ट्रेड मलमा दशैँ तिहार उत्सव

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७६
Trade Mall_Fotor

पोखरा ट्रेड मलमा विहीबार आयोजित पत्रकार सम्मेलनमा दशैंतिहार उत्सवबारे जानकारी दिइँदै। तस्वीर : रुपनारायण ढकाल/आदर्श समाज

पोखराको व्यापारिक केन्द्र चिप्लेढुंगामा अवस्थित पोखरा ट्रेड मलले नजिकिँदै गरेको महान चाड दशै, तिहार र छठ पर्वहरुको अवसरमा दशैँ तिहार उत्सव २०७६ आयोजना गर्ने भएको छ।

यस योजनाअन्तरगत वम्पर उपहारको रुपमा यामाहाको एफ.जेट.एस १५० सि.सि. मोटरसाईकलको साथमा ५ जनालाई डोको भरी उपहार रहेको दशै तिहार उत्सव–२०७६ व्यवस्थापन समिति पोखरा ट्रेड मलका अध्यक्ष नवराज त्रिपाठीले पत्रकार सम्मेलनमा जानकारी दिए। हरेक १५ दिनमा पाक्षिक उपहारका रुपमा ज्याकपट उपहार रु ५० हजार १ जनालाई साथै थप दुई जनालाई डोको भरी उपहार प्रदान गरिने उनले सुनाए। डोकोमा दिइने उपहार आकर्षक रहने उनले बताए। योजना अवधिभर ४ जनालाई रु ५० हजार साथै अन्य ग्राहकको लागि लाखौ रुपैया बराबरको नगद तथा सपिङ्ग भौचरको उपहार व्यवस्था मलले गरेको छ। उपहार योजनामा सहभागी हुनको लागि मलमा सपिङ्ग गर्ने ग्राहकले न्यूनतम पाँच सय रुपैयाँको सामान खरिद गरे पुग्ने र पाँच सय रुपैयाँमा मा १ वटा कुपन तथा दुई हजारको खरिदमा ३ वटा कुपन र पाँच हजार रुपैयाँको खरिदमा ग्राहकले १० वटा कुपन प्राप्त गर्न सक्ने जनाइएको छ।

उक्त १० वटा कुपनहरु मल भित्र रहेको काउण्टरमा जम्मा गरेपछि १ वटा ज्याकपट कुपन प्राप्त गर्न सकिने छ। उक्त ज्याकपट कुपन काउण्टरमा रहेको बाकसमा जम्मा गर्नुपर्ने र १५ दिन सम्ममा जम्मा भएका ज्याकपट कुपनहरु मध्येबाट १ जनालाई रु ५० हजार सम्मको नगद तथा सपिङ भौचरको उपहार साथै २ जना भाग्यशाली ग्राहक महानुभावहरुलाई डोको भरी उपहार प्रदान गरिने दाबी मलले गरेको छ। उपहारमा मात्र मलले १९ लाख रुपैयाँ खर्च गर्न लागिएको बताइएको छ।

उपहार योजना २०७६ असोज ५ देखि मंसिर ४ गतेसम्म सञ्चालन हुनेछ भने कार्यक्रमको औपचारिक अन्त्य २०७६ मंसिर ८ गते बम्पर उपहार विजेता छनौटसँगै हुने जनाइएको छ। यो मल पोखरामै विभिन्न पेसा व्यवसाय गरेर बसेका विभिन्न व्यक्तिहरुको सामूहिक लगानीको व्यापारिक भवन हो। घरायसी र अन्य सामान किन्न बजारका विभिन्न स्थानमा भौतारिनु पर्ने अवस्थालाई अन्त्य गर्ने हेतुले पोखरा ट्रेड मल सञ्चालनमा ल्याइएको जनाइएको छ।

२०७२ असोज २६ गते औपचारिक रुपमा सञ्चालनमा आएको मलका कुल ५०३ सटरमा २५० व्यापारिक प्रतिष्ठानहरु रहेको मलका प्रबन्ध संचालक मीनराज काफ्लेले जानकारी दिए। व्यापार भन्दा पनि चाडवाडको बेला ग्राहकसँग खुसी साट्न र सौहार्दता बढाउन उत्सव आयोजना गर्न लागिएको उनले सुनाए।

ट्रेड मल प्रालिका अध्यक्ष तथा गण्डकी प्रदेश सभासद विन्दुकुमार थापाले सबै वर्गका ग्राहकलाई एउटै थलोमा चाहिएको कुरा किन्ने वातावरण बनाउने अभियानमा मल सफल भएको धारणा राखे। उनले सुपथ मूल्य र समयको बचत एवं गुणस्तरीय सामान उपलब्ध गराउन मलले कुनै सम्झौता नगर्ने जनाए। पत्रकार सम्मेलनमा ट्रेड मल व्यवस्थापन समितिका सदस्य बालकृष्ण कोइराला, राजेन्द्र बाटाजू, ट्रेड मल दिदी बहिनी समूहकी अध्यक्ष सीमा कोइरालालगायत व्यवसायीहरुको उपस्थिति रहेको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width