पोखरा । कास्की ढिकुरपोखरीका हुमबहादुर परियारले राहतका लागि नाम लेखाए । अन्नपूर्ण गाउँपालिकाले उनलाई दाल चामल दिएन । उनले सिँढी बाटो बनाउने काम पाएका छन् ।
‘१५ सयको राहत पाइएला । त्यसले कति दिन खाने ?,’ उनी भन्छन्, ‘यसरी काम पाए त राहत किन चाहियो ? काम पाए काम नै गर्ने नि !’ बागलुङ नेपानेका सागर केसी अन्नपूर्ण गाउँपालिकाकै काँडेमा होटल सञ्चालन गर्छन् ।
लकडाउनपछि उनको होटल बन्द छ । घरखर्च चलाउनै गाह्रो भएपछि उनी गाउँलेहरुसँगै मिलेर विकास निर्माणको काममा खटिएका छन् । ‘होटल खोलौं भने कोही छिर्दैन । रित्तो कुर्ची कुरेर कति दिन बस्नु ?,’ उनले भने, ‘बरु यता काम गरे पैसाको अनुहार देख्न त पाइन्छ । त्यसै बस्नुभन्दा काम गर्दा जितिन्छ ।’
गाउँपालिकाले नागरिकलाई विकास निर्माण काममा जोडेर राहत सट्टा दक्षता अनुसारको पारिश्रमिक दिन थालेको छ । कोरोना संक्रमणपछि जारी लकडाउन कारण खानै मुश्किल हुनेहरुले गाउँपालिकाको योजनामा काम गर्छन् र पारिश्रमिक बुझ्छन् । ‘गाउँपालिकाले आजको मितिसम्म राहत बाँडेको छैन । कोही राहत माग्न आउनुभयो भने काम दिन थालेका छौं,’ गाउँपालिका अध्यक्ष युवराज कुँवरले भने, ‘राहतले मानसिक र शारीरिक रुपमा पनि असर गर्छ । काम गरेपछि मात्रै विकास हुन्छ । मागेर खानेभन्दा काम गरेर खाने बानीको विकास गर्न गाउँपालिकाले काम दिएको छ ।’ उनका अनुसार गाउँपालिकाभित्र अहिले पनि दैनिक २ सय जनाभन्दा बढीले काम गरिरहेका छन् ।
पोखरी, चौतारा, धारा, पदमार्ग, सडक ग्राभेल, खानेपानी लगायत काम पाएका छन् । ‘लकडाउन छ । यहाँका मान्छे बाहिर जान पाएका छैनन् । एकातिर बेरोजगारी छ भने अर्कोतिर अब भोकमरीको समस्या देखिन्छ,’ उनी भन्छन्, ‘हाम्रो योजनाले नागरिकले पनि काम पाउँछन् । पैसा पनि बाहिर जाँदैन ।’ गाउँपालिकाभित्र हुने काममा ९० प्रतिशतभन्दा बढी स्थानीय मेनपावर छन् ।
लकडाउनपछि मात्रै ४५ लाख रुपैयाँभन्दा बढीको योजना शुरु भैसकेको अध्यक्ष कुँवरले बताए । अहिले काँडेदेखि अष्ट्रेलियन क्याम्प हुँदै मर्दी हिमाल जोड्ने पदमार्ग निर्माणको काम भैरहेको छ । ३० लाख रुपैयाँ लागतमा २ हजार ८८ वटा सिँढी निर्माण गर्न लागिएको उपभोक्ता समिति अध्यक्ष विकास गुरुङले जानकारी दिए । ‘दैनिक ३० जना जति काममा आउनुहुन्छ । काम सक्ने बित्तिकै पैसा दिने सहमति गरेका छौं,’ उनले भने, ‘अन्त लकडाउन भनेर मान्छेहरु घरभित्रै थुनिएका छन् । हामी गाउँपालिकाको योजनामा काम गरेर घरपरिवार पालिरहेका छौं ।’ पर्यटकीय क्षेत्र भएकोले अन्नपूर्णका विभिन्न ठाउँमा पदमार्ग निर्माण बढी प्राथमिकतामा छ ।
स्थानीयस्तरमा रोजगारी सिर्जना हुने योजनाको छनौट गरेर बजेट दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताए । ‘नागरिकको सुरक्षा गर्ने जिम्मेवारी सरकारको हो । त्यसै पैसामात्रै दिनुभन्दा काम दिनु उपयुक्त लाग्यो,’ उनले भने, ‘लकडाउनको मापदण्ड पालना गर्दै विकास निर्माणको काममा खटाएका छौं ।’ अन्नपूर्णले खाद्य संकटको आँकलन गरेर वडा वडामा कोदो खरिद पनि गरेको छ । ५ सय मुरी कोदो भण्डारण गरिसकेको गाउँपालिकाले जनाएको छ ।
यसबाहेक किसानलाई बीउबिजन वितरण गरिएको छ । तत्कालै उत्पादन हुने तरकारीका बीउ वितरण गरिएको छ । ‘लकडाउनभन्दा पछिको समय बढी दुःखद हुन सक्छ,’ वडा २ का अध्यक्ष चूडामणि अधिकारीले भने, ‘हामीले भोलिको दुख आँकलन गरेर अहिले तयारी गरेका छौं ।’ कठिन परिस्थितिका नागरिकलाई राहत नै दिनुपरे कोदो वितरण गरिने गाउँपालिका अध्यक्ष कुँवरले सुनाए । हालसम्म ४ किलोमिटरभन्दा बढी सिँढी बाटो र २ किलोमिटरभन्दा बढी ढलान बाटोे निर्माण भएको छ । यस्तै, सडक ग्राभेल र पोखरी निर्माण पनि धमाधम भैरहेका छन् ।
Related News
सम्बन्धित समाचार
ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश
नगर सभामा राजस्व बक्यौता असुली कार्ययोजना प्रस्तुत
दूतराजको प्रस्तुतिमा झुमे दर्शक
प्याब्सन कास्कीमा षडानन्द गौतम
hero news full width
मुख्य समाचार
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
एन प्याब्सन स्थापना दिवस, १४५ शिक्षक–कर्मचारी सम्मानित
पौष २८, २०८१फूलबारी मन्टेसरीको रजतजयन्ती
पौष २८, २०८१सहारा क्लब र दृष्टि आँखा हस्पिटलबीच सम्झौता
पौष २८, २०८१प्रेस सेन्टर कास्कीमा दीननाथ
पौष २७, २०८१कोन सहकारी अध्यक्षमा सिग्देल
पौष २७, २०८१