पोखरा । डुङ्गामात्रै थियो, आमा छोरीको दैनिकीको भर । दिनभरि डुङ्गा खियाउने र घरखर्च टार्ने दिनहुँको मेलो हो । सरकारले गरेको लकडाउनपछि पर्यटक पोखरा भित्रिएनन् । पोखरामै भएकाहरु पनि डुङ्गामा टेक्नै छोडे । सुरुमा सरकारले राहत दिएको थियो । दुईजना मात्रै भएकोले अलि दिन त्यसैले छाक टर्यो । अहिले घरमा अन्नको गेडो पनि छैन ।
दश वर्षदेखि डुङ्गा खियाएर जीवन धान्दै आएकी लक्ष्मी नेपालीलाई कोरोनाले साह्रो पारेको छ । ‘दैनिक काम गरेर गर्जो टार्नेलाई त साह्रै गाह्रो पो हुने रहेछ । सुरुमा अलि–अलि राहत पनि दिएको थियो,’ उनले भनिन्, ‘अहिले त त्यो पनि छैन । आजभोलि न काम छ, त दाम आउछ ।’ व्यवसाय खोल्न दिए खान लाउन सजिलो हुने उनको आशा छ । उनले लकडाउनपछि तरकारीको व्यापार पनि गरिन् । धेरै उधारो जान थालेपछि त्यो व्यापार पनि चौपट भयो । ‘साँवा पनि उठेन । सबैले उधारो लैजाने अनि पैसा नतिर्ने,’ उनले अघि भनिन्, ‘त्यसपछि तरकारी राख्नै छोडिदिएँ । ज्यामी काम खोजेको पनि पाइएन । सरसापटी गरेर घर चलाइरहेको छु । अब सकिँदैन ।’
दीपेश परियारले पनि डुङ्गा नछोएको ५ महिना बढी भयो । दिनदिनै धेरै यात्रु सयर गराउने उनलाई अहिले त न्यास्रो लाग्न थालिसकेको छ । बेलाबेला बिहानपख गएर वर्षात्ले भरिएको डुङ्गाको पानी बाहिर फाल्छन् । त्यत्तिकै घर फर्किन्छन् । त्यतिमात्रै होइन, खर्चको जोहो गर्न पनि गाह्रो भएको छ । भन्छन्, ‘लकडाउनले तल्लो लेबलको परिवारलाई निकै मर्का परेको छ । डुङ्गा खियाएर पेट पालेकाहरु अहिले लेवरको काम गर्न थालेका छन् । यस्तो बेला गुहार्ने भनेको सरकारलाई नै हो ।’
विश्वभर कोरोना भाइरस (कोभिड–१९) प्रभावका कारण पोखराको पर्यटन क्षेत्र ठप्प छ । पर्यटनबाटै धानिएको अर्को पेसा डुङ्गा साङ्लोले बाँधेर राखेको पनि झण्डै ५ महिना हुन लाग्यो । सरकारले अहिले केही गतिविधि खोले पनि डुङ्गा व्यवसाय खुलेको छैन । डुङ्गा ताल किनारमा साङ्लोले बाँधिएको छ भने दैनिकीमा पनि भोकको साङ्लो कसिएको छ, डुङ्गा व्यवसायीहरुको ।
व्यवसायी मर्कामा परेपछि फेवा डुङ्गा व्यवसायी समितिले सामाजिक दूरी कायम गरेर सुरक्षा अपनाउँदै सेवा सुरु गर्ने तयारी थालेको छ । समिति अध्यक्ष बुद्धिबहादुर नेपालीले होटल, रेष्टुरेन्ट लगायत पर्यटकीय क्षेत्रहरु खुल्न थालेको डुङ्गा पनि सुरु गर्न लागिएको बताए । ‘होटल, रेष्टुरेन्ट खुलेका छन् । सार्वजनिक गाडी पनि चल्न थालेको छ । लामो दूरीको गाडी र विदेशी जहाज चल्न थालेपछि पर्यटक पनि आउलान्,’ उनले भने, ‘अब त हामी पनि सरकारले भनेको सुरक्षा अपनाएर व्यवसाय गर्नुपर्छ । सल्लाह गरिरहेका छौं ।’ व्यवसाय खोल्ने सरकारी निर्णय कुरेर बसिरहेको उनको भनाइ छ ।
कोरोनाकै समयमा डुङ्गा चलाउन र यात्रुको सुरक्षा कायम राख्न ५३ जनाले पर्यटन बोर्डबाट तालिम पनि लिएका छन् । ‘डुङ्गा चलाएरमात्रै हुँदैन । यात्रुलाई सुरक्षित पनि राख्नुपर्छ र आफू पनि सुरक्षित हुनुपर्छ,’ समितिका कोषाध्यक्ष बुद्धिनाथ पाण्डेले भने, ‘हाम्रा व्यवसायीलाई तालिम दिएका छौं । फेवातालमा डुङ्गा चढ्दा सबै सुरक्षा अपनाउन सक्छौं ।’ लकडाउन खुले पनि कोरोना संक्रमित बढ्न थालेपछि पोखरामा खुलेका होटल समेत बन्द हुन थालेका छन् । डुङ्गा सयर गराउन तयारी सकेका व्यवसायीहरु फेरि अन्यौलमा परेका छन् । कमजोर अवस्थामा रहेका व्यवसायीहरु झनै मर्कामा पर्ने पक्का छ ।
Related News
सम्बन्धित समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
पोखराको गन्नीलाई रनिङ सिल्ड
hero news full width
मुख्य समाचार
लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१कन्टेनरमा बजारिएर दुई टुक्रा भयो, अनि आगो लाग्यो
श्रावण ९, २०८१सौर्य एयर दुर्घटनामा १८ जनाको मृृत्यु
श्रावण ९, २०८१त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना
श्रावण ९, २०८१