सरकारीमा बोर्डिङसरहकै पोशाक !

प्रकाश ढकाल
असार १७, २०७७
IMG_0624

पाेखरा । भूकम्पले ढलेका संरचना अझै उठिसकेका छैनन् । विद्यार्थीको पढाइ टिनको छाप्रोमुनि हुन्छ । कोरोनाका कारण देश लकडाउनमा भएपछि स्कूलमा झाडी छ ।

तर मंगलबार विद्यार्थी लिएर अभिभावक स्कूल आए । आकाशे रंगको सर्ट र नीलो पाइन्ट लगाएर आएका थिए विद्यार्थी । ड्रेस नभएकाहरु अरु नै कपडामा थिए । सर्ट पाइन्ट लगाए पनि कतिपयले पहिलो पटक टाई र जुत्ता देखेका थिए । नीलो पाइन्ट र आकाशे रंगको सर्ट छोडेर मंगलबारदेखि उनीहरु रातो पाइन्ट र उस्तै सर्टमा सजिए। झट्ट हेर्दा बोर्डिङ गएजस्तो पहिरन थियो । विकट गाउँ, विपन्न विद्यार्थी । टाई, जुत्ता र पेटी लगाएर झोलामा किताब हाल्नेहरु बोर्डिङका विद्यार्थीमात्रै हुन्छन् भन्ने सोच अब पुरानो भयो।

गोरखाको शहीद लखन गाउँपालिका ६, दार्चेस्थित पीपलापोखरी आधारभूत विद्यालयका सबै विद्यार्थीलाई पोखरा महानगरपालिकाले पोशाक र शैक्षिक सामग्री सहयोग गरेको छ।

पोखरा महानगरले गोरखाको शहीद लखन गाउँपालिका ६, दार्चेको पिपलापोखरी स्कूलमा शैक्षिक सामग्री र पोशाक सहयोग गरेको छ ।

महानगरका मेयर मानबहादुर जिसी आफै पुगेर विद्यार्थीलाई सामग्री हस्तान्तरण गरेका हुन् । झोला, जुत्ता, सर्ट, पाइन्ट, टाई, बेल्टसहित अन्य सामग्री हस्तान्तरण गरिएको हो । विद्यालयका ७५ जना विद्यार्थीलाई शैक्षिक सामग्री र पोसाक हस्तान्तरण गरिएको महानगरले जनाएको छ।

सामग्री हस्तान्तरण गर्दै मेयर जिसीले विकटका विद्यार्थीको मनोवल उकास्न महानगरले सहयोग गरेको बताए । ‘गोरखा यसै पनि विकट जिल्लाको रुपमा छ । पूर्वाधारहरु छैन । शैक्षिक क्षेत्र पनि मजबुद देखिएन,’ उनले भने, ‘विद्यार्थीमा शिक्षाप्रति थोरै भए पनि आकर्षण बढोस् भन्ने उद्देश्यले सहयोग गरिएको हो । सरकारी विद्यालयका विद्यार्थी पनि बोर्डिङभन्दा कमजोर छैनन् भन्ने उदाहरण यहाँका विद्यार्थीले दिन सकून्।’

उनले भौतिक संरचनासँगै शैक्षिक गुणस्तर उकास्न विद्यालय प्रशासनलाई आग्रह गरे । ‘जति राम्रा भवन भए पनि पढाइ राम्रो भएन भने अर्थ छैन । विद्यार्थी चिटिक्क बनेर स्कूल आएपछि त्यो अनुसारको वातावरण स्कूलमा पनि हुनुपर्छ,’ उनले भने, ‘विद्यार्थी र शिक्षकबीचको दूरी घटाउनुपर्छ । विद्यालयमै विद्यार्थीलाई टिकिराख्ने अवस्था सिर्जना स्कूल प्रशासनले मिलाओस्।’

उनले पीपलापोखरी विद्यालयमा बढेर उच्च शिक्षाका लागि पोखरा आउने विद्यार्थीलाई विभिन्न ठाउँमा अध्ययनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए।

सामग्री लिएपछि विद्यालय प्रधानाध्यापक डिल्लीराम रेग्मीले महानगरको सहयोगप्रति धन्यवाद दिए । ‘महानगरले स्कूललाई सहयोग गर्नु नै हाम्रो लागि अहोभाग्य हो,’ उनले भने, ‘यही हिसाबको सम्बन्ध आगामी दिनमा पनि कायम रहने विश्वास लिएको छु।’

सहयोग हस्तान्तरणमा मेयरका स्वकीयसचिव लक्ष्मण तिमिल्सिना, पत्रकार सागरराज तिमिल्सिना लगायत पनि विद्यालय पुगेका थिए । यसको संयोजन पत्रकार प्रकाश ढकालले गरेका हुन्।

सरकारले निर्देशन जारी गर्नेबित्तिकै विद्यालय खुलाउने तयारीमा शिक्षक छन् । तर अधिकांश स्कूलहरु क्वारेन्टाइन बनाइएका कारण अहिले नै खुल्ने र पढाइ हुने सम्भावना भने छैन।

गाउँपालिकाको अवलोकन
सोही अवसरमा मेयर जिसीले शहीद लखन गाउँपालिकाको अवलोकन समेत गरेका छन् । उनले दुई स्थानीय तहबीच सहयोग आदानप्रदानका लागि चरणबद्ध छलफल गर्ने र उपयुक्त कार्यक्रम गर्न तयार रहेको बताए । गाउँपालिका अध्यक्ष रमेश थापाले पर्यटन र कृषिमा सहयोग गर्न आग्रह गरेका छन्।

पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई मंगलबार गाउँपालिकाको चिनो प्रदान गर्दै गोरखाको शहीद लखन गाउँपालिका अध्यक्ष रमेश थापा।

‘हाम्रो गाउँपालिकामा मनकामना मन्दिरदेखि प्रथम शहीद लखन थापाको स्मारक समेत छन् । भीमसेन थापाले बनाएका पुरातात्विक सम्पदाहरु पनि छन्,’ उनले भने, ‘तर यसको पर्याप्त प्रचार हुन सकेको छैन । पोखरा आइपुगेका पर्यटकलाई हाम्रो गाउँपालिकासम्म पठाउने वातावरण भैदिए यहाँको पर्यटनले फड्को मार्नेछ ।’ उनले गाउँपालिकामा उत्पादित कृषिजन्य उत्पादन बिक्रीका लागि पोखरामा बजार ब्यवस्थापन गरिदिन पनि अनुरोध गरे।

‘यहाँ अर्गानिक उत्पादन हुन्छ । तर किसानको खेतबारीमै कुहिएर सकिन्छ । उता पोखरामा भारतका तरकारी ल्याएर बेच्नुपरेको छ,’ उनले भने, ‘बरु हामी यहाँबाट संकलन गरेर पठाउँछौं । पोखरामा बेच्ने बजार मिलाइदिनु होला । यसले दुवै स्थानीय तहलाई फाइदा पनि हुन्छ।’

मेयर जिसीले पनि कृषिजन्य उत्पादनको गुणस्तर मापन गरेर पोखरा भित्र्याउन सकिने बताए । ‘पहिले छलफल गरौं । के–केमा सहयोग गर्न सक्छौं, त्यो पहिचान गरौं,’ उनले भने, ‘यहाँको उत्पादन पोखरामा बेच्न कुनै आपत्ति छैन । पर्यटकीय क्षेत्रको प्रचारका लागि पनि विशेष कार्यक्रम बनाऔंला।’

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width