प्रधानमन्त्रीसहितको टोली बाढी प्रभावित क्षेत्रमा

आदर्श समाज सम्वाददाता
कार्तिक ४, २०७८
pm deuba anugaman

डोटी ।  प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।

बाढीबाट प्रभावित भएकालाई सरकारले राहत दिने तथा बाढी–पहिराले घर भत्किएकाहरूको घर निर्माणका लागि आर्थिक सहयोग दिने प्रधानमन्त्री देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “बाढी प्रभावितको स्वास्थ्योपचारदेखि आवास निर्माणमा सरकारले सहयोग गर्नेछ, विपत्तिका बेला सबैले सहयोग गर्न आवश्यक रहेको छ, तपाइँहरूले प्रभावितलाई चुस्त रूपमा सेवा दिनुहोला ।”

आज बाढी प्रभावित क्षेत्र सुदूरपश्चिमको डोटी आइपुग्नुभएका प्रधानमन्त्री देउवाले यहाँका बाढी प्रभावित क्षेत्रका व्यक्तिहरूको उद्धार र राहातका लागि निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री देउवाको नेतृत्वमा आएको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आले एवं पूर्वमन्त्रीहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर हुनुहुन्छ ।

प्रधानमन्त्रीसहितको उक्त टोली बाढीबाट प्रभावित भएको सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको निरीक्षणका लागि जाने क्रममा अहिले दिपायल आइपुगेको हो ।

प्रधानमन्त्रीसहितको सो टोली आज बिहान काठमाडौँबाट सुर्खेत हुँदै दिपायल आएको हो । टोलीले यहाँका बाढीले क्षति गरेका स्थानको हवाई निरीक्षण गरेको थियो ।

प्रधानमन्त्री देउवासँगै निरीक्षणमा आउनुभएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आलेले बाढी–पहिरामा ज्यान गुमाएका, घरबारविहीन भएका नागरिकलाई सरकारी निकायबाट राहतसहित आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बाढी–पहिरापीडित नागरिकको साथमा सरकार छ, पीडित भएका नागरिकको समस्या समाधान सरकारले गर्नेछ ।”

सोही क्रममा मन्त्री आलेले बाढी–पहिराले अवरुद्ध भएका यहाँका राजमार्ग तथा ग्रामीण क्षेत्रका सडक सञ्चालनका लागि सम्बन्धित मन्त्रालयमार्फत निर्देशन भइसकेकाले तत्काल काममा खटिन कर्मचारीलाई पनि आग्रह गर्नुभयो ।

डोटीमा मात्रै बाढी–पहिराका कारण १४ जनाको ज्यान गइसकेको तथा एक जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिनुभएको थियो । सोही क्रममा प्रजिअ विष्टले जिल्लामा बाढी–पहिराले १३ जना घाइते, ३५ चौपाया मृत्यु, २५ घाइते तथा २० चौपाया बेपत्ता, घरधुरी ११०, विस्थापित नागरिक ५०० तथा दुईवटा झोलुङ्गे पुलमा क्षति भएको विवरण पेश गर्नुभएको थियो ।

बाढीको क्षतिबारे दिपायलमा जानकारी लिएर उक्त टोली बझाङ चैनपुर जाने कार्यक्रम तय भएको छ । यसैगरी उक्त टोलीले बझाङमा बाढी–पहिराले गरेको क्षतिका विषयमा अनुगमन तथा निरीक्षण गरी बैतडी र डोटीको सीमा क्षेत्र ढुङ्गाड जाने कार्यक्रम रहेको र ढुङ्गाडमा भएको क्षतिका विषयमा स्थलगत निरीक्षण गरी डडेल्धुरा सदरमुकाम पुग्ने बताइएको छ ।

आजै उक्त टोली जोगबुढाबाट कञ्चनपुर पुगी सदरमुकामका साथै त्यहाँका बाढी प्रभावित क्षेत्र दोधारा–चाँदनी, वह्मदेव क्षेत्रमा बाढीले गरेको क्षतिका बारेमा निरीक्षण अनुगमन गरी कैलालीको धनगढी फर्किने कार्यक्रम तय भएको छ । रासस

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width