जागिर र तलब ज्ञारेण्टी गर्न यूनियनको माग

आदर्श समाज सम्वाददाता
भाद्र १३, २०७७
Nepal_Press_Union

पोखरा । नेपाल प्रेस यूनियन गण्डकीले सबै पत्रकार र सञ्चारकर्मीलाई विभिन्न बहानामा मिडिया हाउसले निकालेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

प्रदेशका ११ वटै जिल्लाका यूनियनकर्मीहरुको भर्चुअल भेलापछि पत्रकार तथा कर्मचारीलाई जागिरबाट निकाल्नु अमानवीय र मिडिया मालिकको मनपरी भएको आरोप लगाएको छ ।

‘लकडाउनलाई देखाएर नियमित तलब नदिनु गलत छ । कुनै पनि बहानामा आफ्ना कर्मचारी र पत्रकारलाई जागिरबाट निकाल्ने र बेतलवी बिदामा बस्न बाध्य पारिएको घटनाप्रति यूनियनको गम्भीर ध्यानाकर्षण भएको छ,’ भेलापछि जारी अपीलमा भनिएको छ, ‘जागिर गुमाएका वा जागिर छोड्न बाध्य बनाइएका र नियमित पारिश्रमिक नपाएका सञ्चारकर्मीहरुको जागिर र तलब तत्कालै ज्ञारेण्टी गर्न सम्बन्धित सञ्चारमाध्यमसँग यूनियन गण्डकी प्रदेश जोडदार माग गर्दछ ।’

पत्रकार अप्ठ्यारोमा परेको बेला सम्बन्धित जिल्लाका पत्रकार महासंघले पनि प्रभावकारी समन्वय गर्न नसकेको भन्दै यूनियनले रिपोर्टिङमा निस्किने पत्रकारलाई सुरक्षित वातावरण सिर्जना गर्न आग्रह गरेको छ । पत्रकारिता पेशाप्रति प्रदेश र स्थानीय सरकार अनुदार भएको यूनियनको आरोप छ । ‘पत्रकारिता पेशाप्रतिको निर्मम संकट समाधानको लागि आवश्यक सहयोग गर्न स्थानीय सरकार र प्रदेश सरकारसँग जोडदार माग गर्दछ,’ अपिलमा भनिएको छ, ‘सबैजसो क्षेत्रमा सरकारले सहुलियत दिईरहेको अवस्थामा मिडियाको संरक्षणमा सरकारको सहयोग पुगेको छैन । सबैखाले सञ्चार माध्यमलाई सहुलियत ऋण वा लोककल्याणकारी विज्ञापनको अवधारणा अनुसार प्रदेश र स्थानीय सरकारले सहयोग गरोस् ।’

पाँचबुँदे सो अपिलमा जोखिममा रहेका पत्रकारको सहज पिसिआर गर्न र संक्रमण पुष्टी भएकाको उपचारमा सहयोग गर्न सरकारसँग माग गरिएको छ भने पत्रकारलाई पेशामै टिकाईराख्न लेखनबृत्ति र तालिम लगायनका कार्यक्रम सञ्चालन गर्न पत्रकार महासंघसँग आग्रह गरेको छ ।

कोरोनाको असर नियमित थपिँदै गएको र पत्रकारिता पेशामा गम्भीर संकट आएकोले त्यसको निराकरणका लागि आवाज बुलन्द गरिएको युनियनका प्रदेश संयोजक प्रदीप काफ्लेले बताए ।

यूनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले पत्रकार महासंघको चुनावको तयारी गर्न सबैलाई निर्देशन दिए । ‘महासंघको चुनावको मिति तोकिएको छ । अब हाम्रो ध्यान त्यसमा केन्द्रित हुनुपर्छ । आवश्यक रणनीति बनाएर धेरै ठाउँमा जित्ने अवस्था सिर्जना गर्नुस्,’ जिल्ला र प्रदेशलाई निर्देशन दिँदै उनले भने, ‘आवश्यक्ता अनुसार केन्द्रले सहयोग गर्न तयार छ ।’ उनले प्रेस यूनियनको महाधिवेशनको तयारी पनि भैरहेको सुनाए । ‘यो समितिको कार्यकाल लामो भैसक्यो । अब धेरै पर सार्नु हुन्न,’ उनले भने, ‘कसरी हुन्छ महाधिवेशन गर्नुपर्छ । ब्यालेटबाट गर्ने वा डिजिटल गर्ने भन्ने सल्लाह भैरहेको छ ।’

बैठकमा १० जिल्लाका प्रेस युनियन र पत्रकार महासंघका अध्यक्ष तथा प्रतिनिधिले जिल्लागत विवरण प्रस्तुत गरेका थिए ।

युनियन केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, पूर्व उपाध्यक्ष गंगाधर पराजुली लगायतले प्रेस युनियनको सक्रियतामा ख्याल गर्न सुझाए । बैठकको सञ्चालन युनियनका साविक गण्डकी अञ्चल संयोजक टंक अधिकारीले गरेका थिए भने केन्द्रिय सचिव केवी रानाले धन्यवाद दिएका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width