पोखरामा बैंक/वित्तीय संस्थाले पालना गरेनन् सुरक्षा मापदण्ड

रासस
वैशाख ३०, २०७७
coronavirus

कोभिड–१९ सङ्क्रमण रोक्न जारी बन्दाबन्दीलाई खुकुलो बनाउँदै विकास आयोजना, औद्योगिक प्रतिष्ठान तथा केही व्यवसाय सञ्चालनको अनुमति दिइए पनि पोखराका बैंक तथा वित्तीय संस्थाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको पाइएको छ।

जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले सोमबार पोखरामा गरेको अनुगमनका क्रममा अधिकांश बैंक, वित्तीय संस्था, बीमा, धितोपत्र तथा सहकारीहरुबाट पूर्वसावधानी तथा नियन्त्रणका उपाय अवलम्बन गरेको नपाइएकाले पुनः सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अवलम्बन गर्नुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न/गराउनका लागि सचेत गराइएको छ ।

जिल्ला प्रशासनले सूचना जारी गरी अब उप्रान्त अनिवार्यरूपमा मापदण्डको पालना गर्न आग्रह गर्दैै अन्यथा सिसीएमसी, सुरक्षा निकायका प्रतिनिधि वा जिल्ला प्रशासनका अधिकृतसहितको अनुगमन टोलीले सेवा वा व्यवसाय बन्द गराई सङ्क्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ।

सिसीएमसीका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले सोमबार अनुगमन गरिएका बैंक तथा वित्तीय संस्थामा सङ्क्रमण रोकथामका लागि पालना गर्नुपर्ने सुरक्षा उपायको पालना गरेको नदेखिएको बताउनुभयो । यही वैशाख २७ गतेदेखि सामाजिक दूरी कायम गर्ने÷गराउने पूर्ण जिम्मेवारी बहन गर्ने गरी कार्यालय सञ्चालनका लागि अनुमति दिइएको बताउँदै उहाँले भन्नुभयो, “जति संस्थामा अनुगमन गरियो, त्यहाँ सुरक्षा उपाय अवलम्बन गरिएको पाइएन, त्यस्ता संस्थालाई सचेत गराउँदै मापदण्ड पालनाको निर्देशन दिइएको छ।”

कार्यस्थलमा नियमित निसङ्क्रमित गर्ने, कार्यस्थलमा प्रवेश गर्नुपूर्व अनिवार्यरूपमा साबुनपानीले हात धुने, ज्वरो मापन गर्ने तथा व्यक्तिगत सुरक्षाका लागि मास्क, पञ्जा लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने र सेवा प्रवाहका बखत सामाजिक दूरी कायम गर्न/गराउन प्रशासनले सबैमा सचेत गराएको छ।

त्यसैगरी कार्यालयका जम्मा कर्मचारीको एकतिहाइ सङ्ख्या नबढ्ने गरी सेवा प्रवाहको व्यवस्था मिलाउने, कार्यालय प्रमुखले लकडाउनको अवधिमा काममा खटाइएका कर्मचारीलाई अनिवार्यरूपमा खटाइएको दिन, बार र समय स्पष्ट खुल्ने प्रमाणित कागजात र आफ्नो परिचयपत्र लिई कार्यालय आवतजावत गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width