कांग्रेसीले नचिनेको कांग्रेस

दुर्गा अधिकारी
भाद्र २५, २०७७

‘तपाइँलाई नेपालमा सर्वाधिक मनपर्ने ठाउँ कुन हो ?’ यो प्रश्न गर्दा धेरैको मुखाग्र उत्तर हुन्छ– ‘पोखरा ।’ पोखरा जानु भएको छ ? अहँ । नगएको ठाउँ के आधारमा मन पराउनुभयो ? उसको स्वाभाविक उत्तर हुने गर्छ– ‘खै, सबैले त्यसै भन्छन् ।’ नेपाली कांग्रेसले वीपी कोइरालाको व्यक्तित्वलाई पनि यही शैलीमा भजाउँदै आएको छ । वीपी कोइरालाको सग्लो नाम उच्चारण गर्न नसक्ने मानिस गर्वसाथ भन्छ– ‘वीपीको समाजवादले कांग्रेस बन्न प्रोत्साहित गर्‍यो ।’ पुराना नेताहरु त छेउटुप्पो मेल नखाने वीपीको इतिहाससँग आफूलाई घुसाएर ‘जिउँदो इतिहास’ बन्ने धृष्टता गर्छन् । भाषणमा बीपी बहुआयामिक व्यक्तित्वको गीत गाउने तर महाधिवेशनमा भेला हुँदा वीपीको फोटो देखाएर ‘यो झुसे बुढो को हो ?’ भन्ने जस्ता प्रश्न सोध्ने लाउकेहरुको जमातले कांग्रेसमा राम्रै घर गर्दैछ । वीपीको समाजवादको एउटै लक्ष्य भनेको खाना, नाना र छानामा जनताको सहज पहुँच नै हो । तर तिनै कांग्रेसले दशकौं देश चलाउँदा प्रकृतिले दिएको हावापानी समेत व्यापारीलाई सुम्पिए । शिक्षा र स्वास्थ्य जनताको अधिकारबाट कोसौं टाढा रह्यो । निजीक्षेत्रलाई प्रोत्साहित गर्ने नाममा धनी महाधनी, गरीब तन्नम बन्दै गए । बजारमा घरलौरी अस्पताल, स्कुल खुले । शिक्षालय हुनेखाने र हुँदाखानेका लागि अलग अलग भए । धनी अजीर्ण भएर मर्न थाले । गरीब कुपोषणले ज्यान गुमाउन बाध्य भए । हरेक नेपालीलाई आफूजस्तै मध्यम वर्गीय बनाउँछु भन्ने वीपी सपना तासको महल बनाएर बीपीको समाजवाद व्याख्या गर्ने टोले बुद्धिजीविहरु सलहसरि देखा परे । कांग्रेस यस्तो दल हो, जसका लागि कार्यकर्ता बनाउनै पर्दैन । लगानी विना नै कार्यकर्ता उत्पादन हुन्छन् । यो सिरुजस्तै हो । तर कम्युनिष्ट आफैं बन्दैन, निर्माण गरिनु पर्छ । कांग्रेसले गौंडो ढुके मात्र पुग्छ, आहारा आफैं आइलाग्छ ।

वर्तमान कांग्रेसको मितेरी सत्ता र शक्तिसँग सीमित छ । आफ्नै पार्टीका दोस्रो, तेस्रो, चौथो तहका नेता प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले भेटघाटका लागि प्रधानमन्त्री केपी ओलीको समय पाउँदैनन, विडम्बना प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग रातोदिन भलाकुसारी बाक्लिँदो छ । सत्तारुढ दलभित्रै सरकारका गतिविधि विरुद्ध बुलन्द आवाज चर्केको सुनिन्छ । प्रमुख प्रतिपक्षी खरानी तापेर बसेको छ ।

एक्काइसौं शताब्दीको कांग्रेस कस्तो हुनुपर्छ ? यो पार्टीसँग एकपन्ना दस्तावेज छैन । सत्ताको च्याँखेदाउले पार्टीको अवयव ध्वस्त बनाएको छ । पार्टीभित्र जो सच्चा कार्यकर्ता छन, तिनीहरु माओवादी द्वन्द्वको बेला आँखामा तेजाव खन्याउँदा पनि कांग्रेस छोडेनन् । यस्ता कांग्रेससंग नेतृत्वको सम्बन्ध टुुटिसक्यो । विडम्बना कांग्रेसको नाममा दृष्टि गुमाएको त्यो मानिस अहिले पनि कांग्रेस नै छ । कांग्रेसमा रिमिक्स कांग्रेसको हावी छ । नीति, सिद्धान्तको विषयमा बहस भयो भने ‘वीपीको समाजवाद’ भनिदिएपछि तिल, जौ, कुश लिए जत्तिक्कै पवित्र भइहालिन्छ । घात गर्नुस, अन्तर्घात गर्नुस्, नेतालाई गाली गर्नुस् यी गतिविधि जति बढी हुन्छ, तपाईं त्यति चौबीस क्यारेटको कांग्रेस कहलिनुहुन्छ ।

वीपीको समाजवादले गरीबको रुपान्तरणलाई आफ्नो मूल ध्येय ठान्थ्यो । वर्तमान कांग्रेसको मितेरी सत्ता र शक्तिसँग सीमित छ । आफ्नै पार्टीका दोस्रो, तेस्रो, चौथो तहका नेता प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले भेटघाटका लागि प्रधानमन्त्री केपी ओलीको समय पाउँदैनन, विडम्बना प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग रातोदिन भलाकुसारी बाक्लिँदो छ । सत्तारुढ दलभित्रै सरकारका गतिविधि विरुद्ध बुलन्द आवाज चर्केको सुनिन्छ । प्रमुख प्रतिपक्षी खरानी तापेर बसेको छ । सत्ता र शक्तिमा आफ्ना दलका मानिस कसरी घुसाउन सकिन्छ भनेर देउवा च्याँखेदाउमा मस्तराम देखिन्छन् । नाम प्रजातान्त्रिक, काम कठोर निरंकुश कांग्रेसभित्र गहना बन्दैछ । अब चार दशकको घेरोमा रहेका देउवा, रामचन्द्र पौडेल अझै नेतृत्व हत्याउन पूर्ण तयारीमा लागेका छन् । लोकले के भन्छ भन्ने मतलब छैन् । नेपाली कांग्रेसभित्र भारतीय कांग्रेस, चिनियाँ कांग्रेस, अमेरिकी कांग्रेसको गुट, उपगुट छ । गुटको ओझेलमा नेपाली कांग्रेस मुर्झाएको छ । वन साङला घरमा पसेपछि घर साङलाको उठिबास लागेजस्तो टुरिष्ट कांग्रेसको अतिक्रमणले विशुद्ध कांग्रेसको रंग खुइलिँदै गएको छ ।

समाजवादले गरीब जनतामा आधारित नीति हुनुपर्ने मान्यता बोक्दछ । यद्यपि सीमित पूँजीपतिलाई पोसेर कांग्रेसले आफ्नो आदर्शको असामयिक निधन गरायो । २०१२ मा वीपी कोइरालाले नेपाली कांग्रेसको वीरगञ्ज महाधिवेशनबाट राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई पारित गराई पार्टी विधानमा लिपिबद्व गरेका थिए । त्यो बाटोमा विचलित नभएको भए कांग्रेस देशकै निर्विकल्प शक्ति बन्ने निश्चित थियो । पार्टी स्थापनाको ७ दशक बढीको लामो इतिहासमा कांग्रेस यतिको निरीह र किंकर्तव्यविमूढ शायदै देखिएको थियो । नेताको मुडमा पार्टी चल्ने भएपछि त्यसको पीडा सन्तान, दरसन्तानले खेप्नुपर्छ । नेतृत्व पोखरीको पानी जस्तो नभई नदीजस्तो सङ्ग्लो हुनुपर्नेमा पोखरीजस्तै लेउ लाग्ने भएपछि नयाँपुस्ताले के सन्देश ग्रहण गर्छ ? नाङगै कुदे पनि पोशाकमा सजिएको देख्ने केही ढोके, चम्चे, चण्डमुण्ड, नन्दीभृंगीमा रमाएका नेताहरु चरा भगाउन खेतबारीमा गाडिएको बुख्याचा बन्दैछन् । उनीहरुप्रति सर्वसाधारणको न कुनै शिष्टाचार छ, न आदरभाव छ । राजनीति त्यस्तो उद्योग भएको छ, जुनसुकै प्रतिकूल अवस्थामा पनि यो शतप्रतिशत नाफामा रहन्छ । सरकार, प्रतिपक्षदेखि राज्यबाट अवैध घोषित राजनीतिक संगठनका लागि ३ सय ६५ दिन नै चाँदी कटाई हुने गर्छ । कोरोना, बाढीपहिरो, भूकम्प जस्तासुकै दैवीप्रकोप आएपनि राजनीतिकर्मीका लागि दशैं सावित हुन्छ । राजनीतिलाई सेवा नभएर कमाउने भाँडो बनाइँदा यो नियति देखिएको हो । सबै दलमा यो विम्ब देखिन्छ ।

नेकपाभित्रको आन्तरिक झगडाको लाभाले त्यो पार्टी भष्म होला र आफ्नो दुनो सोझ्याउँला भनेर बस्नुभन्दा यसलाई अवसरका रुपमा लिएर पार्टी संगठन प्रशिक्षणमा जोड दिन नसक्नु कांग्रेसको अक्षम्य गल्ती हो । एउटा हराएर, अर्को जिताउनु महाधिवेशन होइन । देश, पार्टी र समाजको कार्यविधिको स्वीकृति परम दायित्व हो । यतातर्फ कांग्रेसको यात्रा होला भन्ने अपेक्षा गर्नुसम्म पनि अनुचित हुन्छ । प्रजातान्त्रिक दलभित्र भातृसंस्थाको चुनाव नभएको दशकौं भयो । यस्ता विषय त समाचारभित्र पर्न छोडेको धेरै भइसक्यो ।

अस्पष्ट नीति

नीतिमा घामजस्तै छर्लङ्ग देखिने कांग्रेस माओवादीलाई मूल राजनीतिमा ल्याउने जिम्मेवारी र आफूलाई देशको पहिलो राष्ट्रपति बनाउने गिरिजाप्रसाद कोइरालाको महत्वाकांक्षाका कारण घरको न घाटको हुनपुग्यो । जसले गर्दा कांगेसका थुप्रै भक्त पार्टीबाट विमुख भए । न पुरानो बाटोमा कांग्रेस टिक्न सक्यो, न नयाँ रोडम्याप कोर्नसक्यो । अहिलेको राजनीतिक उपलब्धिको मसिहा माओवादी प्रमाणित भयो । कांग्रेस वैतरणी तार्ने माध्यम मात्र बन्यो । स्पष्ट विचारधाराको माध्यमबाट धारणा निर्माण हु्न्छ, यही धारणाका माध्यमबाट एजेण्डा निर्माण हुन्छ । एजेण्डाविहीन राजनीतिले न राष्ट्रले आर्थिक फड्को मार्न सक्छ न त निम्न वर्गका जनताको जीवनस्तरमा कुनै परिवर्तन आउँछ । स्पष्ट विचार र एजेण्डाहीन नेपाली राजनीतिको अन्तिम गन्तव्य सत्तासंघर्ष हुनु र सत्तामा जाँदा जनमुखी स्पष्ट एजेण्डा र कार्यदिशा नहुँदा परिणाममुखी काम हुन नसक्नु दुखद पाटो हो । मोबाइल फोनको आगमनसँगै विश्व बजारमा एकछत्र व्यापारिक राज गरेको नोकियाले समयअनुसार आफ्ना उत्पादन परिवर्तन गर्न नसक्दा स्मार्ट फोनले नोकियालाई न गरी खानु, न मरी जानुको अवस्थामा पुर्‍याएको छ । पाकिस्तानका पुराना राजनीतिक शक्तिले पाएका अवसरलाई जनहित अनुसार काम गर्न नसक्दा अथवा सैनिक शासकहरुले बेला बेलामा दिएको चुनौतीलाई समयमै आंकलन गर्न नसक्दा चामत्कारिक रुपमै छोटो समयमा क्रिकेट खेलाडी ईमरान खानद्वारा नेतृत्व गरेको पाकिस्तान थेरिकई ईन्साफकोले सरकार सञ्चालनको अवसर प्राप्त ग¥यो । यसले पाकिस्तानका पुराना राजनैतिक पार्टीलाई कि त सच्चिनु पर्ने या बिगठन नै गर्नुपर्ने अवस्थामा पु¥याएको छ । युगको माग र जनताको ढुकढुकी छाम्न नसक्ने पार्टी पतन हुन्छन् र भएका छन् । यसर्थ नोकिया हुने कि स्मार्ट फोन हुने अथवा पाकिस्तानका पुराना राजनीतिक शक्ति जस्तै विस्थापित हुने यो रोज्ने दायित्व कांग्रेसका मुखियाकै हो । समयानुकूल ढाल्न नसक्दा चीनको कोमिन्ताङ पार्टी इतिहासको नासो भएर रहेको तथ्य धेरै कांग्रेसीजनलाई थाहा छ । त्यसैले नेपाली काँग्रेसले यो चुनौतीलाई अवसरको लिनुपर्ने देखिन्छ । मनलाई मनपरि रुपमा यति बेला पार्टी सभापतिले विभिन्न कमिटिमा मनपरी ढङ्गले मनोनित गरेर ऐतिहासिक सफल कार्यकाल भएको भ्रममा छन् ।

एकातिर करिब दुईतिहाई जनमत प्राप्त कम्युनिष्ट सरकारले केही गर्न नसक्ने अर्कोतर्फ नेपाली काँग्रेस स्पष्ट नीति लिई एकजुट भएर नआउने हो भने भोलिका दिनमा स्पष्ट नीति, कार्ययोजना लिएर कुनै नयाँ बैकल्पिक शक्ति अगाडि नआउला भन्न सकिँदैन ।

लोकतान्त्रिक पार्टीको अलोकतान्त्रिक चरित्र, एउटा भातृ संस्थाको अधिबेशन १५/१६ वर्षसम्म पनि नगराइकन, विधि विधानलाई कुल्चेर हुकुमी पाराले पार्टी चलाएपछि नयाँ नेतृत्वको विकास हुन सक्दैन । पार्टी व्यक्ति होइन, पार्टी भनेको सामूहिक विचार हो । विचार सबैको सुन्ने संस्कतिको विकास अपरिहार्य छ । रामले गर्भवती पत्नी सीतालाई धोवीको टिप्पणीका भरमा अग्निपरीक्षामा होमेको भनेर नारीवादीको आपत्ति सुनिन्छ । तर राजनीतिक संस्कारको मनोविज्ञानले के भन्छ भने राज्यको एउटा व्यक्तिले टिप्पणी गर्दासमेत त्यसको सुनुवाई गरेर भगवान् रामले जुन उच्च प्रजातान्त्रिक संस्कार देखाए, त्यो सम्मानयोग्य छ ।

कमजोर प्रतिपक्ष

करिब दुई तिहाई बहुमतको ओली सरकारका जनविरोधी हर्कतका विरुद्ध जनता स्वस्फूर्त रूपमा सडकमा ओर्लिएका छन् । सरकारका कमीकमजोरीलाई खबरदारी गर्ने, प्रमुख दायित्व बोकेको प्रमुख प्रतिपक्ष दलका नेताले यसको नेतृत्व गर्नुपर्ने हो । तर त्यस्तो देखिदैन । स्वतन्त्र युवाहरु सडकमा आएपछि बल्ल ऐक्यवद्धता देखाएर प्रमुख प्रतिपक्षको भूमिका निर्वाह हुँदैन । कांग्रेसले सरकारमा रहँदा पनि उल्लेखनीय काम गर्न त सकेन, जनताले सुम्पेको प्रतिपक्षीको भूमिका निभाउन पनि हम्मे–हम्मे भएको छ । पार्टीभित्रको खिचातानीले पार्टीलाई विधिसम्मत् चल्न नसक्ने बनाएको छ । प्रतिपक्षको हैसियतमा कांग्रेसले आफूलाई कहाँ र कसरी उभ्याउने बहस सुनिँदैन । कांग्रेसले विरासतमा प्राप्त गरेको लोकतन्त्रवादीको उपाधि उसको सबैभन्दा ठूलो सम्पत्ति हो । तर, यही उपाधिको बैसाखी टेकेर भोलिको कांग्रेस टिक्न सक्दैन । कांग्रेस टिक्ने र टिकाउने विचारले हो । विचार र स्वतन्त्रता कांग्रेसभित्र कति छ भन्ने कुराको समीक्षासहित कांग्रेस र मुलुक निर्माणको मार्गचित्र प्रस्तुत गर्न सक्दा मात्र कांग्रेस जीवन्त रहन सक्छ । कांग्रेस निर्माणको मार्गचित्र, कांग्रेसको निरीहता र सरकारको कार्यशैली हेर्दा मुलुक अकल्पनीय दुर्घटना उन्मुख भएको भान हुन्छ । पदाधिकारी बैठकको आडमा बेथितिको जग बसाउन कांग्रेस नेतृत्व उद्यत छ । प्रकाशमान सिंहदेखि कृष्णप्रसाद सिटौलासम्मले पार्टी नेतृत्वबाट भए गरेका बेथितिको तार्किक चिरफार गर्न सकेनन् । रामचन्द्र पौडेलदेखि मध्यम तहका नेतासम्म निर्वाचनको जोड–घटाउदेखि भोटको राजनीतिमा होमिइसकेका छन् । कम्युनिस्ट पार्टीको फुटमा आफ्नो उदयको सपना देख्न काग्रेसले भोलीको नयाँ नेपालको परिकल्पना कसरी गर्न सक्छ ? अब नेतृत्वले आफूलाई सुधार्दै तल्ला तहका कार्यकर्तासम्म वैचारिक बहस पुर्याउन जरुरी छ । कांग्रेसले पार्टी निर्माणसँगै मुलुक निर्माणको मार्गचित्र पनि प्रस्तुत गरेर बहस प्रारम्भ नगर्ने हो भने कांग्रेसको बचेखुचेको जनमत कांग्रेस कुरेर बस्नेवाला छैनन् काग्रेस सर्मथित पनि ।

कांग्रेस एक, रुप अनेक

देशको आवश्यकता अनुसार नेपाली कांग्रेसले आफ्नो सिद्धान्त र आदर्शलाई परिमार्जित गर्दै लैजानुपर्दछ भन्ने कुरामा कसैको पनि दुईमत छैन । तथापि युगद्रष्टा वीपीले प्रतिपादन गर्नुभएको सिद्धान्तलाई यदि परिवर्तन गर्नुपर्ने आवश्यकता देखियो र नेपाली जनताको चाहना पनि त्यही नै हो भने त्यस्ता कुरामा नेपाली काङ्ग्रेसले व्यापक बहसको विषय बनाउनुपर्दछ । त्यस्ता विषयवस्तुलाई नेतादेखि कार्यकर्तासम्म र त्यसक्षेत्रका विशेषज्ञदेखि आम जनताका बीच छलफल गराउनुपर्दछ र निष्कर्षमा पुग्नुपर्दछ । नेपाली काङ्ग्रेसको नेतृत्वमा बनेको नेपालको संविधानमा नेपाली काङ्ग्रेसबाट नेपाली जनताले जुन आसा र अपेक्षा राखेका थिए, त्यो आसा र अपेक्षामा तुषारापात भएपछि नेपाली जनताले यो मत परिणाम नेपाली काङ्ग्रेसलाई दिएका हुन् । जसलाई कदर गर्दै नेपाली जनताको यो भावनालाई मूर्त रूप दिनका लागि आगामी दिनमा नेपाली कांग्रेस क्रियाशील हुनुपर्दछ । नेपाली कांग्रेस विगतमा गरेका गल्तीलाई सच्याएर पुनः जनताका बीच जानका लागि हिचकिचाउनुहुँदैन । यही नै नेपाली काङ्ग्रेसको अबको गन्तव्य हो । संविधान निर्माणको सन्दर्भमा आएका सुझावलाई आत्मसात गर्न नसक्ने कुनै पनि पार्टीको भविष्य छैन भन्ने कुरालाई आत्मसात गर्दै अगाडि बढ्नु आजको आवश्यकता र नेपाली काङ्ग्रेसको भावी गन्तव्य हो भन्दा अत्युक्ति हुने छैन ।

अझै पनि आफ्नो नितिगत स्पष्टतामा आधारित भएर नेपाली काँग्रेस अगाडि बढन सक्यो भने भोलिका दिनमा देशको नेतृत्व गरि देशलाई संवृद्धीको बाटोतर्फ अगाडि बढाउन धेरै समय अवश्य पनि लाग्दैन । तर राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आदर्श मान्ने नेपाली काँग्रेसले सरकारमा छँदा जनताको दैनिक आवश्यकतासँग जोडिएका गाँस, बास र कपासलाई समाजवादी समानताको सिद्धान्तको आधारमा ग्यारेन्टी नगरी खुला बजार अर्थतन्त्रलाई प्रसय दिँदा निजीकरणका नाममा भएभरका उद्योग, धन्दा, कलकारखाना नष्ट भए जसको कारण गरीबी र बेरोजगारीले आक्रान्त युवा जनशक्ति रोजि रोटीका लागि विदेशिन बाध्य भए । स्वास्थ्य क्षेत्रमा निजीकरण भयो ठूला–ठूला हस्पिटल खुले तर स्वास्थ्य क्षेत्रमा ती दूरदराजका गरीब जनताले पहुँच पाउन सकेनन । शिक्षा क्षेत्रमा निजीकरण भयो धेरै निजी स्कुलहरु खुले तर हिजोदेखिको खस्किदो स्तरको सरकारी स्कुलमा बाहेक शिक्षामा गरीब जनताको पहुँच पुग्न सकेन ।

यतिखेर राष्ट्रिय महाधिवेशनमा नेतृत्वसँगै नीतिमा के–के फेरबदल ल्याउने, समाजवादरूपी कांग्रेसको सञ्जीवनीको व्याख्या कस्तो हुने, विदेशबाट फर्किएका युवालाई नेपालमै रोक्न कस्ता आकर्षक कार्यक्रम दिने, गरीबी घटाउन, शिक्षा र स्वास्थ्यको पहुँच दूरदरारका गाउँमा कसरी पुर्याउने लगायतका अनेकौँ प्रश्नको जवाफ आमलोकतन्त्रवादीले खोजिरहेका छन् । अन्तर्राष्ट्रिय कूटनीतिका सवालमा सरकारले एउटा छिमेकीसँग निकटता र अर्कोसँग पानी बाराबारको अवस्था निम्त्याइसकेको छ । यसमा कांग्रेसको स्पष्ट धारणा के हो ? यी लगायतका विषयमा कांग्रेसको हस्तक्षेपकारी भूमिका अपरिहार्य छ ।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width