सर्वसहमतिले संविधान संशोधन विधेयक पारित

रासस
असार ४, २०७७
OLI

प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा विनियोजन विधेयक माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै । रासस ।

काठमाडौँ, ४ असार (रासस) । राष्ट्रियसभाको बिहीबारको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ ’ लाई सर्वसहमतिले पारित गरेको छ । राष्ट्रियसभामा उपस्थित कूल ५७ सांसदले नै ‘हुन्छ’ भन्ने पक्षमा मतदान गरेका थिए ।

राष्ट्रियसभाका कूल ५९ सदस्यमध्ये अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मत विभाजन प्रक्रियामा सहभागी भएनन् । सभामा बाँकी रहेको एक सदस्य भने मनोनयन भएको छैन ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि अध्यक्ष तिमिल्सिनाले मत विभाजनका लागि आवश्यक प्रक्रिया अगाडि बढाएका थिए ।

राष्ट्रियसभाको बैठक कक्षको लबीमा तयार पारिएको मत विभाजनका लागि ‘हुन्छ’ भन्नेहरूलाई एकातिर र ‘हुन्न’ भन्नेहरूलाई अर्काेतिर मतदानका लागि प्रवेश गर्न आग्रह गर्दा सत्तापक्ष र प्रतिपक्षका सांसद एउटै लाममा रहेका थिए ।

संसदीय व्यवस्थामा सरकारका काम कारबाहीमा आलोचना, विरोध र खबरदारी गर्ने विपक्षीको धर्म मानिए पनि नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएको नयाँ नक्शालाई संविधानको अङ्ग बनाउने मामिलामा विपक्षी दलले निःशर्त समर्थन गर्ने निर्णय यसअघि नै सार्वजनिक गरिसकेका थिए ।

सत्तापक्ष र प्रतिपक्षका सांसदले एकै लयमा समर्थन र स्वागतको ताली बजाएका थिए

प्रतिनिधिसभामा देखिएको दृश्य राष्ट्रियसभामा पनि उस्तै देखियो । सबै सांसदले ‘हुन्छ’ भन्नेतर्फको मत केन्द्रमा गएर आफ्नो दस्तखत गरी राष्ट्रियताका पक्षमा अभूतपर्व एकताको नमूना प्रस्तुत गरे । नेपालको संविधान जारी गर्दाका समयमा संविधानका पक्षमा मतदान नगरी बैठक बहिष्कार गर्ने मधेश केन्द्रित दलका सांसद पनि नेपालको नयाँ नक्शालाई अनुसूचीमा राख्ने प्रस्तावसहितको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ का पक्षमा उभिए ।

अध्यक्षबाट उपस्थित सबै सांसदको मतले संशोधन पारित भएको घोषणा गर्दा सत्तापक्ष र प्रतिपक्षका सांसदले एकै लयमा समर्थन र स्वागतको ताली बजाएका थिए ।

मतदानमा सहभागी सबै सांसदले नयाँ नक्शाका पक्षमा मत जाहेर गरेपछि अतिक्रमित भूमि फिर्ता ल्याउन भारतसँग वार्ताका लागि नेपाल सरकारलाई थप ऊर्जा र बल मिलेको छ ।

नेपालको संविधानको धारा २७४ बमोजिम संशोधन गर्न सक्ने प्रावधानअनुसार सरकारले संविधान संशोधन प्रस्ताव अगाडि बढाएको थियो ।

त्यसअघि कानूनमन्त्री डा तुम्बाहाङ्फेले राजनीतिक दलको एकता र सहकार्यले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र अखण्डतालाई नयाँ उचाइमा पु¥याएको बताइन् । नेपालको निशान छापमा रहेको नक्शामा मात्रै संशोधनको प्रस्ताव अगाडि बढाइएको र हिमाल, पहाड तथा तराईलाई त्यसले सम्बोधन गरेको स्पष्ट पार्दै उनले संविधानको सन्दर्भमा उठेका अन्य प्रश्नलाई क्रमशः सम्बोधन हुने विश्वास व्यक्त गरिन् ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width