बन्दाबन्दी खुकुलोसँगै सरकारी कार्यालयमा सेवाग्राहीको भीड

रासस
असार १, २०७७
surendra-yadav-and-upendra-yadav-sarkari-okil-ko-karyalaya-2020-7

काठमाडौँ, १ असार । सरकारले आजबाट सरकारी कार्यालय खुलाउने निर्णय गरेसँगै अधिकांश कार्यालयमा सेवाग्राहीको भीड लाग्न थालेको छ ।

यससँगै सडकमा पनि सवारी चाप बढेको छ । सरकारले कोभिड–१९ जोखिमबाट बचाउनका लागि गत चैत ११ गतेदेखि गरेको बन्दाबन्दीपछि आजबाट धेरै कार्यालयहरु खुलाउने निर्णय गरेको थियो । सरकारी तथा गैरसरकारी संस्थाका कार्यालयहरु आजदेखि पूर्ण रुपमा खुलेका छन् । कार्यालय खुले पनि भीडभाड नगरी सामाजिक दुरी कायम गरेर काम गनुपर्ने सरकारको निर्णयअनुसार आलोपालो प्रणालीमा काम शुरु भएको छ ।

सर्वोच्च अदालतसहित देशभरका अदालतमा बन्दाबन्दीको समयमा माहामारीसम्बन्धी र बन्दीका मुद्दा हेरिए पनि अहिले केही सेवा विस्तार गरिएको छ । सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालका अनुसार बन्दाबन्दीे पूर्णरुपमा नखुलेकाले कर्मचारीको आलोपालो प्रणालीबाट काम शुरु भएको छ । प्रवक्ता ढकालले भन्नुभयो, “कोरोना भाइरसको जोखिम पूर्ण रुपमा कम नभएकाले सावधानी अपनाएर काम गरिनेछ ।”

बैंक तथा वित्तीय संस्था, सहकारी र बीमा सेवा पनि खुलेका छन् । काठमाडौँ उपत्यकाका टोलटोलका अधिकाशं सहकारी संस्था आजदेखि सञ्चालनमा आएका छन् । संस्था खुले पनि सेवाग्राही भने फाटफुट मात्रै आएका सहकारी सञ्चालकले बताएका छन् । वाणिज्य बैंक र विकास बैंक शाखाहरुमा भने आज सेवा लिन चाहने सेवाग्राहीको भीड देखिन्थ्यो ।

सरकारले आजदेखि सरकारी कार्यालयका साथै शिक्षण संस्थाका कार्यालय (प्रशासनिक काम मात्र हुने तर पठनपाठन नहुने), गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय खु्ल्ने निर्णय गरेको थियो । सार्वजनिक तथा जोर–बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारीसाधनको सिटको एक लहरमा एक जना मात्र यात्रु राख्ने, अनिवार्य मास्क लगाउने, स्यानिटाइजरको व्यवस्था मिलाउने, सवारी साधानलाई दैनिक निसङ्क्रमित गर्ने निर्णय सरकारले गरेको थियो ।

टेकुस्थित सवारी परीक्षण केन्दमा थोरै कर्मचारी भएकाले सबै जना कार्यालयमा आएका छन् । जम्मा १६ कार्यरतमध्ये दुई जना उपत्यका बाहिर रहेकाले १४ जना कार्यालयमा उपस्थित भएको प्रमुख मणिराम भुषालले बताए । कार्यालयमा सबै कर्मचारी उपस्थित भए पनि आवश्यक दूरी कायम गर्दै स्वास्थ्य सावधानी अपनाइएको उनको भनाइ छ । बन्दाबन्दीको अवधिमा पनि थोरै कर्मचारी आउने गरेकामा आजबाट सबै उपस्थित भएका हुन । कर्मचारीमध्ये कोही आफ्नै सवारीसाधनमा र कोही कार्यालयका सवारीमा त नजिकै बसाइँ भएका कर्मचारी हिँडेर आएका छन् । उनले भने “जसलाई जे गर्दा सजिलो हुन्छ हामीले त्यसरी नै मिलाएका छौँ ।”

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईले नियमित सेवा सञ्चालनको पहिलो दिन नै सेवाग्राहीको भीड लागेको बताए । सरकारको निर्णयानुसार दुई सिफ्टमा कर्मचारी आएर सेवा दिइरहेको उनले बताए । बन्दाबन्दीका समयमा पनि राहत वितरण, कोभिड–१९ को परीक्षणलगायतका काम भइरहेकाले सेवा दिइरहेको छ । अहिले नियमित सेवाका लागि सबै कर्मचारीलाई बोलाइएको उनले बताए । महानगरले कर्मचारीले आपसमा र सेवाग्राहीसँग पनि दूरी कायम गरेर सेवा दिन थालेको छ । उनले भने “भीडभाड भएकाले हामीले सकेसम्म दूरी कायम गरेर सेवा दिइरहेका छौँ ।”

राष्ट्रिय मानवअधिकार आयोगले बन्दाबन्दीको समयमा पनि उजूरी दर्ता गर्ने र त्यसको सुनुवाइ गर्दै आएको थियो । त्यस अवधिमा आवश्यकतानुसार मात्रै कर्मचारी आउने गरेका थिए । आयोगका सचिव बेदप्रसाद भट्टराईले आजबाट सबै कर्मचारी दुई सिफ्टमा कार्यालय आउन थालेको बताए । कर्मचारी आयोग र आफ्नो सवारीसाधनबाट आइरहेका छन् । उनले भने “अहिले पनि जोखिम पूर्णरुपमा कम नभएकाले आलोपालो प्रणालीमा काम गर्ने व्यवस्था मिलाइएको छ ।”

सिंहदरवारमा आज बिहान ८ बजेदेखि नै चहलपहल शुरु भएको थियो । कर्मचारी बिहानैदेखि आए पनि नागरिक भने १० बजेपछि आएका थिए । सिंहदरबारको दक्षिण गेटस्थित प्रवेशद्वारमा दिउँसोसम्म भीडभाड निकै देखिएको छ । त्यहाँ खटिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्यकर्मीको टोलीले परीक्षण गराएर मात्रै सेवाग्राही प्रवेश गराएका छन् । आइतबारसम्म फाटफुट्ट मात्रै मानिस प्रवेश गर्ने भए पनि आज सेवाग्राही लाम बसेर स्वास्थ्य परीक्षण गराएका छन् ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width