आफ्नै बारेका केही कुरा

आदर्श समाज राष्ट्रिय दैनिकको यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान छ। यस क्षेत्रमा यो एक सर्वाधिक पढिने पत्रिका भएको छ। ‘समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ नाराका साथ अघि बढेको यस पत्रिकाले नारा अनुसार व्यवहारमा पनि स्वतन्त्र रहेर पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ।

आदर्श समाज राष्ट्रिय दैनिक २०५३ साल वैशाख १ गते पाक्षिक पत्रिकाको रूपमा आएको थियो भने २०५४ साल बैशाखमा यसले साप्ताहिकको रूप धारण गरेको थियो। त्यसै वर्ष एउटा ठूलो जमको गरी माघ १९ गते राष्ट्रिय दैनिकको रुपमा यसको प्रकाशन प्रारम्भ भएको थियो।

त्यस बेलादेखि निरन्तर हामी अघि बढिरहेका छौँ। निष्पक्ष र स्वतन्त्र समाचार सम्प्रेषण गर्नु हाम्रो प्रमुख काम भएको छ। पाठकको राय, सल्लाह लिनु र तदानुसार अगाडि बढ्नुलाई हामीले नीति निर्देशकका रुपमा लिएका छौँ। पाठकबाट प्राप्त सल्लाह र सुझावका लागि हामी ज्यादै अनुगृहित छौँ।

पाठकको प्रेरणा र प्रोत्साहनले आदर्श समाजको वितरण २१ जिल्लामा फैलिएको छ भने प्रेस काउन्सिल नेपालले गरेको पत्र-पत्रिकाको वर्गीकरणमा आदर्श समाजले राष्ट्रिय ‘क’ वर्गको मान्यता पाएको उल्लेख गर्न पाउँदा हामीलाई गर्व लाग्दछ। त्यति मात्र होइन, देशका पत्रपत्रिकाको ‘स्टयाटस’मा यो पाँचौ स्थानमा रहेको कुरा पनि उल्लेखनीय छ। बिबिसीले गत वर्ष गरेको सर्वेक्षण अनुसार यो पत्रिका पश्चिमाञ्चल क्षेत्रमा सर्वाधिक पढिने पत्रिका हो।

सरकारले पत्र-पत्रिकामा काम गर्ने श्रमजीवी पत्रकारहरूको हकहितमा जारी गरेका श्रमजीवी पत्रकार ऐनको हामीले सहर्ष स्वागत गरी त्यसको आवश्यकता महसुस गर्‍यौँ। ऐन जारी भएकै बेलादेखि आदर्श समाजमा काम गर्ने श्रमजीवी पत्रकार तथा कर्मचारीहरूलाई ऐन अनुसारको न्यूनतम तलवको व्यवस्था गरेका छौँ।

पाक्षिकबाट सुरु भएको आदर्श समाज अहिले यो रुपमा छ। अहिले यसमा श्रमजीवी पत्रकार र अन्य कर्मचारी गरी ७२ जना कार्यरत छन्। यस क्षेत्रमा हामी जति अघि बढ्दैछौँ, उति प्रशासकीय र व्यवस्थापकीय चुनौति थपिदै छन्।

आदर्श समाजको जे-जसरी स्तरोन्नति भएको छ, त्यो पाठक, हाम्रा विज्ञापनदाता, लेखक एवम् शुभचिन्तकहरूको सहयोग र सद्भावले भएको हो। त्यसका लागि हामी सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। आज हामी १९ वर्ष पूरा गरी २० वर्षमा पदार्पण गर्दैछौँ। यस वर्ष हामीले स्तरोन्नतिका लागि अरु प्रयास गर्ने कार्यक्रम बनाएका छौँ। हाम्रो यस प्रयासमा पनि सबैको सधैझैं सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेका छौँ। यस नव वर्षको उपलक्ष्यमा हामी हाम्रा पाठक, विज्ञापनदाता, लेखक, शुभचिन्तक सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछौँ।