अनुसन्धान केन्द्रद्वारा रिसर्च टक कार्यक्रम आयोजना

आदर्श समाज सम्वाददाता
कार्तिक १७, २०७८
PU Research Talks

पोखरा । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकाय र स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेजसँग सहकार्य गरी रिसर्च टकको सुरूवाती पहिलो शृंखला आयोजना गरेको छ । ट्रान्सप्लान्ट सर्जरी, क्यालिफोर्निया विश्वविद्यालय, सान फ्रान्सिस्को अमेरिकाको शल्यक्रिया विभागका सह–प्राध्यापक डा. तारा सिग्देललाई प्रमुख वक्ताका रुपमा आमन्त्रण गरिएको थियो । कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्याल, रजिष्ट्रार डा. दीपकबहादुर भण्डारी लगायत विभिन्न संकायका डिनहरू तथा स्वास्थ्य विज्ञान संकाय र स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेजका प्राध्यापक, पदाधिकारी आदिको उपस्थिति थियो ।
कार्यक्रममा प्राडा प्रेमनारायण अर्यालले जबसम्म विश्वविद्यालयमा अनुसन्धान गतिविधि सँगसँगै पठनपाठन हुँदैन, त्यस्तो शिक्षामा गुणस्तर नहुने र त्यसले देशको योजनाबद्ध विकासका लागि थिंक टैंक समेत नजन्माउने उल्लेख गरे । उपकुलपति प्राडा अर्यालले पोखरा विश्वविद्यालयलाई अग्रणी विश्वविद्यालयको रूपमा स्थापित गर्न प्राध्यापकहरूमा अनुसन्धान तथा नवीनतम सोच आवश्यक छ भन्दै ‘तपाईंहरू अनुसन्धानतर्फ लाग्नुस्, आवश्यक साधन, स्रोत र सहयोग हामी जुटाउँछौं ।’ उपकुलपतिले भने ।
कार्यक्रमका प्रमुख वक्ता डा. तारा सिग्देलले ‘रिसर्च एन्ड इनोभेसन इन हाइअर एजुकेसन–एन इलुसिभ बट क्रिटिकल कम्पोनेन्ट इन पोस्ट कोभिड इरा’ शीर्षकमा प्रस्तुतीकरण गरेका थिए । उनले बायोइन्फरमेटिक्स, बायोमार्कर डिसकभरी, हाइ थ्रोपुट डाटा, इमुनोलोजी, किड्नी ट्रान्सप्लान्टेसन, लिभर क्यान्सर, अर्गान ट्रान्सप्लान्टेसन, प्रोटियोमिक्सबारे चर्चा गरेका थिए ।
पोखरा विश्वविद्यालयको अनुसन्धान गतिविधिलाई अधिक व्यावहारिक र उपयोगी तुल्याउँदै गुणस्तरीय शिक्षाका लागि पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले हरेक महिना विभिन्न शीर्षकमा ‘रिसर्च टक’ लाई निरन्तरता दिने बताएको छ । कार्यक्रमको सञ्चालन पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्र्देशक सहप्राध्यापक डा. नमराज धामीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width