सेलवेजको २९ औं शाखा शान्तिनगरमा

आदर्श समाज सम्वाददाता
असाेज २१, २०७८
saleways opening pic

पोखरा । सेलवेज डिपार्टमेन्टल स्टोरले पोखरा शान्तिनगरचोकमा २९ औं शाखा बिस्तार गरेको छ । बराल पेट्रोल पम्पसँगै रहेको व्यापारिक भवनबाट औपचारिक सेवा शुभारम्भ गरेको सेलवेज डिपार्टमेन्टल स्टोर र सेल्सबेरी डिपार्टमेन्टल स्टोर प्रालिका गण्डकी प्रदेश प्रमुख दयाल गिरीले जानकारी दिए । ‘शान्तिगर शाखा पोखराका लागि छैटौं तथा समग्रमा २९ औं शाखा हो,’ उनले भने, ‘यसको लागत करिब ८ करोड रुपैयाँ रहेको छ । यस नयाँ शाखामा खाद्य सामग्रीका सम्पूर्ण सामान बिक्रीमा रहनेछन् । स्थानीय उपभोक्ताका लागि तथा लेकसाइडका होटल तथा रेष्टुरेन्टका लागि आवश्यक पर्ने सबै सामग्री यो शाखामा पाइने उनले बताए ।
उनका अनुसार स्टोरको भुइँतलामा खाद्य सामग्री र सौन्दर्यका सामग्री राखिएको छ । पहिलो तलामा इलेक्ट्रोनिक सामग्री र दोस्रो तलामा आधुनिक फर्निचरका सामग्री राखिएको छ । शाखा शुभारम्भ अवसरमा १० प्रतिशतसम्म छुट व्यवस्था गरिएको छ भने फ्रि होम डेलिभरीको व्यवस्था समेत गरिएको छ ।
सेलवेजले सन् १९९३ देखि चिप्लेढुंगाबाट सामान्य खाद्य पसलबाट सेवा आरम्भ गरेको थियो । सेलवेजले देशका विभिन्न ठाउँबाट सेवा दिंदै आएको छ । निकट भविष्यमै पोखरा र लेखनाथका केही स्थानमा आउटलेट बिस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
विशेषतः सेलवेज डिपार्टमेन्टल स्टोरले पोखरा र काठमाडौंका विभिन्न स्थानका शाखाबाट सेवा दिंदै आएको छ । सेलवेज र सेल्सबेरीसहित शान्तिनगर शाखा पनि आमग्राहकको रोजाइमा पर्ने गिरिले बताए । पोखरामा हाल चिप्लेढुंगा, लेकसाइड, बिरौटा, भद्रकाली र बगरमा शाखा छन् ।
काठमाडौंमा सातदोबाटो, सीतापाइला, महाराजगञ्ज, चक्रपथ, झम्सिखेल, बत्तिसपुतली, इमाडोल, कोटेश्वर, लोकन्थली, नयाँबस्ती, पेप्सिकोला, मुलपानी, मैजुवहाल, ककनी, सुकेधारा, हात्तिगौंडा, धापासी, पुरानो बानेश्वर, मध्येबानेश्वर, बनेपा, बालुवाटार, भक्तपुर र भैंसेपाटीमा शाखा सञ्चालनमा छन् । पोखराको सेलवेज काठमाडौं सन् २००४ मा प्रवेश गरेको हो । २०१४ बाट सेल्सबेरीको नामबाट पनि शाखाहरू सञ्चालनमा आएका थिए । यी २ कम्पनी सिस्टर कम्पनीका रुपमा सञ्चालनमा रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले नयाँ वर्ष २०७९ सालबाट काठमाडौंको महाराजगञ्जमा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न मल सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । यता, लेखनाथमा नयाँ शाखा बिस्तारको तयारी पनि गरिएको प्रमुख व्यवस्थापक दयाल गिरिले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width