पार्टीकारिताले थिचिएको पत्रकारिता

कृष्णप्रसाद बास्तोला, अध्यक्ष/प्रधान सम्पादक
माघ ११, २०७८

पत्रकार स्वतन्त्र, निष्पक्ष र निर्भीक हुनुपर्छ भन्ने मान्यता धेरै पहिलेदेखिको हो । परम्परादेखि कायम हुँदै मान्यताहरुलाई कानुनसरह नै मानिएका धेरै उदाहरण छन् । तसर्थ पत्रकारिता गर्नेले स्वतन्त्र रहेर, कसैको पक्ष नलिइकन, निडरतापूर्वक सत्य–तथ्य कुरा जनसमक्ष ल्याउनुपर्दछ ।
त्यस्तै पत्रकारिता क्षेत्रमा अर्को एउटा महत्वपूर्ण नीति छ । पत्रकारले निर्वाचनमा मत दिनुबाहेक अरु कुनै पनि बेला आफ्नो राजनीतिक आस्था प्रकट गर्नुहुँदैन । मानिसको आ–आफ्नो राजनीतिक आस्था हुन्छ । उनीहरु आफ्नो राजनीतिक आस्थालाई खुला वा गोप्य मतदान प्रयोग गर्न स्वतन्त्र छन् । आफ्नो मत व्यक्त गर्न पाउनु मानिसको राजनीतिक स्वतन्त्रता हो । लोकतन्त्रमा यसको विशेष महत्व रहन्छ । तर पत्रकारिता क्षेत्रमा काम गर्नेहरुका लागि भने खुला रुपमा आफ्नो राजनीतिक मत प्रकट गर्न बन्देज रहेको छ । प्रजातान्त्रिक निर्वाचनमा मतदातालाई उत्साहित पार्नु पत्रकारको धर्म हो । तर कुनै पनि पार्टीको प्रचारमा लाग्नु पत्रकारिताको मर्यादाविपरीत हुन्छ । यो सञ्चारविज्ञहरुले नै बनाएको नीति हो, नियम हो ।
पत्रकारिताको सुरुआत चीनबाट भएको मानिए पनि पत्रकारितासम्बन्धी नीति–नियमहरुको निर्माण तथा विकास बेलायतलगायत पश्चिमी मुलुकहरुमा भएको हो । छिमेकी मुलुक भारतमा पनि पत्रकारिताको अभ्यास गहन रुपमा भएको पाइन्छ । पत्रकारले के गर्न हुने, के गर्न नहुने भन्ने कुरा अहिले सञ्चार क्षेत्रको मात्र होइन, आमजनमानसमा पनि बहस चलिरहेको छ ।
संसारकै पुरानो पूर्वीय दर्शनमा पनि स्वतन्त्र पत्रकारिताको परिकल्पना गरिएको देखिन्छ । पूर्वीय दर्शनमा पत्रकारिता क्षेत्रको कुरा गर्दा पुराणमा उल्लेख भएका नारद मुनिलाई सम्झिने गरिन्छ । देवता र दानवबीचको लडाइँमा नारदले निष्पक्ष भूमिका खेलेका थिए । उनले लडाइँमा एकअर्काले गरेका तयारीबारे दुवै पक्षलाई सु–सूचित गर्दथे । उनी आपूm देवता थिए । तर उनले देवताको पक्ष नलिई स्वतन्त्र रहे । यस्तै उनको स्वभाव थियो, स्थिर भएर नबस्ने । स्थिर भएर बस्यो भने भष्म भइन्छ भन्ने नारदलाई डर थियो । नारदका दुई कुरालाई हामीले सांकेतिक रुपमा बुझनु आवश्यक छ । एउटा हो निष्पक्षता र अर्को क्रियाशीलता । निष्पक्षता नभए पत्रकारिता हुँदैन । क्रियाशीलता नभए तथा केही नलेखी स्थिर भई बस्नु भनेको त झन् पत्रकारितालाई निस्तेज पार्नु हो । यसर्थ अहिले हामीले स्थापनाकालदेखिको पत्रकारिताको आदर्श, मूल्य र मान्यतालाई आत्मसात गरिरहेका छौं कि छैनौं भनेर गम्भीर भई सोच्नु जरुरी छ ।

राजनीति नै गर्नु छ भने खुरुक्क पार्टीमा जाँदा राम्रो नत्र कञ्चन पत्रकारितालाई धमिलो बनाउने किन?

हाम्रो देशमा प्रजातान्त्रिक अभ्यास राम्रो भई नसकेका कारण पत्रकारिताको विकास पनि हुन सकेको छैन । धेरै पत्रपत्रिका भएर, धेरै रेडियो एफएम चलेर वा टेलिभिजन आएर मात्रै पत्रकारिताको विकास भएको मान्न सकिंदैन । वास्तविक रुपमा तिनीहरुले पत्रकारिता गरिरहेका छन्/छैनन् त्यो महत्तवपूर्ण कुरा हो । सरकारको मात्र बखान गरिरहने सरकारी सञ्चार माध्यम, एउटै राजनीतिक पार्टीको मात्र बढाइचढाई गर्ने र अर्को पार्टीको खेदो खन्ने पत्रपत्रिका, एफएम वा टेलिभिजनलाई पत्रकारिता गरेको कसरी भन्ने ? त्यो त पत्रकारिता नभएर पार्टीकारिता हो । राजनीति नै गर्नु छ भने खुरुक्क पार्टीमा जाँदा राम्रो नत्र कञ्चन पत्रकारितालाई धमिलो बनाउने किन?
अहिले हाम्रो देशमा यस्तै पार्टीकारिताको दबदबा छ । उनीहरु नै आपूmलाई असली पत्रकार भएको दाबी गर्दछन् । पत्रिका, एफएम, टिभीका सम्पादक, सञ्चालक रहेका उनीहरु पार्टीको झण्डामात्र बोक्दैनन्, पार्टीका प्रवक्ता र पार्टी प्रमुखका निजी सचिव भएर पनि काम गरिरहेका छन् । त्यतिमात्र नभएर पत्रकारका नाममा खोलिएका संघसंगठनका महत्वपूर्ण पद ओगट्न पुग्छन् ।
धन्दा अरु भए पनि पत्रकारकै नाममा देश–विदेश घुम्छन् । पत्रकारिता क्षेत्रमा यहाँभन्दा उदेकलाग्दो कुरा के होला ? वास्तविक पत्रकारहरुलाई त्यस्ता व्यक्तिहरु रहेको सञ्चार संस्थामा बसेर काम गर्नुपर्दा कति पीडाबोध होला? स्वतन्त्र भएकै कारण राज्यले पत्रकारका लागि दिएको सेवासुविधा, तालिम र पुरस्कारबाट समेत बञ्चित गरिनु खेदजनक कुरा हो ।
अझ चर्को दमन त त्यहाँ हुन्छ, जब स्वतन्त्र पत्रकारकै खेदो खन्न थालिन्छ । पत्रकार महासंघ आपूmले पाइरहेको भाग लुटिने हो कि भन्ने डरले कोलाहलसमेत मच्चाउँछन् । तर स्वतन्त्र पत्रकारमा न पदलोलुपता हुन्छ, न पैसाका लागि मरिहत्ते गर्ने आदत । उनीहरु स्वतन्त्र, निष्पक्ष र निर्भीक पत्रकारितामै सन्टुष्टि लिन्छन्, रमाउँछन् । समाजलाई सुसूचित गरेर बस्नुजस्तो ठूलो सम्मान र आनन्द अरु के होला? पत्रकारका लागि आफ्नो पद संसारकै सबै पदभन्दा उच्च छ । संसारका अरु जति उच्च पदवाला हुन्, ती सबै पत्रकारका निगरानीमा हुन्छन् । दायाँबायाँ गर्ने बित्तिकै पत्रकारका कलमले तिनलाई नांगेझार पार्न सक्छ । यस्तो शक्तिशाली एवं गरिमामय पेसा अँगालेकाहरु अहिले किन चाटुकारितामा निर्लिप्त छन् ? यसको खोजी गरेर पत्रकारिताको मर्यादा बचाउनु आजको आवश्यकता हो । पत्रकारिता क्षेत्रमा शुद्धीकरण गरी हाल घट्दै गइरहेको सञ्चारकर्मीप्रतिको विश्वास र सञ्चार माध्यमप्रतिको आकर्षण बढाउनु जरुरी छ ।

(लेखक स्वतन्त्र पत्रकार संघ, नेपालका संस्थापक अध्यक्ष हुन् ।)

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width