यसरी बन्छ पोखरा ‘स्मार्ट सिटी’

आदर्श समाज सम्वाददाता
कार्तिक १४, २०७८
rotaray~

पोखरा । गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ मा ४ सय ५ वटा सवारी दुर्घटना भयो । ५ सय ४३ वटा सवारी साधन दुर्घटना हुँदा २ सय २२ जनाको मृत्यु भएको छ भने ३ सय ४३ गम्भीर घाइते भए । सामान्य घाइते २ सय ४६ जना भए । आव २०७६/०७७ मा यो संख्या केही बढी थियो । कुल ४ सय ३१ दुर्घटनामा २ सय २३ जनाको मृत्यु भएको छ । त्योभन्दा अघिल्लो वर्ष २०७५/०७६ मा ४ सय ६० दुर्घटनाबाट २ सय ५८ को मृत्यु भएको तथ्यांक छ । पछिल्ला वर्षमा दुर्घटना र मृत्यु संख्या कम देखिए पनि यो निकै उच्च रेकर्ड हो । कोरोना महामारीका कारण गरिएको लामो लकडाउनको अवधिमा समेत यति धेरै दुर्घटना हुनुले गण्डकीमा गाडी दुर्घटनाबाट मृत्यु हुने संख्या पहिलेभन्दा धेरै बढेको संकेत गर्छ ।
अधिकांश चालकको कारणले दुर्घटना भएको प्रहरीको रेकर्ड छ । गत वर्षको दुर्घटनामध्ये ३ सय ९ वटा चालककै कारण भएको छ । सवारीसाधनका कारण ३७, यात्रुका कारण २४, सडक अवस्थाले ३०, मौसमले ३ र चौपायाका कारण ३ वटा दुर्घटना भएको छ । पोखरामा हालसम्म २ सय ५० किलोमिटर पक्की सडक छ । २ सय ११ किलोमिटर कच्ची र ग्राभेल सडक छन् । पक्की सडक भनिएको पनि निरन्तर मर्मतसम्भार नहुँदा कच्ची भन्दा डरलाग्दो भएको छ ।
दैनिक हुने दुर्घटनाले मान्छेको ज्यान जान थालेपछि सरोकारवालाहरुले चासो देखाएका छन् । सन् २०३० भित्र पोखरामा स्मार्ट र सुरक्षित यातायात व्यवस्था कार्यान्वयन गर्ने घोषणा गरिएको छ । बाबा फाउन्डेसन र पोखरामा रहेका रोटरी क्लबहरुले आयोजना गरेको स्मार्ट मोबिलिटी इन पोखरा नामक सेमिनारक्रममा यहाँका सरोकारवालाले १० बुँदे साझा घोषणापत्र सार्वजनिक गरेका हुन् । सडकमा हुने दुर्घटना न्युनिकरण गर्दै यही दशकमा सडक दुर्घटनाबाट हुने मृत्युमा ५० प्रतिशत न्युनिकरण गर्ने गरी कार्यक्रम लागु गर्न सबै सहमत भएका छन् ।
पैदलयात्रु र सवारीचालकका लागि ट्राफिक नियमका बारेमा चेतना बढाउँदै कार्यान्वयन गर्न लगाउने, प्राज्ञिक अनुसन्धानको विधि प्रयोग गरी सुन्दर यातायात पूर्वाधारको निर्माण गरी यात्रा समयमा सुधार ल्याउने, विद्युत प्राधिकरण, खानेपानी संस्थान, ढल विकास र टेलिकम लगायत विभिन्न सरोकारवालाबीच समन्वय गरी सहरी पूर्वाधार निर्माणमा समग्र सामञ्जस्यता कायम गर्ने घोषणा गरिएको छ । यस्तै, स्तरीय पूर्वाधारको निर्माण गरी सफ्टवेयर सहितको सहरी यातायात गुरुयोजना लागु गर्ने, पैदलयात्री, साइकलयात्री र अपांगता भएकाहरुको सुविधासमेत समावेश गरी प्रभावकारी सार्वजनिक यातायातमा प्राथमिकता दिने साझा लक्ष्य कायम गरिएको छ ।
पोखराले १० बुँदे घोषणापत्र जारी गरी पोखराको यातायातलाई अझै व्यवस्थित बनाउने योजना छ । सडक छेउमा पार्क बनाउने र संरक्षण गर्ने, स्मार्ट यातायातको योजन र प्रभावकारी कार्यान्वयनमा जोड दिने तथा त्यसको कार्यान्वयनबारे अनुगमन गर्न समूह गठन गर्ने निर्णय भएको छ । यसमा प्रदेश सरकार, पोखरा महानगर, विद्युत प्राधिकरण, दूरसञ्चार, खानेपानी संस्थान, ट्राफिक प्रहरी कार्यालय, रोटरी क्लब्स् ३२९२, बाबा फाउण्डेसन र निजी क्षेत्रको प्रतिनिधिले यसमा सहमति जनाएका छन् ।
रोटरी क्लब्सले सरोकारवालालाई एकै ठाउँमा राखेर दुर्घटना न्युनिकरण र स्मार्ट व्यवस्थापनबारे सचेत गराएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दुर्घटना कम गराउन प्रदेश सरकारले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए । उनले बजेटमा हुने सीमितताका कारण सोचे जति काम गर्न नसके पनि प्रदेश सरकारलाई यसमा चासो निरन्तर रहेको बताए । ‘नीति, कार्यक्रम र बजेटमा हाम्रो परिकल्पना र आकांक्षा छ । तर स्रोत छैन । सोचे जति काम गर्न पाएका छैनौं,’ उनले भने, ‘सरकारले गर्नुपर्ने काममा सामाजिक संघ संस्थाले घचघच्याएको छ । हाम्रो नजर खुलेको छ । केही नयाँ गर्ने जमर्को हाम्रो छ ।’
कार्यक्रमका सहभागीले ट्राफिक लाइट व्यवस्थादेखि फ्लाई ओभर, आकाशे पुल लगायत संरचना बनाउन सुझाव दिएका छन् । कार्यक्रममा सडक र सवारीबारे विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width