कास्कीका सबै पालिकामा नेतृत्व छान्न सकस

आदर्श समाज सम्वाददाता
कार्तिक १०, २०७८
UML

पोखरा । एमालेको दशौं महाधिवेसनअन्तर्गत मंगलबार सुरु भएको पालिका अधिवेशन कास्कीमा निकै रस्साकस्सी छ । नेताहरुबीच प्रतिस्पर्धा बढी भएकाले नेतृत्व छान्न निकै सकस देखिएको छ । मंगलबार रातिसम्म कुनै पनि पालिकामा सहमति जुटेन । पटक पटकको वार्ता असफल भएपछि पोखराको अधिवेशन एकदिन पछि धकेलिएको छ । पोखरामा ४ जनाले नेतृत्वमा आकांक्षा देखाएका छन् । आकांक्षी चारै जनासँग बैठक बस्दा उम्मेदवारी छोड्ने अवस्था नभएपछि अधिवेशन नै स्थगित गरिएको हो । मंगलबार मनोनयनको कार्यक्रम सुरु नहुँदै स्थगित भएको हो । बुधबार १० बजेबाट अधिवेशन प्रक्रिया सुरु हुने बताइएको छ ।

पोखरामा हालका अध्यक्ष दीपक पौडेल, नेताहरु तेजनारायण अधिकारी, दिलीप न्यौपाने र व्यवसायीसमेत रहेका सञ्जीवबहादुर कोइरालाले अध्यक्षमा दाबी गरेका छन् । आकांक्षीमध्ये पौडेल र अधिकारी पार्टीका केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ निकटका हुन् भने न्यौपाने नेता खगराज अधिकारी निकट मानिन्छन् । पोखरामा गुरुङ भर्सेज अधिकारीका उम्मेदवार देखिएका छन् ।

अन्नपूर्ण गाउँपालिकामा पनि ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्तापछि वार्ता बसे पनि सर्वसम्मत नेतृत्व चयन हुन सकेको छैन । सबैले आफ्नै दाबी नछोडेपछि सहमति नजुटेको हो । यहाँ गाउँपालिका उपाध्यक्ष सगुन गुरुङ, वडाध्यक्ष चन्द्रबहादुर गुरुङ, गौरी सुवेदी, सोमनाथ पौडेल र विवेक देवकोटाले अध्यक्षमा मनोनयन दर्ता गराएका छन् । अन्य पदमा भने खासै प्रतिस्पर्धा छैन । सकेसम्म सहमतिमा नेतृत्व छान्ने र सम्भव नभए बुधबार मतदान हुने बताइएको छ ।

मादी गाउँपालिकामा अध्यक्षबाहेक सबै पदमा निर्विरोध चयन भएका छन् । उपाध्यक्ष एकजंग गुरुङ, सचिव सुवास सापकोटा, सहसचिव राजु अधिकारी र प्रतीक्षा पौडेललाई चयन गरिएको हो । ७५ सदस्यीय कमिटीमा अहिले ४० जना निर्वाचित भएका छन् । अध्यक्षमा हालका अध्यक्ष बालकृष्ण गुरुङ, वडा नम्बर ७ का अध्यक्ष पसबहादुर बास्तोला र हरिबोल गौतमको दाबी छ । समाचार तयार पार्दाको समयसम्म गुरुङलाई दोहोर्‍याउने बुझिएको छ । तथापि नेताहरुबीच छलफल भइरहेको छ ।

माछापुच्छ्रे गाउँपालिकामा ४ जनाले अध्यक्षमा दाबेदारी पेस गरेका छन् । वडा नम्बर २ का अध्यक्ष विक्रम गुरुङसहित पानबहादुर क्षेत्री, महेश्वर दवाडी र यदुराम अधिकारीले मनोनयन दर्ता गराएका हुन् । तर यहाँ पनि सर्वसम्मत प्रयास गरिएको छ । अन्य पद भने सर्वसम्मत हुने बुझिएको छ । अध्यक्षको टुंगो लागेपछि मात्रै अन्य पदमा छलफल हुने नेताहरुले बताएका छन् ।

रुपा गाउँपालिकाको अध्यक्षमा सहबक्स मियाँलाई नै अघि सारिएको छ । तर पछिल्लो समय अरुले पनि दाबी गरेपछि अधिवेशन केही अन्योल भएको छ । वडा नम्बर ५ का वडा सदस्य दामोदर घिमिरेले पनि अध्यक्षमा दाबी गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width