१२ वर्षपछि रूप फेर्दै लुम्बिनी

रासस
जेठ २२, २०७७
NG_Rupandehi-marmat

रुपन्देही, २२ जेठ । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वसम्पदा सूचीमा सूचीकृत क्षेत्रको आवधिक मर्मतसम्भार शुरु गरिएको छ ।

मायादेवी मन्दिर परिसरमा रहेको शाक्य पुष्करिणी, विहारका भग्नावशेष क्षेत्र तथा स्तूप र बोधिवृक्ष परिसरमा आवधिक संरक्षण तथा सरसफाइको काम भइरहेको लुम्बिनी विकास कोषले जनाएको छ । मायादेवी मन्दिरदेखि दक्षिणतर्फ रहेको पुष्करिणीमा बालक सिद्धार्थलाई जन्म दिनुअघि मायादेवीले नुहाएकी थिइन् । बन्दाबन्दीको समय सदुपयोग गर्र्दै झण्डै १२ वर्षपछि यस क्षेत्रमा मर्मतसम्भारको काम भइरहेको विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले जानकारी दिए । उनले भने, “आवधिक संरक्षण गर्ने समय भइसकेको थियो तर गर्न सकिएको थिएन, अहिले बन्दाबन्दीमा पर्यटक नभएको मौका पारेर काम गरिएको हो ।”

अहिले पुष्करिणीभित्रको सिँंढी तथा वरिपरिको भाग, विहारका भग्नावशेष क्षेत्र र बोधिवृक्ष परिसरको भाग मर्मत गर्ने काम भइरहेको अधिकृत उप्रेतीले बताए । लामो समयदेखि सरसफाइ र संरक्षणको काम नहुँदा पुष्करिणी फोहोर हुनाका साथै वरिपरिको भाग भत्किएको र पोखरीपूर्वमा रहेका विहारका भग्नावशेष तथा स्तूपका इँटा निस्कन थालेका कारण संरक्षणको काम गरिएको पुरातत्व अधिकृत उप्रेतीको भनाइ छ । “स्तूपका मौलिक विशेषता लुप्त हुन नदिन विशेष निगरानी गरेका छौँ”, उनले भने । भत्किएका स्तूपलाई पहिलेकै स्वरुपमा सामान्य मर्मत गर्छौँ ।”

मायादेवी मन्दिरको दक्षिणतर्फ तेस्रो शताब्दी इसापूर्वदेखि चौथो शताब्दीसम्म बनेका विहारका अवशेष छन् । यस्तै मायादेवी मन्दिर परिसरमै रहेको झण्डै सय वर्ष पुरानो बोधिवृक्षको फेदमा माटो भर्ने काम गरिएको छ । बोधिवृक्ष बचाउनका लागि फेदमा माटो भरी दुबो लगाउने काम गरिने कोष पुरातत्व शाखाले जनाएकोे छ । विकास कोषका अनुसार लुम्बिनी सन् १९९७ मा विश्वसम्पदा सूचीमा सूचीकृत भएको हो । यो अहिले आध्यात्मिक, धार्मिक मात्रै होइन पुरातात्विक र सांस्कृतिक हिसाबले समेत त्यत्तिकै महत्वपूर्ण आकर्षण बनेको छ । यहाँ संसारका विभिन्न मुलुकबाट शान्ति तथा आध्यात्मिक उपलब्धि हासिल गर्न लाखौंँ लाख पर्यटक आउने गरेका छन् ।

कोषका कामु सदस्य सचिव ज्ञानिन राईले पुरातत्व विभाग, विकास कोष र युनेस्कोको आपसी सहमतिमा सरसफाइको काम भएको जानकारी दिए । उनका अनुसार इसापूर्वको तेस्रो शताब्दीमा मौर्य सम्राट् अशोकले यस स्थलको तीर्थाटन गरेका थिए । उनले मायादेवी मन्दिर परिसरमा अशोकस्तम्भ स्थापना गरी अभिलेख पनि कुँदाएका थिए । यो कुराको जानकारी इसाको पाँचौंँ शताब्दीमा आएका चिनियाँ यात्री फाहियान र सातौंँ शताब्दीमा आएका अर्का चिनियाँ यात्री ह्युएन साङले आफ्नो यात्रा विवरणमा उल्लेख गरे । सन् १८९६ मा पुरातात्विक अन्वेषणका क्रममा सम्राट् अशोकद्वारा ‘लुंमिनीगाम’मा राखिएको अशोकस्तम्भ र त्यसमा रहेको अभिलेख भेटिएको हो । सन् १८९६ डिसेम्बर १ तारिखका दिन जर्मन पुरातत्वविद् डा एलोसिस फ्युुहरर र खड्गशम्शेरले सिद्धार्थ गौतमको जन्मस्थान र अशोकस्तम्भ पत्ता लगाएका थिए ।

उक्त अभिलेखमा यो ठाउँको नाम लुंमिनीगाम भनेर उल्लेख गरिएको पाइन्छ । सो अभिलेखको प्राप्तिले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पहिचान भएको हो । त्यसबेलादेखि विश्वभर शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी नेपालको प्रदेश नं ५ स्थित रूपन्देही जिल्लामा पर्ने कुरा स्थापित भएको हो । लुम्बिनी बौद्ध धर्मालम्बीको विशेष ऐतिहासिक तीर्थस्थलको नामले विश्वमै चर्चित भएका कारण युनेस्कोले मायादेवी मन्दिर र यस वरपरको क्षेत्रलाई विश्वसम्पदा क्षेत्रमा सूचीकृत गरेको हो । विकास कोषका कामु सदस्य सचिव राईका अनुसार गौतम बुद्धको पवित्र जन्मस्थानमा निर्माण भएको मायादेवी मन्दिर इसापूर्व तेस्रो शताब्दीदेखि विभिन्न समयमा जीर्णोद्धार हँुदै आएको थियो । पछि लुुम्बिनीमा सन् १८९९ मा भारतीय पुरातत्वविद् पूर्णचन्द्र मुखर्जीले उत्खनन गरेका थिए ।

वरिष्ठ पुरातत्वविद् वसन्त बिंडारीका अनुसार सन् १९३३ देखि १९३९ सम्म केशरशम्शेर जबराको नेतृत्वमा मायादेवी मन्दिर परिसरमा उत्खननन गर्ने क्रममा पुष्करिणीलाई चारैतिर इँटाले घेर्ने काम गरी संरक्षण गरेका थिए । “आवधिक संरक्षण यही समयमै गर्ने भन्ने हुँदैन, आवश्यकताअनुसार जहिले गर्दा पनि हुन्छ । यहाँका सम्पदामा अहिलेसम्म नराम्रो असर देखिएको छैन”, पुरातत्वविद् बिंडारीले भने । “मानिस हिँड्ने, बस्ने तथा जथाभावी धुपबत्ती बाल्ने हो भने सम्पदामा असर पर्छ, यी कुरालाई रोक्यौँ भने मात्रै पनि सम्पदाको सुरक्षा प्रकृतिले नै गर्छ ।”

सन् १९६२ मा भारतका पुरातत्वविद् देवला मित्रले उत्खनन् गरेका थिए । सन् १९७२ देखि १९८५ सम्ममा पुरातत्व विभागले लुम्बिनीको पुरातत्विक उत्खनन, अन्वेषण र संरक्षणको काम गर्दै आएको पाइन्छ । मायादेवी मन्दिरमा सन् १९९२ देखि १९९५ सम्ममा विभाग, जापान बुद्धिष्ट फेडरेशन र विकास कोषको संयुक्त तत्वावधानमा उत्खनन भएको थियो । सन् १९९६ मा उत्खनन् गर्दा भने यहाँ दुई इनार फेला परेका थिए । मन्दिर उत्खननका क्रममा बुद्धले पहिलो पटक पाइला टेकेको पवित्र स्थानमा रहेको ‘शिला’ रहेको कुरा उत्खननमा संलग्न विकास कोष, बुद्धिष्ट फेडरेशन र विभागको अध्ययन र अनुसन्धानबाट प्रमाणित भएकाले सरकारले २०५२ सालमा ‘मार्कर स्टोन’ पत्ता लागेको घोषणा गरेको विकास कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिनुभयो । बन्दाबन्दीका कारण अहिले लुम्बिनी सुनसान छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width