दादुरा–रुवेलाको खोप जेठ २५ गतेदेखि शुरु गरिदै

रासस
जेठ २३, २०७७
dadura-khop

पोखरा, २३ जेठ । पोखरा महानगरपालिकाभित्र यही जेठ २५ देखि ३१ गतेसम्म दादुरा-रुबेला रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ ।

यसअघि गत चैत १० देखि २२ गतेसम्म राष्ट्रिय कार्यक्रमअन्तर्गत सो अभियानको तयारी गरिए पनि कोभिड–१९ सङ्क्रमण रोक्न जारी बन्दाबन्दीले खोप स्थगन भएको थियो । तर जिल्लाका अन्य गाउँपालिकामा कार्यक्रम तोकिएको मितिमै सम्पन्न भएका थिए ।

खोप अभियानअन्तर्गत महानगरभित्रका ३३ वटै वडाका नौ महिनादेखि पाँच वर्ष उमेरमुनिका ४० हजार ७७९ बालबालिकालाई दादुरा–रुबेला रोगविरुद्ध खोप दिइने महानगर स्वास्थ्य महाशाखाले जनाएको छ । महानगरले मातृ शिशु मितेरी अस्पताल, शिशुवा अस्पताल, सम्पूर्ण प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्यचौकी शहरी स्वास्थ्य केन्द्रमा तोकिएको मितिमा खोप कार्यक्रम सञ्चालनका लागि निर्देशन गरिसकेको महानगर स्वास्थ्य महाशाखाका प्रमुख एवं वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक हेमन्त शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार महानगरको वडा नं १८ देखि ३३ तथा वडा नं १६, काँहु र आर्वाविजयमा जेठ २५ देखि २८ गते र वडा नं १ देखि ५ सम्म २९ गते खोप अभियान सञ्चालन हुनेछ । त्यसैगरी वडा नं ६ देखि १० सम्म जेठ ३० गते र वडा नं ११ देखि १५ र वडा १७ मा ३१ गते सम्बन्धित वडाको स्वास्थ्य संस्था तथा खोप केन्द्रमा खोप लगाइने छ । खोप अभियानलाई कार्यक्रमलाई प्रभावकारी बनाउन तथा खोपपछि बालबालिकामा देखिन सक्ने सम्भावित समस्यालाई समाधान गर्नका लागि बालरोग विशेषज्ञ एवं चिकित्सक टोलीसँग परामर्शको व्यवस्था गरिएकाले खोपपछि आउनसक्ने समस्या प्रभावकारी ढङ्गले समाधान गरिने महाशाखाका सिअहेव हरिलाल आचार्यले जानकारी दिए ।

कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट जोखिन खोप लगाउँदा ‘महामारीको समयमा खोप नियमित खोप सेवा सञ्चालन मार्गदर्शन’को पालनाका लागि स्वास्थ्यकर्मीमा आग्रह गरिएको छ । खोप दिँदा भौतिक दूरी कायम गर्ने, बच्चालाई खोप दिन नहुने अवस्थाको पहिचान गर्ने, खोप दिने स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा सामग्री अवलम्बन गर्ने तथा लक्षित सबै बालबालिकालाई खोप लगाउने व्यवस्था गर्न आग्रह गरिएको बताइन्छ ।

सरकारले बाल मृत्युको कारणमध्ये दादुरासमेत एक भएकाले बालबालिकालाई बचाउन अभियानका रूपमा देशभर खोप कार्यक्रम सञ्चालन गरिरहेको छ । अभियानमा दादुरा–रुबेला खोपको कभरेज देशभरमा ९५ प्रतिशतभन्दा माथि भएको सुनिश्चित हुनुपर्ने साथै अभियानको अवसरमा नियमित खोपको समेत सुदृढीकरण गर्ने लक्ष्य सरकारको छ ।

सन् २०२३ भित्रमा नेपालबाट दादुरा–रुबेला निवारणको राष्ट्रिय प्रतिबद्धता छ । सो प्रतिबद्धता पूरा गर्न सरकारले अभियानका रूपमा खोप कार्यक्रम सञ्चालन गरेको हो । देशका केही प्रदेशमा भने यसअघि नै अभियान सम्पन्न भइसकेको छ । नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ मा देशका २१ प्रतिशत बालबालिका अझै पनि पूर्ण खोपबाट बञ्चित रहेको र एक प्रतिशत बालबालिकामा खोप पुग्न नसकेको (शून्य डोज) औँल्याइएको छ । नेपालमा विसं २०३४ मा विफर उन्मूलनपछि खोप थपिँदै जाने क्रममा हाल ११ वटा खोप सञ्चालनमा रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width