गण्डकी सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि यतिबेला छलफल चलिरहेको छ । प्रतिपक्षी सांसदले नीति तथा कार्यक्रमले वर्तमान महामारीलाई समेट्न नसकेको आरोप लगाईरहेका छन् भने सत्तारुढ केही सांसदहरु प्रतिपक्षीविरुद्ध खनिएका छन् ।
सांसद राजीव पहारीले जनताको जीवनस्तर उकास्ने र जनताले अनुभूति गर्ने गरी काम गरेको भन्दै सरकारको गुनगान गाए । नीति कार्यक्रममा सुझावका लागि रोष्टममा पुगेका उनले पूरै समय सरकारको प्रशंसामा सके । सरकारले आफूलाई हत्केलामा राखेर जनताको रक्षमा खटिएको उनको भनाइ छ । ‘छोटो अवधिमा विकास निर्माण तीव्र गतिमा, अझ भनौं जेट स्पीडमा चलिरहेको थियो । अकस्मात कोरोना भाइरसको सामना गर्नुपर्दा गति रोकियो,’ उनले भने, ‘जीवन हत्केलामा राखेर सरकारले, मुख्यमन्त्रीले, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले काम गर्दा कोरोना भाइरस यहाँ नियन्त्रणबाहिर जान पाएन । समुदायस्तरमा कोरोना फैलिन पाएन ।’ उनले यसअघिको सरकारले सबै उद्योगधन्दा बेचेको र निजीकरण गरेको आरोप लगाए।
सांसद रामबहादुर गुरुङ पनि प्रतिपक्षीमाथि खनिए । सरकारको सबै काम सही भएको भन्दै उनले प्रतिपक्षीले अनावश्यक प्रश्न गरेको आरोप लगाएका हुन् । ‘नीति तथा कार्यक्रम विकासको मुटु हो । कतिपय माननीयले राम्रो छैन भन्नुहुन्छ,’ उनले भने, ‘वहाँहरुले रातिमा पढेर आउनुभएको हो कि ? यसमा थप्ने भनेको बिगार्नेमात्रै हो ।’ उनले आयात घटाएर निर्यात बढाउन सुझाए ।
मनबहादुर गुरुङ शिथिल भएको अर्थतन्त्रलाई जीवन्त बनाउने गरी नीति कार्यक्रम ल्याइएको बताउँछन् । उनले कोरोना नियन्त्रणमा नेपाल सरकार सफल भएको बताए । ‘ठूलाठूला राष्ट्रहरु, श्रोत र साधनसम्पन्न देशहरु कोरोनाविरुद्ध लड्न हम्मेहम्मे परेको छ । नेपालमा कम संक्रमित र मृत्युदर छ,’ उनी भन्छन्, ‘४ महिनाअघिसम्म हङकङबाट परीक्षण गर्नुपथ्र्यो अहिले सातवटै प्रदेशबाट परीक्षण हुन्छ । सरकारलाई धन्यवाद दिनुपर्छ ।’ उनले गण्डकी सरकारले ठोस बाटो खोजेर नीति तथा कार्यक्रम ल्याएको भन्दै प्रशंसा गरे ।
गुरुङले पोखरालाई फ्रि वाईफाई जोनको रुपमा स्थापित गर्न सुझाए । नीति तथा कार्यक्रममाथि संसद्मा छलफल गर्दै उनले प्रदेश राजधानी भएकोले र अन्तर्राष्ट्रिय पर्यटकको आकर्षण भएकोल यसलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सुझाएका हुन् । उनले विभिन्न विकास कार्यक्रमका सुझाव पनि पेश गरेका छन् । ‘प्रदेशभित्रको अव्यवस्थित बसोबासीलाई उचित ठाउँमा आवास व्यवस्था गरी शहर सुन्दर बनाउनुपर्छ । राजधानी क्षेत्रभित्र रहेको बिजुली, केवलतार अण्डरग्राउण्ड गरियोेस् । लक्षित वर्गलाई राहत दिने उद्देश्यका साथ पानी, बत्ति र बिजुली निःशुल्क उपलब्ध गराइयोस्,’ उनले थपे, ‘सस्तो खानेपानी वितरण प्रणाली आए हुन्थ्यो । सेतीनदी पर्यटकीय हिसाबले निकै उत्कृष्ट छ । रामघाटलाई तालको रुपमा विकास गर्न पाए हुन्थ्यो । काहुँडाँडामा बुद्धमूर्ति निर्माणलाई गौरव योजनामा समावेश गरे हुन्थ्यो । शहरी चापलाई मध्यनजर गरी पोखराका चोकहरुमा आकाशे पुल आवश्यक छ ।’
अर्का सांसद दीपक कोइरालाले कोरोनाविरुद्ध लड्न सरकारको तयारी प्र्रशंसनीय भएको बताए । ‘राम्रोभन्दा सत्तापक्षको भएर भन्यो भन्ने लाग्ला, सत्तापक्षकै भएर पनि विरोध गर्न केही पाइएला भनेर हेरें, विरोध गर्ने ठाउँ कतै पनि पाइन । समर्थन गर्नै पर्याे नि । यो नीति तथा कार्यक्रमका विषयवस्तु सकारात्मक छ,’ उनले भने, ‘प्रदेशले आफैलाई कसरी बनाउने भन्ने विषयमा पनि बोलेको छ । हाम्रा संरचना, इकाइ कसरी बलियो बनाउने भन्ने समेत यसमा समेटिएको छ । धेरै मिहिनेत गरेर यो आएको छ ।’
यस्तै, सांसदहरु प्रभा कोइराला, दीलमाया रोका लगायतले पनि नीति तथा कार्यक्रमको प्रशंसा गरे ।
‘फलेको धान असिनाले तहसनहस बनाएपनि अर्को वर्ष खेती गर्नुपर्छ’
सांसद धनञ्जय दवाडी नीति कार्यक्रम परिवेशको अध्ययन गरेर ल्याइएको बताउँछन् । ‘गण्डकी सरकार अरुभन्दा अब्बल हो । कोरोनाको क्षतिको पूर्वानुमान ग¥यो र रोकथामका लागि योजना अघि सार्याे । सरकार जनउत्तरदायी छ । एकोहोरो आरोप लगाउने हो भने आवेगको अभिव्यक्तिमात्रै हो,’ सांसद दवाडीले सरकारले गरेका कामको प्रशंसा गरे । प्रशंसासँगै कृषिमा आधुनिकीकरणको सुझाव पनि दिए । ‘कृषिमा आत्मनिर्भरता र व्यावसायिकतातर्फ केन्द्रित भएको छ । यो राम्रो छ । हामी किसानलाई बजार उपलब्ध गराउने र उत्पादन बढाउने चरणमा छौं,’ उनी भन्छन््, ‘धर्धरी पसिना चुहाएर उकाली ओराली हिडिरहने । थाप्लोमा नाम्लो राखेर बसिरहेका किसानको थाप्लोबाट नाम्लो निकाल्न सक्ने समाजवाद ल्याउन प्रविधिको विकास गर्नुपर्छ । ज्ञानलाई किसानको खेतमा जोड्नुपर्छ । सरकारले ल्याएको पञ्चवर्षीय योजनामा केन्द्रित भएर बजेट विनियोजन गर्नुपर्छ ।’
रोजगारी गुमाएका र नयाँ आउने श्रमिकलाई काम दिन सुझाए । ‘हरेक वर्ष कात्तिकमा धान लहलह झुलिरहँदा असिना पर्छ । धानखेत तहसनहस हुन्छ । अर्को पटक खेत नजोत्ने ? त्यसो भनेको भए मानव सभ्यताको विकासमा यो चरणमा आइपुग्दैनथ्यौं,’ उनले थपे, ‘कोरोनाको समस्या जरुर छ । त्योभन्दा ठूलो समस्या भोक, काम, समृद्धि र रोजगारीको समस्या हो । उत्पादन र आपूर्तिबीचको दुरी घटाउन प्रदेश सरकारलाई आग्रह गर्न चाहन्छु ।’
सांसद इन्द्रलाल सापकोटाले जनताले विश्वास गर्ने गरी सरकारले काम गर्न नसकेको बताए । ‘मुलुकमा लकडाउन छ । जनतामा सरकारप्रति निराशा छ । तर सरकारले औकात र ल्याकत आधारमा कार्यक्रम ल्याएको छ । विगतको निरन्तरता र केही नयाँ कार्यक्रम आएको छ,’ उनले भने, ‘तर अहिलेसम्म गरेका कामले पुगेन । राजश्व संकलनको क्षेत्र कमजोर भयो । १० महिनामा योजना छुट्यायौं, नीति बनायौं, खर्च गरेनौं । हामीमाथि प्रश्नचिन्ह छ । सुशासनको क्षेत्रमा जनतालाई अनुभूति दिन सकेनौं । समीक्षा गर्नु जरुरी छ ।’
अर्थमन्त्रीलाई कडा जवाफ
सांसद ओमकला चालिसेले नीति तथा कार्यक्रम ‘माकुराको जालो’ जस्तो भएको बताइन् । ‘माकुराको जालो जस्तै पूरै ढाकेकोजस्तो देखिने । न यसले घाम छेक्न सक्छ । न पानी ओत्न सक्छ । न रोग नियन्त्रण गर्न सक्छ । न भोको पेट भर्न सक्छ । न रोगीलाई उपचार गर्न सक्छ,’ उनले भनिन्, ‘हामीले पनि गाईलाई घाँस र बाघलाई मासु नै दिन भनेका हौं । न हामीले गाईलाई मासु भनेका छौं, न बाघलाई घाँस खुवाउन भनेका छौं ।’
हामीले पनि गाईलाई घाँस र बाघलाई मासु नै दिन भनेका हौं । न हामीले गाईलाई मासु भनेका छौं, न बाघलाई घाँस खुवाउन भनेका छौं
अर्थमन्त्री किरण गुरुङले बजेटका सिद्धान्त र प्राथमिकता माथि उठेका प्रश्नमा जवाफ दिँदै बजेट नयाँ बनाउने नाममा बाघलाई घाँस र गाईलाई मासु दिन सक्ने अवस्था नरहेको बताएका थिए ।
अहिलेको नीति तथा कार्यक्रम जनताको भावना र वर्तमान परिवेशविपरीत आएको उनले बताइन् । ‘पुरानै नीति तथा कार्यक्रम छ । पुरानै नारा समेत राख्न नसकेर ल्याइएको छ । जस्ताको त्यस्तै ‘कपि पेष्ट’ गर्नुभन्दा पुरानै प्रस्तुत गर्नुभएको भए हुन्थ्यो,’ उनले भनिन्, ‘सस्तो लोकप्रियताले, सस्तो अभिव्यक्तिले जनताको रोग र भोक टर्दैन । रोेग निको हुन उपचार चाहिन्छ, भोक मेटिन खानैपर्छ ।’ गौतमले सरकारले गरेको गाडी खरिदको निर्णय गलत भएको टिप्पणी गरिन् । ‘यो महामारीको बेला ११ वटा गाडी खरिद गर्ने कुरा छ । त्यो किन्ने पैसाले १६ वटा पिसिआर मेसिन किनेर परीक्षण बढाए हुँदैन ?,’ उनी भन्छिन्, ‘सधैँ भगवान् सम्झेर कोरोना निको हुन्छ ? क्वारेन्टाइन कोरोना फैलाउने फ्याक्ट्री भैसक्यो । ठोस कार्यक्रम के हो ? नीति तथा कार्यक्रममा छुटे पनि बजेटमा समावेश गरियोस् ।’
‘नीति त पञ्चायतमा पनि राम्रै लेखिएको थियो’
खिमविक्रम शाहीले नीति र कार्यक्रम जति राम्रो भएपनि कार्यान्वयन चुस्त नभएको बताए । ‘सुन्दा र पढ्दा राम्रो पनि छ । तर लेख्दै र सुन्दैमा राम्रो हुने होइन । हिजो पञ्चहरुले पनि राम्रै लेखेका थिए । माटो सुहाउँदो भनेका थिए,’ उनले भने, ‘लेखेका कुराहरु कार्यान्वयन गर्न सरकारको आनीबानीमा सुधार आउनुपर्छ । व्यवस्था परिवर्तन भएर के गर्ने ? हामी परिवर्तन हुनुपर्याे नि ।’ संघीय व्यवस्था नेपालको परिवेश अनुसार नभएको उनको तर्क छ । उनले समावेशी विकासमा सरकारको ध्यानाकर्षण गराए । ‘ढोरपाटन, निसिखोलामा एउटै वडाको एउटा गाउँबाट अर्को गाउँमा पुग्न पूरै एक दिन हिड्नुपर्छ । बत्ति पनि छैन । सञ्चार पनि छैन । बजेट त्यहाँसम्म कहिले पुग्छ ?,’ उनले प्रश्न गरे ।
नीति तथा कार्यक्रम नियमित हो । सुधारिएर आउनुपर्छ । नत्र यो सपनामात्रै हो
ललितकला गुरुङले यही नीति तथा कार्यक्रमबाट सरकारले लिएको ‘समृद्ध प्रदेश, सुखी नागरिक’ बन्न नसक्ने बताइन् । ‘नीति तथा कार्यक्रम नियमित हो । सुधारिएर आउनुपर्छ । नत्र यो सपनामात्रै हो,’ उनले भनिन्, ‘मुख्यमन्त्री नमुना गाउँ कार्यक्रम बोर्डमा देखेको छु । तर अनुभूत गर्न पाएको छैन । सरकार चाहीँ राम्रो छ भन्छ । अरु कार्यक्रम पनि यस्तै छ ।’
विष्णुप्रसाद लामिछाने नीति तथा कार्यक्रमले प्रदेशको भविष्य नदेखाएको टिप्पणी गरे । ‘कम्तीमा १ वर्षको भविष्य नीति तथा कार्यक्रममा आउनुपर्छ । भविष्यको गोरेटो पनि देखाउनुपर्ने हो,’ उनी भन्छन्, ‘भनौं सम्धिको चित्त दुख्ने, नभनौं छोरीको नाक बुच्चै हुनेजस्तो भो । नीति र कार्यक्रम समयसापेक्ष आएन । परिस्थितिले निर्माण गरेको अवस्था र त्योसँग जुध्न सक्ने कार्यक्रम आउन सकेन ।’ कृषिमा गरिएको अनुदान प्रभावकारी हुन नसकेको उनको गुनासो छ । अहिले भैरहेको बसाइँसराइ समस्या र सुकुम्बासी समस्या सम्बोधन गर्ने गरी बजेट ल्याउन उनले सरकारलाई सुझाए ।
‘एउटै लोगो, एउटै ड्रेस तर व्यवहार किन फरक ?’
सांसद कोपिला बोहराले दोश्रो चरणको राहत वितरण माग गरिन् । सुकुम्बासीहरुलाई सधै टार्ने काम भएको भन्दै उनले न्याय दिने गरी कार्यक्रम ल्याउन सुझाइन् । सत्तापक्ष र प्रतिपक्षबीच कुनै फरकपन नरहे पनि सरकारले विभेद गरेको उनको गुनासो छ । ‘सत्तापक्ष र प्रतिपक्ष भन्ने छ । एउटै लोगो, एउटै ड्रेस छ, तर हामीलाई गर्ने व्यवहार फरक छ । एउटा बगैँचामा सयौँ फूल फुल्छन् भन्ने बुझौं,’ उनले भनिन्, ‘मैले कति योजना लिएर गएँ तर अहिलेसम्म पाएको छैन् । आधा आकाश भन्ने महिलाको बारेमा नीति तथा कार्यक्रममा के छ ?’ सांसदहरु नीति बनाउन आएको भन्दै बोहराले महिलाको आयआर्जन हुने कार्यक्रम गर्न सुझाइन् । जातीय विभेदका घटना अन्त्य गर्न पनि उनको आग्रह छ ।
Related News
सम्बन्धित समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
पोखराको गन्नीलाई रनिङ सिल्ड
hero news full width
मुख्य समाचार
लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१कन्टेनरमा बजारिएर दुई टुक्रा भयो, अनि आगो लाग्यो
श्रावण ९, २०८१सौर्य एयर दुर्घटनामा १८ जनाको मृृत्यु
श्रावण ९, २०८१त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना
श्रावण ९, २०८१