साँढे स्वास्नी   (हास्यव्यंग्य निबन्ध)

शेषराज भट्टराई
माघ २३, २०८०
‘होक्काँ’ गरेर जोरी खोज्ने गोरुलाई पनि साँढे भनिन्छ । गोरुलाई साँढे भन्दा भन्दै आवेगमा आउँदा महिला पुरुष दुबैलाई साँढे भन्ने चलन पुरानै छ । सारै सिँगौरी खेल्ने बाहेकका स्त्री प्राणीलाई साँढेमा दर्नु हानिकारक हुनसक्छ । यहाँ महिला अधिकारको हेक्का राख्नुपर्छ, पुरुषको नराख्दा पनि हुन्छ । जनगणनामा महिलाको जमात धेरै छ नि त त्यसैले यिनलाई टाउकोमा चढाउनु र टाउकाले ढोग्ने काम पुरुषको । नत्र लगाम र ठेगान लगाइदिन सक्छन् । हेपेको खोलाले बगाउन सक्छ । मायाको खानी जननी आँखाको नानी जस्तै प्यारो ठान्छन् दुनियाँलाई । तर पनि अपवादमा केही महिलाले पृथ्वीमा जन्म लिएका हुन्छन् र तीमध्ये भगावन्ले केहीलाई साँढे स्वभाव दिएका हुन्छन् । मेरो भागमा परेकी परी ती मध्ये एक हुन् । उनको गतिविधि हुँकार, डंका, सिँगौरी, कुस्ती र मस्तीलाई आकलन गर्दा दिन दुई गुना रात चौगुना साँढेको आभाष भइरहेको छ ।
हुन त सानैदेखि मेरो उद्देश्य नै साँढे स्वास्नीसँग लगन गाँठो कस्ने घरज्वाइँ बस्ने र अन्त्यमा धर्म गाँठो पारेर छोड्ने थियो । तर मेरो भाग्यमा न लगन गाँठो, न धर्म गाँठो, खाली कर्म गाँठो, मर्म गाँठो, चर्म गाँठो र शर्म गाँठोमात्रै आइलाग्यो । तर स्वास्नी साँढे परेकोमा भने म सन्तुष्ट छु । साँढे स्वास्नी दुर्लभ हुन्छन् । केही नेपाली राजनीतिमा पनि उदाएका छन् । सबैका साँढे हुँदैनन् । कसैकसैका त पानी मरुवा पनि हुन्छन् । पुरुष या मर्दका हकमा पनि यही नियम आकर्षित हुन्छ । साँढे स्वास्नी हुनुभन्दा पानी मरुवा स्वास्नीबाट स्वामीको सक्कल सध्ये रहने कुरामा भने भुक्तभोगीहरू एकमत छन् ।
यो व्यङ्ग्यजीवीले साँढे स्वास्नी व्यहोरेको दुई कोरी पुग्न लाग्दा श्रीमतीको मुख खाली हुन लागिसकेको छ र मेरो आलु जस्तो तालु । दुई चार वटा रौं र दाँतको के हिसाब भयो र ? तपाईंले स्वास्नीलाई पिटेर दाँत झारिदिएछ भन्नुहोला । त्यसो होइन उनले स्वामीलाई ठिक भूमध्ये रेखामा ल्याउन नंग्रा र दाँतको भरमार प्रयोग गरिन् । अनि दाँतले अतिचार सहन नसकेर टाप कसे । कतिपय दाँत डरले थरथर कामिरहेका छन् र ती पनि अब कुन समयमा सुइँकुच्चा ठोक्ने हुन् भन्ने शंका लागिरहेको छ ।
यो कलीमा बिना बिमा साँढे स्वास्नीका बारेमा लेख्नु पनि ज्यानमाया मार्नु सरह मानिन्छ । तर पनि अर्काकी स्वास्नीका मामलामा लेखेर ज्यान धरापमा पार्नुभन्दा आफ्नै स्वास्नीका बारेमा लेखेर स्वर्गाभिमुख हुनु धेरै आनन्द । तसर्थ साँढे स्वास्नीका मामलामा म धेरै गन्थन गर्दिनँ । केही दिनचर्यालाई यहाँहरूसमक्ष संक्षेपमा आक्षेपरहित तरिकाले कहने दुस्साहस गर्दछु । यसमा लिंगभेदको शंका नगर्नुहोला । किनकि एकबारको जुनीमा जुनसुकै लिंग पनि साँढे बन्न सक्छ । हिजोसम्म गाई भनेर पुजिएको जन्तु आज एकाएक साँढे बन्न सक्छ । हिजोको सबलाङ्ग आज आँडे बन्न सक्छ, हिजोको बिरालो आज ढाडे बन्न सक्छ ।
म एक मनको मान्छे लडाउन घन नै चाहिँदैन, मज्जाले फुक्ने हो भने अचेत हुने गरी ढल्न सक्छ
साँढेपनमा प्रकट हुने बोली, व्यवहार, लाठी, मुङ्ग्री, मुड्की, पाखुरा, लात्ती, तिघ्रा, झापड, हप्किदप्की, सिँगान, खकार, डकार, चिमोट, निमोठ, धाक, धक्कु, इन्कार, दुत्कार, बहिष्कार, तिरस्कार, हेपाइ, असहयोगलगायत हरेक अवतारमा साँढे स्वभावले शिर उठाउन सक्छ । त्यसैले अरूको कुरा काटेर नामुद नारदमुनि बन्नुभन्दा आफ्नै घर आँगनको अग्र्यानिक, स्वास्नीको सत्यतथ्य ओकलेर मन माझ्नु स्वास्थ्यका लागि हितकर मानिन्छ । किनकि बुढो हुँदाहुँदै बोकाको बात लागेपछि यस्तै हुन्छ ।
बिहान सखारै उठेर खकारै नफाली दैलो ठेला पोतपातपछि स्वास्नीको भय नहोस् भनेर मूर्ति पूजा गरेको फूर्ति लगाउँछु । साँढे स्वास्नीलाई आँखा तरेर साँढेपनले आज कत्तिको उग्ररूप लिन्छ होला भनेर साइक्लोजी बुझ्ने प्रयास गर्छु । मेरा आँखा साना चिम्से छन् । नेपाली लोक्कल बयर जस्ता भने उनको चाहिँ कासी बयरका दाना जत्रा सप्रिएका ठूला । उनको पूर्ण विस्फारित नेत्रले हेरेमात्रै पनि मेरो मथिंगल रन्थनाउँछ । म मेरो घरको असली नोकर हुँ । धेरै समय खेतबारीको काममा गोरुसँगै जोतिने गर्छु र साँझ घर फर्किएर पनि भात भान्सा भाँडाकुँडासँग जोतिनुपर्छ । सिदो, पिठो, चना, तामा, सातु जे छ त्यही खाने इरादा राख्छु तर साँढे स्वास्नीले मेरो सातो खाइहाल्छिन् । स्वास्नीका रिसले बरु गोरु पिट्ने गर्छु तर उनको आङमा हात हाल्ने हिम्मतका लागि चाहिँ भगावन्ले मलाई ठगेकै हुन् । हिँड्ने गोरुलाई मैले पनि सुम्ल्याइ रहेको छु भने उनले मलाई छोड्ने कुरे हुँदैन ।
उनको सोह्र शृंगारहरू सत्र ठाउँ चहारेर जुटाउनुपर्छ नत्र आफ्नै टाउको फुटाउनुपर्छ । उनको ज्यान तीन मनभन्दा धेरै छ । म एक मनको मान्छे लडाउन घन नै चाहिँदैन, मज्जाले फुक्ने हो भने अचेत हुने गरी ढल्न सक्छु । उनको आहाराको थाली बोकेर शयनकक्षसम्म पुग्दा पनि ज्यान पसिना र थकाइग्रस्त हुन्छ । उनको भकारो र खकारो फाल्दा फाल्दै मुरली बनिसकेको मेरो सक्कल र अक्कल लोक्कल सबैलाई थाहा छ । उनले मलाई रुवाए पनि समाज हँसाएकोमा म सन्तुष्ट छु ।
आफू निन्द्रामा लट्ठ परियो र उनले दैलो खोलिन भने छिमेकी घरका तर्सिएर उठ्छन् । गहिरो सपनाहरु भंग हुन्छन् । डाङ्डाङ् र डुङडुङ सुनेर प्रहरी गुहार्न सक्छन् । आग्लोले दरबाजा फुटाएको बाजा सुनेपछि आफू राजा बनेर भएन उठ्नै प¥यो अनि काममा जुट्नै प¥यो । जोडी भगवान्ले मिलाउँछन् भन्छन् तर आफ्नो त राक्षसको देन जस्तो लाग्छ । न उपरखुट्टी लगाएर पिउन पाएको छु न आनन्दले जिउन पाएको छु । क्या फसाद ! कस्तो फसाद !! मेरो भागमा मात्रै हो त यो सस्तो फसाद ?
भात, भान्सा, कुटानी, पिसानी, पेलानी, धोइधाइ, बढारकँुडार यावत् लुतेधन्दामा जुटेपछि बाहुन चरी खाउन मनपरी अन्यथा डाउन भइहाल्छ । शत्रुलाई कमजोर भएको आभाष पनि दिनुहुँदैन । उनी जरजर, कर्कश, टिम्पुरजस्तो पर्पर, स्यालजस्तो सुगन्धित पनि । अनि नेपालमा महिला अधिकारवादीले खबरदार गरेका छन् र साँढे भए पनि उनी सुरक्षित छिन् । अन्यथा कुटानी, पिसानी, पेलानीमा पुरुष पनि के कम । म पनि हिङ नभए पनि हिङ बाँधेको टालो । तर आज किन भइरहेको छ रातो रातो मेरो गालो । कसले अँठ्याएको छ मेरो कठालो ?

Related News

सम्बन्धित समाचार

  • पाब्लो नेरुदा : जनकवि तथा क्रान्तिकारी नेता

    राजेन्द्र भण्डारी माघ २४, २०८०
    चिलीको इतिहासः चिली विश्वका अन्य देशको तुलनामा फरक र असाधारण इतिहास बोकेको देशको रुपमा चिनिन्छ । कवि दोन आलोन्सो दे…
  • धार्मिक आस्था र आचरण

    उपप्रा. रामप्रसाद सुवेदी माघ २३, २०८०
    व्यक्ति वा वस्तुमा सधैं रहिरहने गुण वा मूल वृत्ति, प्रवृत्ति वा स्वभावलार्ई धर्म भनिन्छ । यसलाई स्वर्ग प्राप्त गर्ने लोकविश्वासका…
  • कर घटाउन महानगरलाई कास्की कांग्रेसको १४ बुँदे सुझाव

    किशोरदत्त बराल माघ ८, २०८०
    पोखरा । पोखरा महानगरपालिकाले चालु आवका लागि अस्वाभाविक रुपमा बढाएको करका बारेमा नेपाली कांग्रेस, कास्कीले समयमै जिम्मेवार भएर पोखरा महानगरपालिकालाई…
  • नेपालमा बसाइँ सराइको अवस्था र यसका चुनौती

    कृष्ण लामिछाने माघ ५, २०८०
    आफ्नो पुख्यौली थलो वा आफू बसोवास गरिरहेको ठाउँबाट अन्यत्र कुनै टाउँमा सरेर स्थायीरुपमा बसोबास गर्नुलाई बसाइँ सराइ भनिन्छ । बसाइँ…
  • बढुवापछिको अपमान

    तेजबहादुर गुरुङ (च्हाक्ली तमु) माघ ५, २०८०
    यस्तै हुन्छ भन्ने थाहा पाएका भए त बढुवा किन हुनु परेको थियो र? बढुवाको सूचना आएदेखि यति सपना बुनिएन ।…

hero news full width