दोर्दी जलविद्युतको निर्माण अन्तिम चरणमा

आदर्श समाज सम्वाददाता
कार्तिक २२, २०७८
Upper-dordi 1

लमजुङ। लमजुङमा दोर्दी खोला जलविद्युत कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । दोर्दीखोला करिडोरमा निर्माणाधीन १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजनाको काम ९७ प्रतिशत पूरा भएको छ ।

आयोजनाको बाँध क्षेत्रको सिभिल संरचना निर्माण कार्य पूर्णरुपमा सकिएको आयोजना प्रबन्धक उज्वल सिलवालले बताए । उनका अनुसार विद्युत् गृहको काम अन्तिम चरणमा छ । त्यस्तै, विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

गत असार १ गते आएको बाढीले आयोजनाको संरचनामा निकै क्षति पु¥याएकाले निर्माणको काम प्रभावित भएकोे सिलवालले बताए । उनकाअनुसार बाढी पसेर मेसिन हल नै ढुवानमा परेको थियो । उनले भने, ‘यतिबेला इलेक्ट्रोमेकानिकल उपकरण सफा गर्ने काम भइरहेको छ ।’ ‘आयोजनाको सिभिल संरचना निर्माणको काम पूरा गरी साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य थियो । अब आयोजनाको सबै काम पूरा गरेर पुसभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ,’ सिलवालले भने ।

आयोजनाको ७ सय ३५ मिटर पेनस्टक पाइपमध्ये २५ मिटर पाइप जडान हुन बाँकी रहेको आयोजनाका प्रमुख सिलवालले बताए । उनले भने, ‘आयोजना आफंैले सबस्टेसनसम्म आवश्यक पर्ने साढे ३ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिरहेको छ ।’

रनअफ रिभर प्रकृतिमा आधारित सो आयोजना निर्माणका लागि सानिमा बैंकको अगुवाईमा ५ बैंकले लगानी गरेका छन् । सो आयोजनामा लक्ष्मी बैंक, कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक, कैलाश विकास बैंकसँग ऋण सम्झौता गरिएको छ । आयोजनामा लमजुङ विद्युत विकास कम्पनी (लेड्को) र पब्लिक सेयरबाट संकलित रकमको लगानी छ ।

२०७४ साल चैतबाट सुरु भएको आयोजनाबाट विद्युत् उत्पादन सुरु गर्न २ अर्ब २९ करोड रुपैयाँ खर्च हुने अनुमान गरी २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । २०७६ चैत महिनामा सक्ने आयोजनाको लक्ष्य थियो ।

आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्नेे १३२ केभी कीर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ । आयोजनाले प्रसारण लाइनको १५ वटा टावर निर्माण गरिसकेको छ ।

आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुक्खायामका लागि ८ रुपैयाँ ४० पैसामा विद्युत खरीद सम्झौता (पिपिए) गरेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width