मनिपालमा मनपरि, कर्मचारीलाई तलव खुवाउन बिरामीलाई चर्काे शुल्क

प्रकाश ढकाल
असार १२, २०७७
IMG_0523

पोखरा । गण्डकी प्रदेशकै उपकरणसम्पन्न र दक्ष चिकित्सक रहेको मणिपाल शिक्षण अस्पतालले उपचार खर्च बढाएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण बिरामी घटेको भन्दै टिकटदेखि डाक्टरको शुल्कमा समेत भारी वृद्धि गरिएको हो।

आर्थिक अभाव देखाएर अस्पतालले ५ सय प्रतिशतसम्म मूल्यवृद्धि गरेको हो ।

अस्पतालले १ सय रुपैयाँको टिकटलाई ५ सय  प्रतिशत वृद्धि गरी ६ सय रुपैयाँ बनाएको छ । अस्पतालले भने टिकट बुकको छपाईमा भएको महँगीले थप १ सय लिइएको र बाँकी ४ सय डाक्टरको शुल्क तोकिएको जनाएको छ । डाक्टरले लिने अपरेशन चार्ज २ हजार १ सय बाट बढेर ३ हजार ४ सय ९५ पुगेको छ भने सिटी स्क्यानको ७ सय ९० रुपैयाँ मूल्यवृद्धि भएको छ । इको चार्ज ५ सय रुपैयाँ बढाइएको छ भने रेनोन फङ्सन टेष्ट (आरएफटी) मा १ सय २० बढी तिर्नुपर्ने भएको छ । अस्पतालले दर्जनभन्दा बढी शीर्षकमा शुल्क वृद्धि गरेको हो।

सामान्य समयमा १ हजारभन्दा बढीले ओपीडी सेवा लिने गरेकोमा कोरोनाका कारण अहिले २ सय हाराहारीमात्र मात्रै बिरामी अस्पताल जाउने गरेका छन् । अन्तरंग सेवाका बिरामी पनि आधाभन्दा कम भएका छन्।

मेडिकल कलेजमा विद्यार्थीको कोटा समेत घटेपछि आर्थिक चाप बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ । यसअघि १ सय ५० जना विद्यार्थी पढाइ हुने मणिपालमा सरकारले १ सय जनाको कोटा तोकी दिएको हो । चौतर्फी रुपमा नोक्सानी बढेपछि उपचारका केही शीर्षकमा मूल्य बढाउनुपरेको अस्पतालका मानव संशाधन प्रमुख भानु भारध्वाजले बताए।

मूल्य बढे पनि सरकारी अस्पतालभन्दा मणिपालकै उपचार सस्तो रहेको दाबी

मूल्य बढे पनि सरकारी अस्पतालभन्दा मणिपालकै उपचार सस्तो रहेको उनले दाबी गरे । ‘गरीबदेखि धनीसम्म सबैले उपचार गर्न सक्छन् । कोभिडका कारण मणिपालमा ओपिडीका बिरामी घटेका छन् । अरु बिरामी पनि ५ सयबाट घटेर २ सयमा झरेको छ । यस्तोमा खर्च धान्न मुश्किल परेको छ,’ उनले भने, ‘कर्मचारीको तलब कटौती गर्नु भएन । बरु केही शुल्क बढाएर रकम जुटाउन लागेको हो । ठूलो वृद्धि गरिएको छैन । कतैकतै सानो बढाएका छौं ।’ चार महिनामा मणिपालको आर्थिक स्थिति खराब भएको उनको भनाइ छ।

मणिपाल अस्पतालमा उपचारका लागि पुगेका बिरामीसँग लिइएको टिकट बुक ।

खर्च बढी हुने डिपार्टमेण्टको मात्रै मूल्य बढाएको उनले दाबी गरे । ‘इक्प्युपमेन्ट महँगो छ । भोलि के हुन्छ थाहा छैन । पहिलो प्राथमिकता बिरामी र आफ्नो कर्मचारीको हेरचाह गर्ने दायित्व अस्पतालको हो । कोभिड बढ्दै गयो भने त अझै शुल्क बढाउनुपर्ने हुन सक्छ,’ उनले अघि भने, ‘पहिले शिक्षण क्षेत्रबाट आएको नाफा यता चलाउथ्यौं । अहिले त्यो अवस्था छैन । बाध्य भएर हो शुल्क बढाउनुपरेको हो । पैसा कमाउने लक्ष्य होइन ।’ मणिपालले उपचार गर्दा लाग्ने शुल्क बढाएपछि यता बिरामीहरु भने मर्कामा परेका छन्।

मूल्यवृद्धिप्रति अस्पतालकै कर्मचारीहरु समेत असन्तुष्ट

मूल्यवृद्धिप्रति अस्पतालकै कर्मचारीहरु समेत असन्तुष्ट छन् । ‘मेडिकल कलेजले आफूखुसी यसरी शुल्क बढाउन पाउँदैन । पढ्दै गरेका विद्यार्थीले बिरामी हेर्छन् । शुल्क चाहीँ दक्ष डाक्टरको भन्दा महँगो हुन्छ,’ एक कर्मचारीले भने, ‘यो शुल्क तत्काल खारेज गरिनुपर्छ । पहिलेकै दरमा उपचार गर्न पाउनुपर्छ ।’ महिना बितेको ११ दिन पुगिसक्दा समेत कर्मचारीले तलब नपाएको उनले सुनाए । ‘तलब दिएको छैन । शुल्क बढाएको छ,’ उनले भने, ‘मेडिकल कलेजमा यस्तो मनपरी गर्दा पनि सरकार किन मौन छ ? सरकारले एक्सन लिनुपर्छ।’

गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले मणिपाल संघको मातहत रहेकोले एक्सन लिने ठाउँ नभएको बताइन् । यद्यपि संघ सरकारको समन्वयमा अनुगमन गरेर गलत भेटिए कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ।

‘शिक्षा र स्वास्थ्यमा राज्यको आफ्नो लगानी भएन भने साह्रै गाह्रो हुने रहेछ । यो अस्पताल संघअन्तर्गत छ । हामीले भनेको टेर्दैन,’ उनले भनिन्, ‘तैपनि माथि समन्वय गरेर के रहेछ म बुझौंला । मनपरी गर्न त पाइएन नि !’ मन्त्री पुनले संकटको बेला केही अस्पतालमा कमाउधन्दा चलेको बताइन् । उनले कोरोना डेडिकेटेड अस्पताल गण्डकीबाट कुनै बिरामी अरु अस्पतालमा रिफर गरेर सरकारी दररेटमै उपचार गर्नुपर्ने बताइन् । तर पोखराका अरु अस्पतालहरुले बिरामीसँग आफ्नै शुल्क असुलिरहेका छन्।

एमबीबीएस पढाइका लागि सन् १९९४ सालमा पोखरामा मणिपाल शिक्षण अस्पताल खोलिएको हो । यसका लागि १९९२ सालमै नेपाल सरकार र मणिपाल शिक्षा तथा चिकित्सा ग्रुपबीच समझदारी भएको थियो । काठमाडौं युनिभर्सिटीबाट सम्बन्धनप्राप्त कलेज करिब १० हेक्टर क्षेत्रफलमा फैलिएको छ भने शुरुमा ४० विलियन भारतीय रुपैयाँ लगानी भएको थियो । कास्कीसहित गण्डकी प्रदेशका सबैजसो जिल्लाबाट बिरामीहरु उपचारका लागि यहाँ आइपुग्छन्।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width