गण्डकीमा पीसीआर टेष्टको १ महिना परीक्षण दर कस्तो छ?

आदर्श समाज सम्वाददाता
वैशाख १८, २०७७
12

पोखरा, १८ वैशाख । गण्डकी प्रदेशमै पहिलो पटक पोखरामा पीसीआर मेसिन ल्याएको ठिक १ महिना पुगेको छ । हालसम्म ६ सय २७ जनाको मात्र कोरोनाको पीसीआर टेष्ट गरिएको छ भने -यापिड डायनोस्टिक टेस्ट (आरडीटी) गर्नेको संख्या ५ हजार ४ सय १३ पुगेको छ ।

यसबीचमा कोरोना परीक्षण दरको प्रगति कस्तो रह्यो त ? विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएपछि पोखरामा गत चैत १८ मा भित्राइएको पीसीआर मेसिनबाट टेष्ट सुरु भएको हो । पोखरा–१०, रामघाटस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा परीक्षण हुनुअघि यहाँ स्वाब संकलन गरी काठमाडौं पठाउनुपर्ने बाध्यता थियो ।

हेलिकोप्टरमार्फत २ लाख रुपैयाँ बढी भाडा तिरेर मेसिन ल्याउनुअघि प्रदेशका ३२ वटाको नमुना संकलन गरिएकोमा २० जनाको टेष्ट भएको थियो । हाल नयाँ मेसिन र अस्पतालमै रहेको पुरानो मेसिनबाट पीसीआर टेष्ट भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नयाँ मेसिनबाट सुरु भएको ५ दिनपछि अर्थात चैत २३ बाट पुरानो मेसिनबाट पनि कोरोना जाँच सुरु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा निर्देशक नवराज शर्माले जनाए । यता, निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले प्रदेश–३ बाहेक अन्य प्रदेश तुलनामा आफूहरु नै कोरोना परीक्षणमा राम्रो गर्दैआएको दाबी गर्दछन् ।

उनले जति हुनुपर्ने थियो, सो परीक्षण भैसकेको र फाट्टफुट्ट संकलित स्वाब तथा आरडीटी हुने बताए । उनले भने, ‘हालसम्मको कन्ट्याक्ट ट्रेसिङको काम सकिएको छ । हामीहरुले अत्यन्तै मिहिन ढंगले काम गर्यौं । गण्डकीमा देखिएका २ जना बिरामी पनि उपचार पनि फर्किसकेका छन् । यो सुखद विषय हो ।’ हुन पनि पोखरामा दुई दिनयताको नमुना संकलनलाई हेर्ने हो भने परीक्षण दर घट्दो छ ।

बुधबारसम्म ६ सय २२ जनाको पीसीआर टेष्टका लागि नमुना संकलन गरिएको थियो । बुधबारमात्रै ४० जना र बिहीबार ५ जनाको मात्र स्वाब संकलन गरिएको छ । यसरी बिहीबारसम्म संकलित नमुना संख्या ६ सय २७ पुगेको हो । हालसम्मको परीक्षणमा २ जना संक्रमित (बागलुङका महिला निको भइ घर फर्केका), ६ सय २० जना नेगेटिभ र बाँकी ५ जनाको परिणाम आउन बाँकी छ ।

उता, आरडीटी टेष्ट पनि घट्दो छ । बुधबारसम्म गण्डकीमा कुल ५ हजार ४ सय ११ जनाको आरडीटी भएको जनाइएको थियो । बुधबार ६८ जनाको भएकोमा र बिहीबार मात्र २ जनाको आरडीटी भयो । अब थप तालिम दिएर जिल्ला–जिल्लामै सेवा दिने गरी केही जनशक्ति पठाउने तयारी स्वास्थ्य निर्देशनालयको छ ।

पोखराको ल्याबमा हाल केन्द्रबाट आएका २ जना सहित १० जना जतिले निरन्तर काम गरिरहेका छन् । नयाँ मेसिनले दैनिक बढीमा १२ वटा नमूनाको रिपोर्ट दिन सक्छ भने पुरानो मेसिन २ सिफ्टसम्म चलाउँदा १ सय ४० वटासम्म रिपोर्ट दिने क्षमता राख्छ । रि–रिजेन्ट प्रयोगसँगै पुरानो मेसिन समेत संचालनमा आउन थालेको हो । सुरुवातमा भने प्रयोगशालाका कर्मचारीले मेसिन अभाव भन्दै गुपचुप बसेका थिए । चैत अन्तिमबाट मात्र गण्डकीमा बागलुङबाट आरडीटी थालिएको हो । हाल गण्डकीमा ११ वटै जिल्लामा आरडीटी किटबाट परीक्षण सुविधा छ । जसमध्ये सबैभन्दा बढी जोखिम भनिएको बागलुङमा १ हजार १ सय २७ जनाको आरडीटी भयो ।

त्यसपछि कास्कीमा १ हजार ८५ जनाको आरडीटी भएको छ । गण्डकीमा चैतयता कुल ४ हजार ५ सय २२ जना मानिस विदेशबाट फर्किएको रेकर्ड छ । उनीहरुमध्ये अधिकांशको आरडीटी भैसकेको स्वास्थ्य निर्देशनालयको दाबी छ । नवलपुर जिल्लामा संकलित स्वाब भने चितवन पठाउने गरिएको छ । त्यहाँबाट साप्ताहिक रुपमा प्रदेश राजधानी पोखरालाई रिपोर्ट दिइने गरेको छ ।

यस्तै, हाल गण्डकीमा क्वारेन्टाइन बस्नेहरु हाल ४ सय ४६ जनामात्र छन् । सबैभन्दा बढी स्याङ्जामा १ सय ८७ जना, लमजुङ १ सय २१ जना, नवलपुर ६६, म्याग्दी २४, पर्वत १ सय २१, मनाङ १२, गोरखा ६, बागलुङ ६, मुस्ताङ २ र तनहुँ १ जना क्वारेन्टाइनमा छन् । कास्कीका क्वारेन्टाइनमा भने मान्छे छैनन् । सबै रित्तिएका छन् ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width