सुनसान रंगशालामा लिगको चर्चा

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७८
League Pokhara Photo

पोखरा । पोखरा रंगशालामा पछिल्लो समय कुनै प्रतियोगिता भएका छैनन् । यहाँ गत वर्षको चैत २१ देखि २८ सम्म १९ औं संस्करणको आहा रारा गोल्डकपपछि कुनै पनि ठूला प्रतियोगिता भएनन् । फाट्टफुट्ट मैत्रीपूर्ण खेल र टे«निङका केही गतिविधि भए पनि दर्शकले प्यारापिट भरिएका छैनन् । गएको भदौमा हुने भनिएको नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल यहाँ हुन सकेन ।
कोरोनाका कारण भएका लकडाउनबीच निर्माणाधीन अवस्थामै रहेको रंगशालाको काम धमाधम भइरह्यो । अहिले चेन्जिङ रुमको काम लगभग अन्तिम चरणमा पुगेको छ । रंगशालाको ९५ प्रतिशत सकिएको इन्जिनियर पुरुषोत्तम बरालले जानकारी दिए । पुस १५ समयसीमा भए पनि आफूहरुले त्यसअगावै हस्तान्तरण गर्ने गरी काम गरिरहेको इन्जिनियर बरालको भनाइ थियो । संरचना बन्दै गरे पनि तयारी अवस्थामा रहेको प्यारापिटका सिटहरु धुलाम्मे छन् । प्रतियोगिता नभएकै कारण मैदानमा दुबोलाई जित्ने गरी अरु झारहरु उम्रन थालिसकेका छन् । मैदान सुनसान छ । कोरोनाले शून्यमा झरेको खेल क्षेत्रमा पछिल्ला समय प्रतियोगिता हुन थाले पनि पोखरा रंगशालाले प्रतियोगिता पाउन सकेको छैन् । माघमा आहा राराको गोल्डकप हुने भनिए पनि ए डिभिजन लिगको खेल पोखरामा खेलाइने योजनाले चर्चा पाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने लिग कात्तिक २९ गतेदेखि सुरु हुनेछ । अघिल्लो लिग दशरथ रंगशाला र एन्फा टेक्निकल सेन्टरमा भए पनि यसपटक देखि उपत्यका बाहिर लैजाने एन्फाले योजना बनाएको छ । साथै एन्फाले च्यासल मैदान पनि प्रयोग गर्ने तयारी थालेको छ । उपत्यका बाहिर लिग सञ्चालनका लागि पोखरा रंगशाला उपयुक्त हुने भन्दै गृहकार्य सुरु गरेको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । ‘पोखरामा लिगका केही खेलाउने कि भन्ने विषयमा कुरा भइरहेको छ,’ उनले भने, ‘साथीहरुले होमवर्क गर्दैछन् फाइनल भएको छैन ।’
यता ‘ए’ डिभिजन क्लब मनाङ मस्र्याङ्दी (एमएमसी) लाई पोखरा रंगशाला घरेलु मैदानको रुपमा प्रयोग गर्न दिने गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सिफारिस गरिसकेको छ । राखेपले स्वीकृत गर्न दिएपछि आधिकारिक रुपमा मनाङले रंगशाला प्रयोग गर्नेछ । मनाङले पोखरा रंगशालालाई आफ्नो होम ग्राउण्ड बनाउने र ग्राउन्ड पनि लिग सञ्चालनका लागि उपयुक्त भएका कारण गृहकार्य सुरु भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगका निर्देशक सञ्जीव मिश्रले जानकारी दिए । ‘काठमाडौंभन्दा बाहिर लिगका खेल भयो भने पोखरामा खेलाउन सक्ने हो,’ उनले भने, ‘मनाङ मस्र्याङ्दीले पोखरालाई आफ्नो होम ग्राउन्डजस्तो बनाएको भएर र लिगलाई चाहिने स्टेडियममा सबै भएकाले पोखरा रोजेको हो फाइनल भएको छैन, वर्क आउट हुँदै छ ।’ यसका लागि ब्रोडकास्टिङ पार्टनरसँग कुरा गर्न बाँकी रहेको उनले सुनाए । ‘पोखरामा खेल हुने ठूलो सम्भावना छ,’ उनले भने, ‘सबै प्रक्रिया पूरा भएपछि एक अथवा दुई चरणका खेल पोखरा रंगशालामा खेलाउन सकिन्छ ।’
पोखरालाई आफ्नो मैदान बनाउन लागि परेको एमएमसीले भने लिगको तयारीमा रहेका कारण प्रक्रिया ढिला भएको बताएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सिफारिस गरेर पठाएपनि चाडबाड र क्लब प्रशिक्षकका कारण प्रक्रिया अगाडि नबढेको क्लबका अध्यक्ष मुखिया गुरुङले जानकारी दिए । एन्फाले पोखरामा पनि लिग खेलाउने योजना बनाएकाले क्लबलाई फाइदाको पक्ष रहेको उनको भनाइ छ । ‘पोखरालाई होम ग्राउन्ड बनाउने कुरामा हामी सकारात्मक नै छौं,’ उनले भने, ‘राखेपमा बुझाएका छौं उताबाट के जवाफ आउँछ, हामी पनि चाडबाडले गर्दा मिटिङ बस्न नि भ्याएका छैनौं ।’
पोखरा रंगशाला र च्यासल मैदानको बारेमा कुरा भइरहकाले सुरुआती दुई चरणका तालिका मात्र सार्वजनिक भएको छ । तालिकाअनुसार दशरथ रंगशाला र एन्फा टेक्निकल सेन्टर तोकिएको छ । तेस्रो चरणको खेलमा च्यासलमा गराउने लक्ष्य राखेको एन्फामा केही प्राविधिक काम भने बाँकी नै छ । मैदानमा गोलपोस्ट बनाउने र मैदानभित्र खेल क्षेत्रको लाइन बनाउने काम बाँकी नै छ । सोही बमोजिम तालिका बनाउनुपर्ने भएकाले दुई चरणका खेललाई मात्र खेल स्थल, मिति र समय तोकिएको बताइएको छ ।
लिग कात्तिक २९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उद्घाटन हुँदै छ । पहिलो खेल यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लब र फ्रेन्ड्सबीच प्रतिस्पर्धा दशरथ रंगशालामा हुनेछ । उद्घाटन खेल ‘फ्लड लाइट’ खेलाउने तालिका बनाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । फागुन १४ गतेसम्म सञ्चालन हुने लिगमा १४ टोलीले सहभागिता जनाउँदै छन् । तीमध्ये अन्तिममा रहने दुई टोली रेलिगेसनमा परी ‘बि’ डिभिजनमा घटुवा हुनेछन् । लिगमा कुल १३ चरण र ९१ खेल हुनेछ । लिग विजेता टोलीले ७५ लाख पाउँदा उपबिजेता टिमले ५० लाख र तेस्रो हुने टिमले २५ लाख प्राप्त गर्नेछन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width