पूर्व तयारीमा जुट्न होटल संघको आग्रह

आदर्श समाज सम्वाददाता
श्रावण १०, २०७७
Lakeside Hotels

फाइल तस्बिर

पोखरा, १० साउन । सरकारले लकडाउन खुलेको घोषणा गरेसँगै विस्तारै होटल व्यवसाय पनि संचालनमा आउने अपेक्षा सहित पश्चिमाञ्चल होटल संघ पोखराले पूर्व तयारीमा जुट्न मातहतका सदस्य व्यवसायीहरुलाई आग्रह गरेको छ । संघतर्फबाट अध्यक्ष विकल तुलाचनले शुक्रबार विज्ञप्ति जारी गरी त्यस्तो आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘कोरोना संक्रमणको अवस्थामा पर्यटकहरुको आगमनमा शुन्य रहेको हुँदा यो समयलाई सदुपयोग गर्दै प्रमुख पर्यटकीय सिजन लक्षित गरी त्यस समयमा आगमन हुने पाहुनाहरुलाई भयरहित वातावरणको सुनिश्चिता गर्न आग्रह गरिन्छ । आतिथ्यता प्रदान गर्न संघले होटल प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुलाई होटल संचालन कार्यविधि (प्रोटोकल) अनुरुप तालिम प्रदान गर्ने, सुरक्षा सावधानीका सामग्री खरिदमा सहजिकरण गर्ने हुँदा यहाँहरुलाई आन्तरिक तयारीमा जुट्न समेत आग्रह गर्दछौं ।’

पर्यटन चलायमान बनाउन वर्तमान समयमा आन्तरिक पर्यटकको विशेष भुमिका रहने भन्दै संघले निकट समयमा नै डिजिटल वा विभिन्न माध्यमबाट आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यहरुको तयारी गरिरहेको पनि जनाएको छ ।

यसैगरी होटल सेवा पनि सावधानी अपनाउँदै क्रमिक रुपले खुल्दै जाने अपेक्षा संघले गरेको पनि उल्लेख गरिएको छ । सरकारले साउन ६ बाट जनजीवन र आर्थिक गतिविधि चलायमान बनाउन पूर्ण सुरक्षा सावधानी अपनाउँदै करिब ४ महिनाको लकडाउन अन्त्य गरेको थियो । यस घोषणासँगै साउन १५ देखि होटल, रेष्टुरेण्ट तथा पर्यटन व्यवसाय र भदौ १ देखि लामो दूरीका यातायात सेवा, आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाइ सेवा पुनःसंचालन गर्न सेवा प्रदायकहरुलाई अनुमति प्रदान गरेको विज्ञप्तिमा स्मरण गराइएको छ ।

‘लामो समयको लकडाउनले गर्दा व्यवसायीहरु मानसिक तथा आर्थिक रुपमा दबाबमा परेका कारण व्यवसायलाई गति दिन केही समय लाग्ने निश्चित छ । पर्यटनलाई पुरानो लयमा फर्काउन र कसरी चलायमान बनाउन सकिन्छ भन्ने चिन्ताको विषय हो । यसका लागी आन्तरिक तथा वाह्य पर्यटकहरुको आवागमन वृद्धि हुनु जरुरी छ,’ विज्ञप्तिमा भनिएको छ , ‘हाल सरकारद्वारा होटल संचालन कार्यविधि जारी गरेको र सो कार्यविधि अवलम्बन गरी व्यवसाय संचालन गर्नु सबैको दायित्व हो ।’

कोभिड–१९ कारणले पर्यटन क्षेत्रमा ठूलो आर्थिक क्षति पुग्न गएको अवस्थामा पर्यटन तथा होटल व्यवसायलाई पुनरुत्थान गर्न केन्द्रिय, प्रादेशिक तथा स्थानीय सरकारसमक्ष विभिन्न छलफल गरिएको र मागहरु राखियता पनि व्यवसाय पुनरुत्थान गर्न सबै तहका सरकारबाट कुनै उल्लेख्य नीति तथा कार्यक्रम ल्याउन नसकेको पनि संघले गुनासो गरेको छ ।

मौद्रिक नीतिमा विशेषगरी होटल तथा पर्यटन क्षेत्रमा सहुलियत दरको पुनर्कर्जा, ऋणको पुनर्तालिकीकरण, सावाँ तथा व्याज भुक्तानको लागि थप समयावधि माग भए अनुसार केही सम्बोधन हुनुले केही राहत मिलेको महसुस संघले गरेको छ ।

नीति आफैंमा सामान्यतया उत्कृष्ट हुन्छ तर कार्यान्वयन सुनिश्चिता प्रमुख रहेको हुनाले यसको अक्षरसः पालना गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई अनुरोध गर्दै नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण पनि संघले गराएको छ ।

कोरोनाले पर्यटन क्षेत्रमा देखिएको शिथिलता मध्यनजर गर्दै संघ पोखराले यस विषम परिस्थितिमा होटल प्रतिष्ठानहरुलाई सहुलियत प्रदान गर्ने उद्देश्यले विगतका वर्षहरुमा लिइँदै आएको नवीकरण शुल्क र नयाँ सदस्यता शुल्कमा ५० प्रतिशत छुट दिई आर्थिक वर्ष २०७७/०७८ को नवीकरण र नयाँ सदस्यता प्रदान गर्ने जानकारी पनि संघले गराएको छ ।

Related News

सम्बन्धित समाचार

  • रोजाइमा ‘भ्यू प्वाइन्ट’ जलजला

    आदर्श समाज सम्वाददाता कार्तिक १४, २०८१
    म्याग्दी । घना जंगलको शिरमा समथर घाँसेमैदान । पृष्ठभूमिमा हिमालहरूको लामो लर्कन । बिहानीमा सूर्योदय र साँझको सूर्यास्तको मनमोहक दृश्य…
  • होटल संघमा दोहोरिए लक्ष्मण

    आदर्श समाज सम्वाददाता कार्तिक ९, २०८१
    पोखरा । होटल संघ पोखरा नेपाल अध्यक्षमा पुनःलक्ष्मण सुवेदी निर्वाचित भएका छन् । संघको बिहीबार २१औं अधिवेशन तथा ४२औं साधारण…
  • घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट

    रासस कार्तिक २, २०८१
    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् । घोडेपानी टोल सुधार…
  • कुश्मामा पर्यटकको घुइँचो

    रासस असाेज २९, २०८१
    पर्वत । पर्यटकीय पूर्वाधार निर्माण भएसँगै यहाँका विभिन्न पर्यटकीयस्थलहरुमा दसैँका बेला आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । दसैँ…
  • चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार

    रासस असाेज २६, २०८१
    कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमाल पदयात्राका क्रममा हाइक्याम्पबाट हराएकी एक चिनियाँ पर्यटकको दुई दिनपछि सकुसल उद्धार गरिएको…

hero news full width