्रै जोखिम छ अन्त छैन भनेको होइन, तर अरु जिल्लाको तुलना गर्दा मुस्ताङ र मनाङको तापक्रम वृद्धि बढी छ । सुख्खा खडेरी यी जिल्लामा बढी देखिन्छ,’ ढकाल भन्छन्, ‘निराशाजनक कुरा गर्यो भन्ने होला, तर सकारात्मक पक्ष देखिँदैन । यो समस्यालाई सधैंका लागि समाधान गर्ने भनेको कार्बन उत्सर्जन घट्नुपर्छ । ग्लास्गोमा भएको सम्मेलनहरुले त्यसमा योगदान दिन्छ ।’ उनी अहिले पनि ग्लास्गोमै छन् ।
हिमाली क्षेत्रमा खडेरी बढेपछि स्थानीयले बिस्तारै थातथलो छोड्न थालेका छन् । ‘याकको चरन क्षेत्र घटेकोले त्यहाँका नागरिकहरुले अर्को पेसा व्यवसाय गर्न थालेको पाएका छौं । व्यवसाय नै धेरै घटेको देखिन्छ । त्यसले रहनसहन र संस्कृतिमै परिवर्तन ल्याइदिने भयो,’ उनी सम्मिलित एउटा रिपोर्टले भनेको छ, ‘तल्लो भागमा बाढी पहिरो र माथिल्लो क्षेत्रमा हिमताल फुट्ने समस्या देखिन्छ । सबै ठाउँमा जोखिम छ । खासगरी गण्डकीका हिमाली क्षेत्रमा धेरै छ ।’
उनले पूर्व तयारीका कामहरु गर्न सुझाव दिएका छन् । ‘जोखिम छ भन्ने थाहा भएपछि क्षति कम गराउन पूर्व तयारीको भूमिका अत्यन्तै ठूलो हुन्छ । सरकारले विशेष चासो दिनुपर्छ । जोखिम भनेका ठाउँमा बस्ती बस्न दिनु हुँदैन । स्थानीय र प्रदेश सरकारको भूमिका अति बढी हुन्छ,’ उनले भने, ‘सरकार संवेदनशील हुनुपर्छ । नागरिकहरु पनि कार्बन उत्सर्जन घटाउने अभियानमा लाग्नुपर्छ ।’ हिमताल फुट्ने र बाढी पहिरो तत्कालीन प्रभाव हुन् भने लामो खडेरी पर्ने र अस्वाभाविक वर्षा हुने गर्दा थातथलो छोड्नुपर्ने अर्को जटिल अवस्था हो । बिस्तारै यहाँका गाउँहरु रित्तिँदै गएका छन् ।
आइतबारको हिम पहिरोले केही याकहरु पुरेको हुन सक्ने आशंका गरिएको छ । मानवीय क्षति नभए पनि डरले भागदौड गर्दा ११ जना घाइते भएको बताइएको छ । उनीहरुको नजिकको स्वास्थ्य चौकीहरुमा उपचार गरिएको छ । ३ जनाको खुट्टा भाँचिएको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सुरक्षाकर्मी घटनास्थलमा खटाएर उद्धारको काम भइरहेको बताए ।
Related News
सम्बन्धित समाचार
पत्रकार पोखरेल सम्मानित
रेवान पोखरामा विश्वराज
फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
बेनी–जोमसोम सडक अवरुद्ध
hero news full width
मुख्य समाचार
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१