आयातित तरकारी भान्सामा, स्वदेशी कुहिए खेतबारीमा   

रासस
असार ६, २०७७
RG-Bhaktapur

चाँगुनारायण नगरपालिका–९ ताथली सौडोलका किसान सानुभाइ गिरीले पाँच रोपनी क्षेत्रफलमा लगाएको बन्दाले बजार नपाएपछि बारीमा नष्ट हुँदै। तस्वीरः रमेश गिरी, रासस

नवलपुर, असार । पूर्वीनवलपरासीका किसानले उत्पादन गरेका लाखौँ मुल्य बराबरका तरकारीले बजार नपाउँदा बारीमै कुहिन थालेका छन् । लामो समयको लकडाउन केही खुकुलो भएपनि यहाँ उत्पादन भएको तरकारी जिल्ला बाहिर ढुवानी हुन नसक्दा कृषक चिन्तित बनेका छन्।

जिल्लामा उत्पादन हुने अधिकांश तरकारी नेपालगञ्ज, नारायणगढ, बुटवल, पोखरा, काठमाडौँलगायतका शहरमा बिक्री हुँन गर्दथ्यो । लकडाउन खुकुलो भएपनि यहाँका कृषकले उत्पादनलाई बजारसम्म पुर्याउन सकिरहेका छैनन् । जिल्लामा टमाटर, बोडी, घिरौँला, करेला, लौका, काँक्रा, फर्सी, चिचिन्डो, भिन्डी, सिमला मिर्च (क्याप्सिकन)लगायतका तरकारी धेरै उत्पादन हुने गरेको छ।

प्रतिव्यक्ति १० बिघासम्म बारीमा व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । मध्यविनदु नगरपालिका–३ लेढाका जुगतबहादुर थनेतले ३५ कठ्ठा क्षेत्रफलमा लगाएको घिरौँला, लौका, काँक्रा, टमाटरलगायतका तरकारीले बजार नपाएको गुनासो गरे। यस सिजनमा करिब रु चार लाख खर्च गरेको भएपनि तरकारी बिक्री नहुँदा घाटा हुने अवस्था आएको उनले बताए।

अघिल्लो वर्षमा खाद्यान्न बालीबाट भन्दा तरकारी खेतीबाट मनग्य आम्दानी भएपछि यस वर्ष पनि आफ्नो सबै खेतबारीमा तरकारी खेती गरेको उनको भनाइ छ । यहाँ अरुको जग्गा भाडामा लिएरसमेत कृषकले व्यवसायिकरुपमा तरकारी खेती गर्दै आएका छन् । अरुको बारीमा तरकारी खेती गर्ने कृषकलाई भने बैँकको ऋण कसरी तिर्ने भन्ने चिन्ता रहेको छ।

कावासोती नगरपालिका–१७ गोछडाटारका कृषक रामेश्वर न्यौपानेले आफूले विभिन्न स्थानमा गरी पाँच बिघा जमिनमा व्यवसायिकरुपमा तरकारी खेती गरेको बताउछन्। “बैँकबाट ऋण लिएरै भएपनि तरकारी खेती गरेको थिएँ” उहाँले भन्नुभयो, “अहिलेको अवस्थाले तरकारी बिक्री नहुँदा उत्पादन भएका अधिकांश तरकारी बारीमै कुहिन थालेका छन् ।” बिक्रीका लागि तयार भएका तरकारी भण्डारण गर्ने स्थानको अभावका कारणसमेत आफूले नोक्सान व्यहोर्नु परेको उनको भनाइ छ।

“ताजा तरकारी टिपेर बजार पठाउन पाइएन भने दुई/तीन दिनमा कुहिन शुरु गर्छ” उनको गुनासो छ, “हाम्रो बारीमा उत्पादन भएका तरकारी बिक्री नभएको अवस्थामा भण्डारण गर्ने व्यवस्था हुन सके केही समय भएपनि ताजै राख्न सकिन्थ्यो ।” यस पटक उत्पादनमा घाटा भएपछि ऋण कसरी तिर्ने भन्ने समस्याले पिरोलिरहेको उनको भनाइ छ।

कावासोती १३ का किसान सोमबहादुर विश्वकर्माको समस्या पनि फरक खालको छैन । उनले साढे दुई बिघा जमिन भाडामा लिएर करिब रु पाँच लाख लगानी गर्दै तरकारी खेती गर्दै आएक थिए । सामान्य अवस्थामा एक सिजनमै लगानी कटाएर रु तीन/चार लाख आम्दानी हुने अपेक्षा गरेको भए पनि लकडाउनका कारण लगानी समेत डुबेको उनले गुनासो गरे।

बारीमा उत्पादन भएको तरकारी केही दिन साइकलमै बोकेर गाउँघरतिर बेच्न हिँडेको भएपनि गाउँमा खासै बिक्री नहुने भन्दै उनले भने, “यत्रो धेरै तरकारी एक्लै बेचेर नसकिने भएपछि साइकलमा बेच्न हिड्न समेत छाडिदिएँ ।” यस पटकको तरकारी खेतीबाट अर्को पटकलाई बीऊ जोगाएर राख्ने काम बाहेक अन्य हुन नसकेको उनले बताए।

यहाँ करिब तीन सयको हाराहारीमा व्यवसायिक तरकारी कृषक छन्। उनीहरु सबैले लकडाउन कारण तरकारी बिक्री गर्न नपाउँदा लाखौँको नोक्सानी बेहोर्नु परेको बताएका छन् । उत्पादित तरकारीले बजार नपाउनु र भारतबाट आएका तरकारी भने निर्वाधरुपमा ठूला बजारमा प्रवेश पाउनुले किसान मारमा परेका हुन्।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width