नाबालिकाका लागि सामाजिक सुरक्षाको खाँचो

दिनेश बस्नेत
फागुन १९, २०७८

नेपाली युवाहरुबीच यतिबेला निकै चासोको विषय पल शाह र समीक्षा अधिकारीबीचको सम्बन्ध । अर्थात् पल शाहले समीक्षा अधिकारीलाई बलात्कार गरे भनेर जोहेरी दिएको र पल शाह हिरासतमा भएको घटना । गल्ती कसको ? के पल शाह साँच्चिकै सजायका भागीदार होलान् त ? नेपाली जनता अनावश्यक तबरले विवादित र विभाजित बनेका छन् । अझ बढी पक्षधर मान्छे पल शाहको पोल्टामा देखिएका छन् ।
पल शाह एउटा चलचित्र नायक मात्र नभएर सामाजिक कार्यमा समेत समयानुकूल आफूलाई उभ्याउन सकेको कारणले होला उनका फ्यान फलोअर्स बढेका । वास्तवमै नायक लाग्ने छबि बनाएका पल शाहले बलात्कारविरुद्धका निकै सचेतनामूलक संवाद चलचित्रमा बोलेका छन् । नारीको सम्मानमा आफ्नो भूमिका पटकपटक प्रस्तुत गरेका छन् ।
केही समय पहिला बलात्कारविरुद्धको अभियानमा जुटिरहेको संस्था, ‘रक्षा नेपाल’ मा जाँदा त्यहाँ अवस्थित बलात्कृत चेलीहरुलाई सम्बोधन गरेर निकै भावुक भएर पल शाहले भनेका थिए रे, ‘बहिनीहरु जीवनमा जे भयो, भै गयो । अब बाँकी जीवनमा तिमीहरुका लागि पल दादा छु । मेरो जीवन रहेसम्म म अन्याय र अत्याचारविरुद्धमा सधैं तिमीहरुकै साथमा हुनेछ । बलात्कार त केटाहरुबाट नै हुने हो तर सबै केटालाई बलात्कारी नठान्नू । मेरो पनि भर्खरै फक्रिँदै गरेको फुलजस्ती एउटी बहिनी छन् । तर आजबाट मेरा सयौं बहिनी भए भन्ने ठानेको छु । यो दाजुलाई आफ्नो माइतीका रुपमा स्वीकार्नू ।’
टुक्रिएका सिसाजस्ता मन बनाएकी युवतीहरुलाई सान्त्वना दिन उनका वाक्याशंहरु मुलायम हातले मालिस गरेजस्तै बनेका थिए सायद, भड्किरहने र बल्झिरहने मनोवैज्ञानिकताको लागि मलमपट्टीको काम गरेका थिए सायद । तर आज समयले पल शाहलाई यसरी तनि बल्ड्याङ् खुवायो । ती युवतीहरुले पनि ठानेका होलान् । सबै लोग्ने मान्छे उस्तै हुँदा रहेछन् । झन् त्यस प्रकारका भावनामा दोब्बर वृद्धि हुन सक्छ । किन कि एउटा नायकबाट राम्रो चलचित्रको मात्र अपेक्षा गरिंदैन । समाजलाई परिवर्तन गर्ने खाले चरित्रको पनि अपेक्षा गरिन्छ । एउटा आदर्श व्यक्तिको रुपमा जनस्तरमा स्वीकारिन्छ ।
त्यसो त उनी निर्दाेष हुन सक्छन् । सामाजिक सञ्जालमा आए जसरी उनलाई फसाउने प्रपञ्च भएको पनि हुन सक्छ । अथवा समीक्षा अधिकारीले आरोप लाए जसरी कसुर प्रमाणित हुनसक्छ । पल शाह प्रहरी हिरासतमा छन् । मुद्दा अदालत पुगेको छ, सबैले बुुझ्नुपर्ने कुरा अदालतको निर्णय सर्वेसर्वा हुन्छ । कानुनलाई सबैले सम्मान गर्नुपर्छ । तर यहाँ त ठाउँ ठाउँमा भिड नै जम्मा भएको छ पल शाहको पक्षमा । समीक्षामाथि दोष थुपारिएको मात्र छैन । व्यक्त गर्नै नसकिने निन्दनीय र घृणाजनक शब्दहरु व्यक्त गरिएको छ । समस्त नारीको जनजीवनमा आँच आउने शब्दावली प्रकट गरिएको छ ।
पक्कै पनि भीडले न्याय दिँदैन । भिडले त अरुलाई उक्साउने क्षमता राख्छ । पक्षलाई पनि क्षणिक साहस र स्फूर्ति देला । तर कालान्तरमा पहिचान समेत धमिलो पार्छ । अर्थात् भिडले भिडमा समावेगलाई पनि न्याय दिने हैसियत राख्दैन, अन्य महत्वकांक्षा त बेकार हुन्छन् ।

कयौं विषय र कयौं घटनामा हामी विषयभन्दा व्यक्तिलाई महत्व दिन्छौं । वर्ग र सम्प्रदायलाई प्राथमिकता दिन्छौं

हाम्रो समाज प्रतिदिन मानसिक दरिद्रतातर्फ उन्मुख हुँदै गए जस्तो लाग्छ । यो घटनामा मात्र होइन । त्यस्ता कयौं विषय र कयौं घटना छन् जसलाई हामी छनोट गर्दा विषयभन्दा व्यक्तिलाई महत्व दिन्छौँ । वर्ग र सम्प्रदायलाई प्राथमिकता दिन्छौं । आफ्नो उपस्थित र अभिव्यक्ति कहाँ कसरी प्रस्तुत गर्ने अलम लिन्छौं । सही र गलतको निक्र्याैल गर्न सक्दैनौं । या त बेवास्ता र लापरबाही गर्छाैं । त्यही स्तर कायम आज पल शाहका पक्षधरहरुबाट भइरहेको छ । यहाँनेर बुझ्नुपर्ने कुरा नाबालिक हुन् । नाबालिक ठानौं त्यसलाई तोडमोड गरेर उनको उछित्तो काट्न अतिरञ्जित हुन्छ होला । त्यति सान्दर्भिक पनि नहोला । तर विडम्बना ! ‘पल शाहलाई न्याय दे ,’, ‘पल शाहलाई रिहा गर ।’ भनेर जबर्जस्ती न्यायलयलाई प्रभावित पार्ने प्रयास गरिएको छ । अझ नायिका पूजा शर्मा त पल शाहको तस्बिर अंकित टिसर्ट लगाएर हलमा देखा पर्दै भन्छिन् , ‘सत्यको जीत हुन्छ, पललाई कसैले केही गर्न सक्दैन । पूजा भनेकै पलको पिल्लर हो । पूजा विना पल अधुरो छ । पल विना पूजा अधुरो हुन्छे । फिजिकल्ली यहाँ नभए पनि पल मेरो मनमा छ मेरो साइडमा उभिएको छ । मेरो साथ दिइरहेको छ । मेरो काँधमा यसो गरिरहेको छ ।’
उनले थप्छिन्, ‘आफ्नो फिल्मलाई आफ्नो भनेर हिन्ड्न नपाउँदाको पीडा मलाई थाहा छ । प्रेम गीतमा म हिँड्न पाएको थिइनँ । अहिले पललाई के भइरहेको छ होला । उसको फिलिंग्स के होला । आजकल एकदम मिस भइरहेको छ । तर पनि हामी सँगै छौँ । यो नै सबै भन्दा ठूलो जीत हो । पललाई कसैले केही गर्न सक्दैन । यो मेरो हन्ड्रेड प्रसेन्ट विश्वास हो । सत्यको जीत हुन्छ । एकदिन पल आउँछ । दर्शकको साथ छ भने पललाई कसैले केही गर्न सक्दैन ।’
एउटा नायिकाले सचेत व्यक्तिको औकातभन्दा त्यति तल झरेर अभिव्यक्त दिनु हँुदैन्थ्यो । हन्ड्रेड प्रसेन्ट दिएर पललाई सावित गर्न खोज्नु र दर्शकको साथ छ भने कसैले केही गर्न नसक्ने भनेर भन्नु हुँदैन्थ्यो । कानुनका आँखामा सबै बराबर हुन्छन् । कानुनले मान्छेको जमात पनि हेर्दैन । व्यक्तित्वको आडम्बरबाट कानुन प्रभावित पनि हुँदैन यो सत्यता पूजा शर्मा स्तरका नायिकाले अझ बुझ्नुपर्दथ्यो; ‘म पनि नारी हुँ, त्यो खालको थप्पडको पीडा मेरा गालामा हाने पनि उत्तिकै दुख्थ्यो, समीक्षाको गालामा हान्दा पनि उत्तिकै दुख्दछ ।’
कतिपय अवस्थामा स्वयं आफ्नो पनि आफैंले जिम्मेवारी लिन सकिँदैन । जानी या नजानी मान्छेबाटै गल्ती हुन्छ । एक छिन मानौं, पलबाट पनि गल्ती भएको थियो कि । पल शाह र समीक्षाबीच शारीरिक सम्बन्ध रहे को भन्ने त सामाजिक सञ्जालमा आइरेहको छ । नेपाली मिडियाले तताइरहेको छ । त्यसैले शारीरिक सम्बन्ध रहेको अनुमान गर्नु गलत नहोला, अन्यथा नहोला । यदि एउटी १८ वर्षमुनिकी केटीले कुनै पुरुषसँग सहमतिमै यौन सम्बन्ध राखेमा, अझ यतिसम्म कि कुनै नाबालिकाले पुरुषलाई कोठामा तानेर आफ्नो इच्छा र स्वीकृतिमा यौन सम्बन्ध राखेमा पनि कानुनतः बलात्कार ठहरिन्छ । यसमानेमा प्रत्येक १८ वर्षका नाबलिकाहरु शारीरिक रुपमा परिपक्व भए पनि मानसिक रुपमा तिनीहरु परिपक्व भएका हुँदैनन् भन्ने अनुभूति हुन्छ । हामीहरु नाबालिकाका भावनाहरुलाई उनीहरुकै उमेर समूह अनुरुप बुझ्नुपर्छ । नाबालिकालाई नाबालिकाको हिसाबले बुझ्नुपर्छ । तिनीहरुको भविष्य र सपना सुरक्षित दिलाउन सकियो भने नै समाज रुपान्तरणको प्रक्रियामा जान सकिन्छ । त्यसैले नाबालिकाहरुको लागि सामाजिक सुरक्षाको अति आवश्यकता छ ।
हामीले हाम्रो कानुनको पालन गर्नु, नारीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु र समाजलाई मानवीय बनाउनु हाम्रो दायित्व हो । कुनै पनि नारी भय र संशयमा बाँच्नु पर्छ भने, पुरुषहरुलाई शत्रुभाव साँधेर हिँड्नपर्छ भने, अझ एउटा नाबालिकाको भावना धारास्थायी हँुदै जान्छ । विविध प्रकारका महिला हिंसामा पुरुषहरुले गर्व गर्ने कृपया हाबी हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width