वडा विभाजनको माग गर्दै वडाबासीले हस्ताक्षर बुझाए

तोलाकान्त बगाले
असाेज ७, २०७७
Ward 14 (1)

वालिङ, ७ असोज । स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १४ का स्थानीयले वडा विभाजनको माग गर्दै हस्ताक्षर संकलन गरी बुझाएका छन् ।

अन्य वडाको तुलनामा वडा नं. १४ भौगोलिकरुपमा ठूलो र विकट भएको लगायतका कारणहरुले छुट्टै वडा कायम गर्न माग गर्दै नगर प्रमुख दिलिपप्रताप खाँणलाई प्रभावित क्षेत्रका एकहजार ६ जनाको हस्ताक्षर तथा भेलाले गरेका निर्णयहरु बुझाएका हुुन् ।

साविक वालिङ नपाको १० नं. वडा, थुमपोखरा गाविसको ५ वटा वडाहरु, कालिकाकोट गाविसको ३ वटा वडाहरुलाई गाभेर १४ नं. वडा कायम गरिएको र सो वडा भौगोलिकरुपले ज्यादै ठूलो भएकाले विकास निर्माणको काम लगायत सरकारी सेवा सुविधामा सरोकारवाला जनताको पहुँच पुग्न कठिनाई भएकाले वडा विभाजन गरी छुट्टै वडा कायम गर्न माग गरिएको वडा विभाजन संयोजन समितिका संयोजक कोपिल खाँणले बताए ।

“साविक वालिङ १०, थुमपोखरा ९ र कालिकाकोट २ को भौगोलिक क्षेत्रलाई समावेश गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद २ को दफा ५ र ६ को परिधिमा रही हालको वडालाई विभाजन गरी छुट्टै वडा कायम गर्न माग गरेका हौं” ।

वडाको केन्द्र अपायक स्थानमा रहेको, विकास निर्माणका काममा सम्बन्धित निकायबाट प्राप्त हुने स्रोत भौगोलिक क्षेत्रको आधारमा न्यून तथा अपूग हुन गएको, विकास निर्माणको काममा स्रोत वितरणको समानरुपमा हुन कठिनाई भएको, सरकारी सेवा सुविधाका लागि जनसङ्ख्याको चाप बढी भएको उल्लेख गरिएको छ ।

प्रस्तावित क्षेत्रका जनताको भाषिक, सामाजिक तथा सांस्कृतिकरुपमा समानता भएको, वडाको सबै भौगोलिक क्षेत्रमा राजनीतिक नेतृत्वको पहुँच समान र आवश्यकरुपमा पुग्न कठिनाई भएको र वडाको सबै क्षेत्रका जनताको दैनिकी सञ्चालनका लागि अत्यन्तै आधारभूत सेवा सुविधाहरुसमेत पुग्न कठिनाई भएको महशुष गरी सरकोरवाला जनताको संकलित हस्ताक्षर, भेलाले गरेका निर्णयहरु, प्रस्तावित भौगोलिक क्षेत्रको नक्सासहित नगर प्रमुख समक्ष निवेदन पेश गरिएको संयोजन समिति संयोजक खाँणले बताए ।

अन्य वडाको तुलनामा भौगोलिक दृष्टिले ठूलो र अपायक भएकाले वडाबासीले राखेका माग जायज भएको वडा अध्यक्ष झम्मरबहादुर श्रेष्ठले बताए ।

“वडामा आउने बजेटले भौगोलिक विकटताका कारण विकास निर्माण प्रक्रिया तथा वडाबाट प्रदान गरिने सेवा सुविधा लिनका लागि सेवाग्राहीलाई कठिनाई भएको छ” वडा अध्यक्ष श्रेष्ठले भने, “सम्बन्धित क्षेत्रका स्थानीयहरुले हस्ताक्षर संकलन गरी बुझाउनुभएको छ यसमाथि छलफल गरी आवश्यक निर्णय लिने छौं” ।
सम्बन्धित क्षेत्रका स्थानीयहरुले विभिन्न कारणहरुसहित नगरपालिकामा वडा विभाजनको माग गरेकाले नगरपालिकाले अबको प्रक्रिया थाल्ने नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।

“विभिन्न आठ वटा कारणहरुसहित वडा विभाजन गरी छुट्टै वडा बनाउन स्थानीयले माग गर्नुभएको छ” नगर प्रमुख खाँणले भने, “यस सम्बन्धमा अब नगरपालिकाले सम्बन्धित क्षेत्रमै पुगेर बैठक बसाल्ने र बहुमत नागरिकको धारणा जे आउँछ त्यही निर्णय नगरसभामा पेश गर्ने र नगरबाट पारित गर्ने छ” ।

नगरले पारित गरेको निर्णयलाई गण्डकी प्रदेश सभाबाट पारित भएमा केन्द्रमा जाने र केन्द्रले पारित गरेमात्रै वडा विभाजन हुने नगर प्रमुख खाँणले बताए ।

“अन्य वडाको तुलनामा भौगोलिक दृष्टिले ठूलो भएकाले पनि यस वडालाई अन्यको तुलनामा नगरबाट धेरै रकम विनियोजन गरिँदै आईएको छ” नगर प्रमुख खाँणको भनाई थियो ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width