जनशक्ति नभएपछि करोडौंका भेन्टिलेटर स्टोरमै

आदर्श समाज सम्वाददाता
कार्तिक १३, २०८१
ventilattor

पोखरा । गत वर्ष म्याग्दीका एकजना बिरामी सिकिस्तै बिरामी भए । उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भयो । बेनी अस्पतालमा भेन्टिलेटर सेवा प्रभावकारी नभएका कारण बागलुङ रेफर गरियो ।

धवलागिरी अस्पतालमा १ महिनाभन्दा बढी भेन्टिलेटरमार्फत उपचार गरेर फर्काइयो । बेनीमा पनि भेन्टिलेटर राख्न सरकारले मेसिन उपलब्ध गराएको थियो । कोरोना संक्रमण समयमा बेनीमा मात्रै ४ वटा भेन्टिलेटर मेसिन पठाइएकोमा मेसिनहरु थन्क्याएर राखिएको छ । २ वटालाई आइसियुमा प्रयोग गरिएको छ भने अरु प्रयोगविहीन रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. अञ्जु थापाले बताइन् । ‘भेन्टिलेटर चलाउन नसक्नुमा सबैभन्दा ठूलो समस्या भवनकै छ । भवन बन्दैछ, सकिएको छैन,’ डा. थापाले भनिन्, ‘भेन्टिलेटर चलाउन आवश्यक जनशक्ति पनि हामीसँग छैन । मेसिनमात्रै भएर जनशक्ति नभए कसरी चलाउने ?’ उनका अनुसार जेठदेखि एकजना एनेस्थेसियोलोजिष्ट पठाइएको छ । प्रयोग नगरे पनि मेसिन काम गर्ने अवस्थामै रहेको उनको भनाइ छ ।

मनाङ जिल्ला अस्पतालमा कोरोनामा पठाइएको सामान एकपल्ट पनि नखोली स्टोरमा राखिएको छ । भेन्टिलेटरमा राख्नुपर्ने बिरामी आए भने तत्कालै पोखरा, काठमाडौं रेफर गर्ने गरिन्छ । केही वर्षअघि मात्रै प्रदेशमातहत ल्याइएको पोखराको मातृशिशु अस्पतालमा भेन्टिलेटरका मेसिन प्रयोगविहीन भएर थन्किएका छन् । प्रदेश आपूर्ति केन्द्रकी महानिर्देशक डा. रेखा पौडेल गइसकेको मेसिन फिर्ता ल्याउन सहज नभएको बताउँछिन् । ‘त्यो बेला गैहाल्यो । कुनै अस्पतालमा पठाउने र कुनैमा नपठाउने गर्दा ठूलो समस्या आउनेवाला थियो,’ उनी भन्छिन्, ‘कति मेसिन प्रदेशले दियो, कति माननीयज्यूहरुले पावर लगाएर केन्द्रबाट ल्याउनुभयो । त्यसैले प्रयोगमा आउन सकेनन् । फिर्ता ल्याउन पनि झन्झट छ ।’

गण्डकी प्रदेशका १२ वटै अस्पतालमा २३ वटा आइसियू, ७६ वटा एचडियू र १९ वटा पिआइसियू छन् ।

कोरोना महामारी नियन्त्रण र स्वास्थ्य सुरक्षाका लागि गण्डकी सरकारले तत्कालीन समयमा विभिन्न चरण गरी २८ वटा भेन्टिलेटर मेसिन फरक–फरक मूल्यमा किनेको थियो । ती मेसिनहरु प्रदेश सरकारमातहत अस्पतालमा पठाइएको छ । संक्रामक तथा सरुवा रोग अस्पताल र स्याङ्जा जिल्ला अस्पतालमा ४÷४ वटा, धवलागिरी, गोरखा र जीपी कोइराला अस्पतालमा ३/३ वटा, म्याग्दी, प्रदेश स्वास्थ्य कार्यालय, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २/२ वटा र लमजुङ, मध्यविन्दु, मुस्ताङ र पर्वतमा १÷१ वटा मेसिन पठाइएको हो । ती मेसिन ५ करोड हाराहारीमा खरिद गरिएको बताइएको छ । एकपटक २ करोड ७२ लाखमा १४ मेसिन खरिद गरिएको थियो भने ५५ लाख २० हजारमा थप ४ वटा र ६५ लाख २५ हजार छुट्टै ३ मेसिन खरिद गरिएको छ । ७ वटा मेसिनको मूल्य उल्लेख गरिएको छैन ।

त्यसबाहेक संघ सरकार र विभिन्न सहयोगी संस्थाहरुले पनि भेन्टिलेटर मेसिनहरु पठाएका थिए । त्यसको विवरण गण्डकी प्रदेश सरकारसँग छैन । मेसिनको संख्या र प्रयोगको अवस्थाबारे एकीकृत तथ्यांक संकलन भइरहेको स्वस्थ्य निर्देशक खिम खड्काले जानकारी दिए । ‘अस्पतालपिच्छे छुट्टछुट्टै डाटा हामीसँग छ । एकीकृत डाटा संकलन गर्दैछौं,’ उनले भने, ‘केही समयभित्रै त्यो तयार हुन्छ ।’ प्रदेश सरकारमातहत २ जना मात्रै एनेस्थेसियोलोजिष्ट छन् । खड्काका अनुसार प्रदेश आपूर्ति केन्द्रले कोरोनाकालमा आइसियू र एचडियू सेवा पनि सञ्चालन गरेको थियो ।

गण्डकी प्रदेशका १२ वटै अस्पतालमा २३ वटा आइसियू, ७६ वटा एचडियू र १९ वटा पिआइसियू छन् । तर सबै प्रयोगमा छैनन् । कतै भौतिक संरचना नहुँदा मेसिन जोडिएको छैन भने कतै जनशक्ति अभाव छ । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठक हालसम्म खरिद भएका र अस्पतालमा पठाइएका मेसिनको अवस्था बुझेर प्रयोगमा ल्याउने व्यवस्था मिलाउने बताउँछन् । ‘मन्त्री भएपछि धेरै जिल्ला पुगें, मेसिन थन्किएको मैले पनि देखेको छु,’ उनले भने, ‘जनशक्ति भएका ठाउँमा मेसिन छैन, मेसिन भएको ठाउँमा जनशक्ति छैन । कतै आवश्यक नै नभएको ठाउँमा पनि मेसिन पठाइएको छ ।’ मेसिन पठाएपछि आवश्यक जनशक्ति पनि खटाउनुपर्ने उनको भनाइ छ । गण्डकी सरकारमातहत एनेस्थेसियोलोजिष्ट २ जना मात्रै स्थायी दरबन्दीका छन् ।

बाँकी ५ जना काम चलाउनका लागि नियुक्त गरिएको छ । अपुग जनशक्ति भर्ना गर्न सरकार सकारात्मक रहेको सचिव विनोदबिन्दु शर्माले बताए । लमजुङ, गोरखा र बागलुङमा चाहिँ भेन्टिलेटर चलाउन आवश्यक जनशक्ति व्यवस्थापन गरिएको र सञ्चालन पनि भइरहेको उनको भनाइ छ । अन्य अस्पतालमा पनि बिस्तारै मेसिन प्रयोगमा ल्याउने शर्माले सुनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग