पोखराका सम्पदा ठेक्काविरुद्धको रिट खारेज

आदर्श समाज सम्वाददाता
कार्तिक १०, २०७८
PokharaHighCourt

पोखरा । पोखराको सेती खोंच र पाताले छाँगो ४० वर्षका लागि महानगरले निजी कम्पनीलाई दिने सम्झौताविरुद्धमा परेको रिट उच्च अदालतले खारेज गरिदिएको छ । मंगलबारको दुवै पक्षका वकिलले आफ्नो दाबीसहित बहस गरेपछि अदालतले रिट नै खारेज गरिदिएको हो । न्यायाधीशद्वय रमेश पोखरेल र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले सम्झौता कानुनविपरीत नभएको भन्दै रिट खारेज गरिदिएको रजिस्ट्रार श्रीलाल पौडेलले जानकारी दिए । उनकाअनुसार फैसलाको पूर्ण पाठ भने सार्वजनिक भएको छैन ।
‘निवेदकहरुले जे माग राख्नुभएको थियो । जुन आधारमा सम्झौता खारेज हुनुपर्छ भन्नुभयो, त्यो तत्कालै अदालतले आदेश गरेर काम रोक्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘अदालतको नजरमा सम्झौता कानुन विपरीत भएन । पूर्ण पाठ आएको छैन । निवेदन दाबी नपुगेकोले खारेज गरिएको हो । डिटेल आधार र कारण पछि आउँछ ।’ २१ दिनभित्र फैसला तयार गर्न पाउने व्यवस्था छ । रिटमा निवेदकको तर्फबाट अधिवक्ता सविन तिवारी र वरिष्ठ अधिवक्ता तिलक पराजुलीसहित ९ जनाले बहस गरेका थिए भने विपक्षीको तर्फबाट सेती क्यानोनका राजेश्वर श्रेष्ठ र सन्तोषकुमार महतो तथा पोखरा महानगरको तर्फबाट कमल अर्यालले बहस गरेका थिए ।
अधिवक्ता सविन तिवारीसहित देवका तिमिल्सिना, अस्मिता तिवारी र मिलन सुवेदीले महानगर र ठेकेदार कम्पनीलाई विपक्षी बनाएर साउन तस्रो साता रिट दर्ता गराएका हुन् । फेवा सिल्ट्रेसनविरुद्ध भने शिवबहादुर अधिकारी र मीनबहादुर बस्नेतले निवेदन दर्ता गराएका थिए । यसमा सिल्ट्रेसनको पक्षमा विष्णु अधिकारीले बहस गरेका थिए । २०७५ फागुन २० गते मनसायपत्र मागेर लामो अध्ययनपछि २०७७ चैत १७ को कार्यपालिका बैठकले सेती क्यानोनलाई पाताले छाँगो र सेती खोंच ठेक्कामा दिने निर्णय गरेको थियो । त्यही निर्णयलाई टेकेर साउन दोस्रो साता प्रमुख प्रशासकीय अधिकृत महेश बराल र सेती क्यानोनका अध्यक्ष कर्केनकुमार गुरुङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
सेती खोंचमा पर्यटकीय पूर्वाधार निर्माण र पाताले छाँगोमा सिसा पुल निर्माण गर्ने सम्झौता छ । सम्झौतापत्र अनुसार सेती खोंचमा निजी कम्पनीले १ अर्ब ६१ करोडभन्दा बढी लगानी गर्ने सहमति छ भने पाताले छाँगोमा ६५ करोडभन्दा बढी लगानी हुने बताइएको छ । सेती नदीको गाईघाटदेखि दोबिल्लासम्मको ८ दशमलव ६८ किलोमिटर क्षेत्र र पाताले छाँगोदेखि फेवा बाँधसम्मको डेढ किलोमिटर क्षेत्र निजी कम्पनीलाई दिने सम्झौता गरिएको छ । फेवाताल सिरानमा भने खोलाहरुबाट बगेर आउने ढुंगा‚ गिटी‚ बालुवा ड्याम बनाएर निकाल्ने योजना छ । लामो समयका लागि दिइने ठेक्का पोखराको हितमा नभएको भन्दै रिट दर्ता भएको हो ।
सम्झौताअनुसार २ वर्षभित्र डिपिआर बनाउने र त्यसपछिको ५ वर्षमा पूर्वाधार निर्माण गरिसक्ने योजना छ । सेती खोंचको आयोजनाबाट अवधि छुट्याएर आम्दानी तोकिएको छ । सुरुको ५ वर्ष ५० लाख रुपैयाँ र आम्दानीको थप ५ प्रतिशत महानगरलाई दिने उल्लेख छ । ६ देखि १० वर्षसम्म ७५ लाख, ११ देखि १५ सम्म १ करोड, १६ देखि २० सम्म १ करोड २५ लाख, २१ देखि २५ सम्म १ करोड ५० लाख, २६ देखि ३० सम्म १ करोड ७५ लाख र ३० देखि ४० वर्षसम्म २ करोड वार्षिक र थप ५ प्रतिशत आम्दानी दिनुपर्छ । सेती खोंचमा क्यान्टिलिभर पुलसहित ठाउँठाउँमा रेस्टुरेस्ट, उद्यानहरु निर्माण हुनेछन् भने पाताले छाँगोमा सिसाको पुल राख्ने र फेवातालसम्म क्रुज चलाउने योजना छ । विज्ञहरुले चाहिँ दुवै क्षेत्र संवेदनशील भएकोले ठूला संरचना नबनाउन सुझाव दिएका छन् । महानगरले विज्ञको सुझाव विपरीत सम्झौता गरेको हो ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width