तरकारी बिक्री नभएपछि गाईभैसीलाई खुवाउँदै किसान

रासस
वैशाख १२, २०७७
8238080-16×9-large

गलेश्वर, १२ वैशाख । म्याग्दीको बेनी नगरपालिका—२ खबराका किसान चन्द्रबहादुर कार्कीले १७ रोपनीमा तरकारी खेती गर्दै आएका छन् । व्यावसायिक खेती गरिरहेका उनीहरुलाई कहिल्यै तरकारीको बजारीकरणमा समस्या आइ लागेन । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि कार्कीलाई तरकारीको समस्याले पिरोलेको छ । उनले खेतमा काउली, धनियाँ, बन्दा, सिमी, बोडी, काँक्रालगायत तरकारी पर्याप्त छन् । तर बिक्री गर्ने ठाउँ छैन । तरकारी बिक्री नभएपछि पशुलाई खुवाउन बाध्य भएको उनको गुनासो छ ।

“बिक्रीका लागि बजारसम्म ढुवानी गर्ने अवस्था छैन । तरकारी खाने मान्छे पनि यहाँ छैनन्”, उनले भने “खेतमा यत्तिकै राख्नु भएन, त्यसैले घरमा पालेका गाईभैंसीलाई खुवाउनु पर्यो ।” कार्की मात्रै होइन, खबराका धेरै किसानले तरकारी बिक्री गर्न नपाएपछि अचेल दैनिक पशुलाई खुवाउँदै आएका छन् । खबराका अधिकांश कृषकले व्यावसायिकरुपमा तरकारी खेती गरेका छन् । अधिकांशको घरमा एकदेखि चारवटासम्म पशु रहेका र सामान्य रुपमा भएपनि धेरैले तरकारी खेती गरेकाले गाउँमा समेत बिक्री नहुँदा उनीहरु पशुलाई तरकारी खुवाउन बाध्य भएका हुन् ।

गत बर्ष रु तीन लाख मूल्य बराबरको तरकारी बिक्री गरेका कार्कीले यस वर्ष विक्री गर्ने बेलामा एक महिनासम्म लकडाउन भएपछि बेनी बजारका मानिसहरु गाउँ उक्लिएकाले बिक्री गर्न नपाएको र खेतमा कुहेर खेर जानुभन्दा पशु चौपायालाई खुवाउन थालिएको कार्कीले बताए । म्याग्दीको पर्यटकीय स्थल लभ्लीहिल(मायालु डाँडा)को नजिकै रहेको खेतमा व्यावसायिकरुपमा नै तरकारी खेती गर्दै आएका कार्कीले लकडाउन (बन्दाबन्दी) भएपछि यहाँ फाट्टफुट्ट घुम्न आएका मानिसलाई निःशुल्क तरकारी दिएर पठाउने गरेको बताए । गाउँमा अधिकांशको घरमा आफ्नै तरकारी भएकाले बिक्री नहुने बताउँदै उनले लकडाउनका कारण सवारी साधन नहुँदा र बजार पनि नखुलेकाले तरकारी बजार लान नपाएको गुनासो व्यक्त गरे ।

खबराकै अर्का किसान शोभित शर्माले दैनिकरुपमा जिल्ला प्रहरी कार्यालयमा तरकारी निर्यात गर्ने भएकाले उत्पादन भएको तरकारी पशुलाई नै खुवाउनु पर्ने वाध्यता नभएपनि बाहिर बिक्री गर्न नपाउँदा बचेको तरकारी खेतबारीमा नै खेर गएको बताए । त्यसैगरी रोहोटेका कषक हरिलाल घिमिरेको बारीमा लहलहै झुलेका बोडी, सिमी, काँक्रो लगायतका बेमौसमी तरकारीले बजार नपाएपछि आफ्नो श्रम र लगानी दुवै खेर गएको बताए । तरकारी मात्र होइन, घरमा पालेका भैंसीको दूधसमेत बिक्री गर्न नपाएको उनको गुनासो छ । दुईवटा भैंसी पालेका घिमिरेले दैनिक ५ लिटर दूध बिक्री गर्दै आएकोमा विगत एक महिनादेखि बिक्री नहुँदा दोहोरो नोक्सान भएको बताए । घिमिरेले पनि बारीमा रहेको तरकारी टिपेर भैंसीलाई खुवाउँदै आएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width