मायाको याचना

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७८
maya sarki~ (3)

पोखरा । पोखराबाट म्याग्दी जान हिडेका माया सार्कीको जोडी एकाएक आगोको मुस्लोभित्र घेरियो । यता जाऔं कि उता जाऔं विचल्ली भयो । आँखै अगाडि काखको छोरा जलेर खरानी भयो । हारगुहार गरे । अनकन्टार जंगलमा कसले गुहार सुन्ने ? उनीहरु भने ज्यान जोगाउन रुख चढे ।
यो कहालीलाग्दो घटना हो, आजभन्दा १३ वर्षअघिको । तपाईंलाई पनि हेक्का भयो या भएन ? म्याग्दीको बाबियाचौरको लामेलाको भिरमा लागेको आगोमा परेका एक दम्पतीको कथा ।
म्याग्दी बाबियाचौर डढुवा घर भई मजदुरीका लागि पोखरामा विपलाल सार्की र उनकी श्रीमती माया सार्की बस्दै आएका थिए । त्यसबेला विपलाल र माया २७ वर्षका लक्का जवान थिए । २ वर्ष अघिमात्र बिहे गरेका उनीहरुको साथमा पहिलो सन्तान छोरा थियो । छोरा बल्ल १ वर्षको पुगेको थियो ।
२०६५ साल फागुन महिना हो । त्यसबेला माया र विपलाल माइती/ससुराली जान भनी पोखराबाट हिडेका थिए । उनीहरुको साथमा उनै काखेबालक थिए ।
माइतीघर आइपुग्नु अघि डढुवाको लामेलाको भिर छिचोल्नु पथ्र्योे । माया त्यो दिन सम्झिन्छन्, ‘कसले जंगलमा आगो लगाइदिएका रहेछन् । भिरमा पनि लागेको थियो । त्यो छिचोल्दै अघि बढ्दा फेरि तलबाट लागेको आगोमा परियो । हामीहरु रुख चढेर ज्यान त जोगायौं । तर छोरो बचाउन सकिएन । आगोको मुस्लोमा परे ।’
माया बेहोस् बनिन् । उनको खुट्टा लगायत तल्लो भाग पूरै जलेको रहेछ । विपलाल सामान्य घाइते थिए । मायालाई हेली उद्धारमार्फत उपचारार्थ पोखरा हुँदै भरतपुर लगियो । केही साताको उपचारपछि उनी हिडडुल गर्न सक्ने त भइन् तर मजदुरी गरेर जीवन गुजारा चलाउने सार्की दम्पतीको अब अरुको भरमा बाँच्नुपर्ने अवस्था आइपर्‍यो । माया त्यसपछि अशक्त बनिन् । काम गर्न सक्दिनन् । जसोतसो परिवार धान्दै आएका विपलाल पनि अचेल पायल्सको बिरामी छन् । पहिलो छोरा गुमाएको कमजोर आर्थिक हैशियतको यो जोडीले त्यसपछि फेरि ३ छोरा र १ छोरीलाई यो धर्तीमा जन्म दियो ।
बावुआमा अशक्त बनेपछि सार्की दम्पती अचेल ३ छोरा साथमा लिएर पोखराका विभिन्न ठाउँमा माग्दै हिडेको देखिन्छ । तपाईंले पनि सायद बेलाबखत देख्नु हुन्छ होला । गत साता पोखरा लेकसाइडमा ३ छोरा अगाडि राखेर सहयोगको याचना गरेको अवस्थामा देखिइन्, माया ।
विश्वभर महामारीको रुपमा आएको कोरोनाले आर्थिक रुपमा विपन्न वर्गको यो परिवारलाई झनै सास्ती भयो । मायाका पति विपलाल भन्छन्, ‘श्रीमती काम गर्न सक्दिनन् । म पनि पायल्सको बिरामी छु । गाह्रोसाह्रो काम गर्न ज्यानले दिँदैन । छोराछोरी थपिए । कोरोनाले हामीलाई झनै समस्या भयो हजुर ।’
उनीहरु हाल ढुंगेसाँघु नजिकै पोखरा–१७, प्रगतिटोल बस्छन् । दोस्रो सन्तानको रुपमा उनीहरुले छोरी जन्माएका हुन् । छोरी ११ वर्षकी भइसकिन् । कान्छो छोरा (३ वर्ष) स्कूल भर्ना भइसकेका छैनन् । त्यसमाथिका ९ वर्षीय र ७ वर्षीय छोराहरु क्रमशः ४ र २ कक्षा पढ्छन् । उनीहरु सबै जानकी स्कुलमा पढ्छन् । गरिबीमा पनि सन्तोष रहेको आफ्नो सुन्दर फूलबारीमा आगो लगाउने को होलान् ? उनीहरुलाई अझै पनि जान्ने मन छ । छोराछोरी कसरी हुर्काउने र पढाउने भन्नेमै विपलाल र मायाको पिरलो रहेछ । कोही कसैले सहयोग गर्न चाहे ९८४६८१२४०२ (विपलाल) लाई फोन गर्न सक्नुहुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width