प्रदेश भन्छ – लकडाउन होइन, कडाइ गरौं

प्रकाश ढकाल
भाद्र २, २०७७
Lockdown

पोखरा । कोरोना संक्रमण जति बढे पनि अर्थतन्त्रको संकटलाई अघि सारेर गण्डकी प्रदेश सरकार लकडाउन दोहो¥याउने पक्षमा छैन ।

सार्वजनिक कार्यक्रमहरुमै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अब लकडाउन गर्न नसकिने बताउँदै आएका छन् । लकडाउनले प्रदेशमा दैनिक ३८ करोड नोक्सान हुने २ महिनाअघिको अध्ययनले देखाएको छ । त्यसैले लकडाउनको विकल्प खोजेर कोरोना संक्रमण पार लगाउने पक्षमा प्रदेश सरकार छ ।

तर जिल्ला र स्थानीय सरकार भने केही समय लकडाउन गर्नुपर्ने बताउँछन् । गोरखामा भदौ ७ सम्म लकडाउन निर्णय भएको छ । स्याङ्जामा पनि हाल निषेधाज्ञा नै जारी छ । पोखरा महानगरले पनि सोमबार रातिदेखि लकडाउन गर्ने निर्णयसहितको सिफारिस जिल्ला प्रशासन कार्यालय कास्कीमा बुझाएको छ ।

स्थानीय तहहरुले धमाधम लकडाउन निर्णय गरेपछि प्रदेशस्तरीय कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी उच्चस्तरीय समितिले भीडभाड कम गर्दै धेरै भेला हुने कार्यक्रममा कडाइ गर्ने निर्णय गरेको छ ।

नौबुँदे निर्णय गर्दै समितिले हालसम्मको प्रयासलाई कायम राख्दै थप प्रभावकारी काम गर्ने जनाएको हो । अति आवश्यक काम नपरी घरबाहिन ननिस्किन नागरिकलाई आग्रह गरिएको छ भने अत्यावश्यक परे स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डको पालनालाई अनिवार्य गरिएको छ । यसको निगरानी स्थानीय प्रशासन र सुरक्षा निकायले गर्ने छन् ।

आसन्न चाडबाडका सार्वजनिक कार्यक्रम रोक लगाइने भएको छ । कोरोनाको उपचार सकेर डिस्चार्ज हुनेहरुको अनिवार्य पिसिआर गरेर नेगेटिभ नतिजा आएमात्रै घर पठाउनुपर्ने, पोखरा महानगरपालिकाभित्र स्वाब परीक्षणलाई थप प्रभावकारी बनाउन महानगरपालिका र स्वास्थ्य निर्देशनालयको संयुक्त टोली परिचालन गर्ने, प्रदेशको प्रवेश बिन्दुमा राखिएका सुरक्षा निकायका चेक पोइन्टहरुमा हुने चेकजाँच थप प्रभावकारी बनाउने निर्णय पनि भएको छ । प्रदेश छिर्नेहरुको नाम, सम्पर्क नम्बर अनिवार्य गरिएको छ भने सम्भव भए फोटो समेतको विवरण राख्नुपर्ने छ । बैठकले कोरोनाका कारण मृत्यु हुनेहरुको शव व्यवस्थापन गर्न जिल्लास्तरीय समितिले उपयुक्त ठाउँ तोक्नुपर्ने छ । सामाजिक विकास मन्त्रालयबाट आइसोलेसन कक्षको व्यवस्थापनमा हालसम्म भएको खर्च विवरण मुख्यमन्त्री कार्यालयमा पठाउने निर्णय पनि गरिएको छ ।

भयावह अवस्था छैनः मुख्यमन्त्री

गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लकडाउन नै गर्नुपर्ने अवस्था नरहेको बताए ।

‘होहल्ला गरेजस्तो संकट चाहिँ छैन, पोखरामा । टेष्ट गरेको ४ प्रतिशतमात्रै संक्रमित छन्,’ उनले भने, ‘५० प्रतिशत संक्रमित भए पो डरलाग्दो हुन्छ । कोठामा बस्नेहरु डराउने हुन् । व्यवसायीहरुले खोल्नुपर्छ भनेर दबाब दिइरहनुभएको छ ।’ उनले भदौ २ गते रातिदेखि ७ गतेसम्म केही कडाइ गर्ने बताए । ‘चाडबाडको समय छ । भोजभतेर खाने, ओहोरदोहोर गर्न पाइन्न । मूलरुपमा सार्वजनिक गाडी नचल्ने र भीडभाड नगर्ने भनेका छौं,’ उनले भने । निषेधाज्ञाकै कानूनमा टेकेर मापदण्ड बनाए पनि पूर्ण निषेधाज्ञा भने हुने छैन । यसको मापदण्ड आन्तरिक मामिला मन्त्रालयका सचिव र कास्कीका प्रमुख जिल्ला अधिकारीले तय गर्ने छन् । मुख्यमन्त्री नै सार्वजनिक कार्यक्रममा भीडभाडका साथ भेला भएको भन्दै केही विरोध पनि भैरहेको छ । तर उनले बिनाकाममा आफूले कुनै भिड नगरेको बताए । ‘पहिरोको कुरा आउँछ जानै पर्‍यो । अस्पतालमा जानुपर्छ । भीडभाड त हुन्छ नि । अरुले विरोध गरेकोमात्रै हो । आफैले भीड गरेर कार्यक्रम गरेको छैन,’ उनले भने ।

लकडाउन त अब हुँदै हुन्नः अर्थमन्त्री

गण्डकी प्रदेश अर्थमन्त्री तथा कोभिड नियन्त्रण प्रदेशको उच्चस्तरीय समिति संयोजक किरण गुरुङ पहिलेजस्तो लकडाउन गर्न नहुने तर्क गर्छन् ।

‘विकास निर्माणका काम अगाडी बढाउने, उद्योग कलकारखाना चलाउने, व्यवसाय पनि खोल्ने । आमरुपमा भेला हुने कार्यक्रमहरु निषेध गर्ने गरेर मोडालिटी बनाउनुपर्छ,’ उनले भने, ‘जति नै गाह्रो भएपनि अर्थतन्त्र चलायमान बनाएर अघि बढाउनुपर्छ । पुरै घरभित्र बस्ने भन्ने चाहिँ अब सम्भव छैन ।’ उनले प्रदेशको घाटा बढ्दै गएकोले आर्थिक गतिविधि खुला गर्ने गरी मोडालिटी तयार गर्नुपर्ने बताए । ‘निजी क्षेत्र तहसनहस भएको छ । हाम्रो राजश्वको मुख्यस्रोत नै निजी क्षेत्र हो ।

त्यसैले समुदायमै कोरोना गएपनि खानुपर्छ । बाँच्नुपर्छ । सरकारको बजेट भनेकै अब आम्दानी गरेर खर्च गर्ने हो,’ उनले अघि थपे, ‘खर्चको पैसा नै संकलन गर्न सकेनौं भने त्यसको प्रभाव अर्थतन्त्रमा पर्छ । पैसा हुँदैन । सबै पैसा जाम भएर बस्छ । बाकसमा पैसा जम्मा भएर बस्छ । अर्थतन्त्र त चलायमान हुनुपर्छ । नत्र त पैसा नै ढुंगामाटोसरह हुन्छ नि ।’ उनले भीडभाड नगरी सुरक्षित ढंगले मापदण्ड अपनाएर काम गर्न पाइने बताए ।

महानगर सटडाउन गर्छौंः मेयर

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सटडाउन नै गरेर जाने बताए । ‘महानगरले गरेको निर्णयकै आधारमा कम्तीमा २४ घण्टा मागे । भोलि रातिदेखि पोखरा सटडाउन हुन्छ । महानगरपालिका चाहिँ पुरै सिज गर्छौं ।

यातायात सबै बन्द हुन्छ । बन्द व्यापार सबै बन्द हुन्छ । महानगर र जिल्लास्तरीय सबै कार्यालयहरु बन्द हुन्छन् । प्रदेशका कार्यालय हामीले केही गर्न मिल्दैन,’ उनले भने, ‘हाम्रो र प्रदेशको कुरा त मिल्यो तर अर्थमन्त्रीज्यू अर्थतन्त्र रोक्न हुन्न भन्नुहुन्छ । महानगरको कुरा प्रदेशले बुझेन । हामी सटडाउन नै भनेर जान्छौं । जिल्लास्तरीय बैठकबाट यो निर्णय हुन्छ । हाम्रो ठाउँमा हाम्रो निर्णय हुनुपर्छ ।’ पोखरा महानगरपालिकाले महानगर लकडाउन गर्ने गरी जिल्लामा सिफारिस गरेको थियो । त्यसकै आधारमा सोमबार प्रदेशस्तरीय बैठक बसेको हो । बैठकमा सबै सुरक्षा निकाय र सरोकारवाला प्रमुखहरुले ब्रिफिङ गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width