कोरोनाविरुद्ध अग्रमोर्चामा खटिनेलाई मुस्ताङी साग

रासस
वैशाख १६, २०७७
HB_Pokhara-mustaingkosag

मुस्ताङको मार्फाबाट पोखरामा ल्याएको साग बोरामा मिलाउँदै मुस्ताङका प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट । तस्वीरः हरि बाँस्तोला, रासस

पाेखरा । मुस्ताङको मार्फाली साग झट्ट सुन्दा पनि जोकोहीको मुख रसाउँछ । पोखरासहित देशका विभिन्न शहरका ठूलाठूला तारेहोटलमा यहाँका साग पुग्ने गरेको छ । प्रसिद्धी कमाएका थकाली भान्छाघरले पनि बढी मूल्य तिरेरै भए पनि यहाँको साग पाहुनालाई खुवाउने गरेका छन्।

मुस्ताङमा उत्पादित साग दैनिक जोमसोम विमानस्थल हुँदै पोखरा आउने गरेको छ । पोखराबाट काठमाडौँलगायतका शहरमा पनि यहाँको साग पुग्छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसको बढ्दो सङ्क्रमणसँगै विगत ३६ दिनयता जारी बन्दाबन्दीका कारण सागजन्य उत्पादनले बजार नपाउँदा यहाँका कृषक समस्यामा परेका छन् ।

कृषकले भोगिरहेको समस्यालाई दृष्टिगत गर्दै जिल्लाबाट निर्वाचित प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले कृषकलाई केही न केही राहत होस् भन्ने उद्देश्यले त्यहाँको साग खरिद गरी पोखरामा ल्याउनुभएको छ । मुस्ताङबाट आफ्नाे निजी खर्चमा खरिद गरेर ल्याए पनि विष्टले उक्त साग कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणमा अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई सम्भव भएसम्म निःशुल्क वितरण गर्दै आउनुभएको छ ।

यस अवधिमा दुई चरण गरी तीन हजार किलो साग मुस्ताङदेखि खरिद गरी ट्रकमा पोखरा ल्याएको बताउँदै उहाँले अग्रमोर्चामा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई साग वितरण गरेको जानकारी दिनुभयो । मुस्ताङका किसानको बारीबाट रु ३० प्रति किलोग्रामका दरले खरिद गरिएको साग प्रदेश राजधानी पोखरामा अत्यन्त संवेदनशील बन्नुपर्ने महामारीको यस क्षणमा अग्रमोर्चामा खटिनेका लागि आफूले केही हदसम्म भए पनि सहयोगस्वरुप प्रदान गरेको उहाँको भनाइ छ ।

घरपजोङ गाउँपालिकाको मार्फा क्षेत्रका लगभग ५० विपन्न घरपरिवारले उत्पादन गरेको मार्फाको साग उपल्लो मुस्ताङका ट्रक व्यवसायीको निःशुल्क ढुवानी सहयोगले पोखरा बजारसम्म ल्याउन सकेको बताउँदै प्रदेशसभा सदस्य विष्टले भन्नुभयो:

  • “यो सिजन सागको हो, मार्फा क्षेत्रमा अहिले पनि पाँच हजार किलोभन्दा बढी उत्पादित साग रहेको छ ।”

नरम, लयालु छिटो पाक्ने र स्वादिष्ट ‘हाइअल्टिच्युट’मा उत्पादित जैविक मार्फाको साग सामान्य अवस्थामा हवाईजहाजमा किलोको रु ५० शुल्क तिरेर पोखराको बजारमा रु १०० देखि रु १५९ सम्ममा बिक्री हुँदै आएको थियो । उपल्लो मुस्ताङका ट्रक व्यवसायी वाङजी गुरुङले खाद्यान्न सामग्री लिएर गएकोे र फर्कने क्रममा आफ्नै जनप्रतिनिधिको आग्रहमा मार्फाको साग निःशुल्क पोखरासम्म ढुवानी गरेको बताउनुभयो । मुस्ताङबाट लोड गरी पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्र अगाडिबाट साग वितरण गरिरहेको अवस्थामा भेटिएका ग१अ ५१३८ नंको ट्रकका साहुसमेत रहनुभएका उहाँले भन्नुभयो, “बन्दाबन्दीका कारण अप्ठ्यारोमा परेकालाई आ–आफ्नाे क्षेत्रबाट सबैले सहयोग गर्नुपर्दछ भन्ने सोचले निःशुल्क ढुवानीको व्यवस्था गरेको हुँ ।”

यसअघि पहिलोपटक किमी गुरुङको सहयोगमा दुई हजार किलो साग पोखरामा ल्याएर वितरण गरिएको थियो भने माथिल्लो मुस्ताङमा रहेको अन्य ट्रकले समेत आवश्यकतानुसार मुस्ताङबाट पोखरासम्म लाने कृषिजन्य सामग्री निःशुल्क ढुवानी गर्ने प्रतिबद्धता जनाएको प्रदेशसभा सदस्य विष्टले राससलाई बताउनुभयो । हिमालपारिको जिल्ला मुस्ताङको सिमी, स्याउ, च्याङग्रालगायका विभिन्न उत्पादन एवं उत्पादित वस्तुबाट बनेका परिकारको स्वदेश तथा विदेशमा अत्यधिक माग हुने गरेको स्थानीयवासी बताउँछन् ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width