कोरोनापछि विदेश जान हतार

धनबहादुर गुरुङ
कार्तिक २७, २०७८
Labor and Employment Photo 1

पोखरा । ‘सरकारले हाम्लाई पाल्न सक्दैन के गर्ने ? विदेश त जानै पर्‍यो नि !’
श्रम तथा रोजगार कार्यालय, पोखरामा शुक्रबार श्रम स्वीकृतिका लागि पालोमा बसेका स्याङ्जाका धनप्रसाद गुरुङले दुखेसो पोखे । पुतलीबजार १२, पेल्काचौरका उनी यस वर्ष तिहार मनाउन कतारबाट फर्किएका थिए । बिहान १० बजे पोखरास्थित कार्यालयमा पालोमा बसेका उनको २ बजेसम्म काम सकिएको थिएन । छिट्टै फर्कने भनी हिंडेका उनी पालो नआएर हैरान थिए । तर, श्रम गरेपछि विदेश जान पाइन्छ भन्नेमा उनी ढुक्क थिए ।
उनको छेवैमा रहेका पोखरा रामबजारका अमृत राना पनि नेपालको ‘सिस्टम’ भनेको यस्तै हो भन्दै भुनभुनाउँदै थिए । श्रम गर्नेहरु बढेका कारण पालो ढिला आएको उनी बताउँछन् । वर्षवर्षमा परिवर्तन हुने सिस्टमले उनी आजित थिए । ‘४ वर्षअघि आउँदा पासपोर्ट झ्यालबाट दिएसी काम भएको थियो,’ उनले भने, ‘अहिले त बैंक खाता नम्बर चाहिने र बिमा गर्न पर्ने रे केके हो, केके ।’ साउदीबाट आएका उनी कोरोना प्रभावले फर्किन नपाउने हो कि भन्ने चिन्ताबाट भने मुक्त थिए ।
धनप्रसाद र अमृतजस्तै अचेल श्रम कार्यालयमा पुनः श्रम स्वीकृत गर्नेहरुको भीड दिनानुदिन बढ्दै गएको छ । कोरोना कहरपछि पुनः श्रम स्वीकृत लिएर विदेश जानको संख्या बढेको सो कार्यालयका सूचना अधिकारी दीपक रेग्मीले बताए । ‘पहिला दिनमा १० जना पनि आउथेनन्, अचेल दैनिक १ सयभन्दा बढी आउन थालेका छन्,’ रेग्मीले भने, ‘केहीले अनलाइनबाटै पुनः श्रम पनि सुरु गरिसकेका छन् ।’

अचेल दैनिक १ सयभन्दा बढी सेवाग्राही आउन थालेका छन्

उनका अनुसार पछिल्लो महिना कार्यालयमै आएर पुनः श्रम स्वीकृतले बढेका हुन् । बिहीबारमात्र २ सय १६ जनाको पुनः श्रम स्वीकृत गरिएको उनले जानकारी दिए । गत वर्ष तुलनामा यसपालि यो संख्या बढेका हो । गत वर्षको असोजमा ५ सय ३९ जनाले श्रम स्वीकृत लिएकोमा यस वर्षको असोजमा ७ सय ५ रहेका थिए । ‘कात्तिक महिनाको हेर्ने हो भने गत वर्ष र यो वर्ष आकाश पातालकै फरक छ,’ उनले भने, ‘पोहोर कात्तिकमा श्रम गर्ने ३ सय ४३ थिए भने अहिले २५ गते सम्मै २ हजार ७० पुगिसकेको छ ।’
यस क्षेत्रबाट पहिलो श्रम स्वीकृत काठमाडौंबाट लिएकाहरुले पुनः स्वीकृतिको लागि पोखराबाटै सुविधा लिन सक्नेछन् । पोखरा कार्यालयबाट साउदी, कतार, दुवै, मलेसिया, बहराइन र ओमनमा काम गर्न जानेहरुले श्रम स्वीकृत लिन पाइन्छ । थोरै मात्रामा जापान, युरोपका देशमा काम गर्न जानेहरुले पनि श्रम स्वीकृत लिएका छन् ।

अनलाइन अझै छैन प्रभावकारी
श्रम तथा वैदेशिक रोजगार विभागले सेवाग्राहीको सुविधाका लागि २०७७ माघदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृत सेवा सुरु गरेको थियो । नयाँ सुविधा भएका कारण कतिपयलाई थाहा नभएर र कतिले चलाउन नजानेर कार्यालयमै धाउने गरेको र दुख पाएको श्रम कार्यालय पोखराका सूचना अधिकारी रेग्मीले जानकारी दिए ।
कार्यालयले आफ्नो सेवालाई भौतिक उपस्थित कम गर्न र कागजरहित सेवा दिनका लागि अनलाइन सेवा सुरु गरेको थियो । ‘कतिपयले थाहा नै पाएका छैनन्, थाहा पाउनेले पनि हुन्छ कि हुँदैन भनेर दोधार परेर गरेका छैनन्,’ उनले भने, ‘सेवाग्राहीमा आत्मविश्वासमा कमी हुँदा पनि दुख पाइरहेका छन् ।’ अनलाइन केही झन्झटिलो भएका कारण पनि सेवाग्राही कार्यालयमै धाउने गरेका छन् ।
सेवाग्राहीले अनलाइन पुनः श्रम स्वीकृतबारे बुझ्न सके समय र पैसाको बचत हुनुका साथै आर्थिक चलखेल हुनबाट जोगिन सक्ने कार्यालयले जनाएको छ । विदेशमै बसेर पनि अनलाइनबाटै पुनः श्रम स्वीकृत गर्न सकिने भएकाले यसका लागिमात्र नेपाल आउनु पर्दैन । साथै अनलाइनबाट यो काम गरे कार्यालयमा सेवाग्राहीको भीड नलाग्ने र जनशक्ति अरु ठाउँमा लगाउन सकिन्छ । सेवा लिनेहरु अनलाइन माध्यममा सक्षम नभएकाले प्रक्रिया सहज हुनुपर्ने सूचना अधिकारी रेग्मीको भनाइ छ । अनलाइनबारे ज्ञान भएका र श्रम तथा रोजगार कार्यालयमा बायोमेट्रिक रेकर्ड भएका सेवाग्राहीले अनलाइनबाट पुनः श्रम गर्न सकिने उनले बताए । बायोमेट्रिक रेकर्ड नभए वैदेशिक रोजगार विभागअन्तर्गत रोजगार सूचना व्यवस्थापन प्रणालीमा गएर रेकर्ड गराउन सकिन्छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width