विद्यार्थी मृत्युले बगर क्षेत्र तनावपूर्ण

प्रहरी र विद्यार्थीबीच दिनभर भडप

आदर्श समाज सम्वाददाता
माघ २४, २०७४
1

काठमाडौं, माघ २३ । पोखरा, २३ माघ। नेवि संघ स्याङ्जा पृथ्वीनारायण क्याम्पस सर्म्पर्क समिति सभापति बोधराज ढकालको सोमबार साँझ नगरबसले ठक्कर दिई मृत्युपछि घटनाको भोलिपल्ट बिहानैदेखि पृथ्वीनारायण क्याम्पसगेट क्षेत्र तनावपूर्ण रह्यो। साथीको मृत्युपछि क्याम्पसमा अध्ययनरत् विद्यार्थी आक्रोशित बन्दै दोषीचालकलाई कडा कारबाहीको साथ मंगलबार आन्दोलनमा उत्रे। स्याङ्जा आँधीखोला ६ घर भएका २४ वर्षीय ढकाल स्तानक तहमा अध्ययनरत थिए।

उनको मृत्युको कारण खोजी गर्दै नेवि संघले सबै विद्यार्थी संघ संगठनको साथ लागेर प्रहरी प्रशासन र पीडकविरुद्ध नाराबाजी सहित प्रदर्शन गरे। विद्यार्थीको आन्दोलनलाई समयमै नियन्त्रणमा लिन नसकेपछि प्रहरीसँग दिउँसो ३ बजेसम्मै झडप भयो। प्रहरीले स्थित नियन्त्रणमा लिन ५ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो। प्रहरी प्रमुख, प्रवक्ता समेत हुलदंगा नियन्त्रणमा खटिएका थिए। प्रहरीको सशस्त्र प्रहरी गणको टोली, जिल्ला, वडा कार्यालय बगर, बैदामबाट समेत प्रहरी टोली परिचालित थिए।

केही विद्यार्थीलाई नियन्त्रणमा लिएपछि आक्रोशित विद्यार्थीको भीडले बगरका विभिन्न ठाउँमा रोकिराखेका गाडी तोडफोड गरे। दर्जन बढी गाडीको चाबी नियन्त्रणमा लिए। सवारी आवागमन ठप्प बनेपछि प्रहरी पनि आक्रोशित बन्यो। त्यसपछि घटनाले यो रुप लिएको हो।

पृथ्वीनारायण क्याम्पसभित्र विद्यार्थी र गेट बाहिर प्रहरीबीच ढुंगा हानाहान भयो। यो क्रम लामो समय चल्यो। थप प्रहरी समेत परिचालित भए। दुर्इ पक्षको झडपमा धेरै घाइते भएका छन्।

झडपमा दुर्इ दर्जन विद्यार्थी र प्रहरीको तर्फबाट ५ जना घाइते छन्। घाइते भएका इन्स्पेक्टर वसन्त शर्मा, हवल्दार यमप्रसाद तिवारी, जवान हरिप्रसाद शर्मा, बलराम वली र चन्द्रबहादुर वली सामान्य उपचारपछि काममा फर्किएका छन्। घाइते विद्यार्थीको संख्या यकीन हुन सकेको छैन। प्रहरीले १६ जना विद्यार्थीलाई पक्राउ गरेकोमा विद्यार्थीको निरन्तर दबाबपछि रिहा भएका छन् ।

यसैबीच, तनाव साम्य पार्न कास्की प्रहरी प्रमुख एसपी अशोक सिंह आफै बगर पुगेका थिए। उनले घटनाबारे छानवीन भैरहेकाले विद्यार्थीलाई संयमित हुन आग्रह गरेका छन्। ‘दुर्घटना दुःखद छ। हामी छानवीन गर्छौ’-उनले भने-‘दोषीउपर कारबाही हुन्छ। विद्यार्थी त्यतिबेलासम्म संयमित भैदिनुहोला।’

नेवि संघ नेताको निधनलाई लिएर बुधबार पनि पोखरामा गुड्ने नगरबस ठप्प हुने नेवि संघ केन्द्रिय सदस्य भानु ढकाल बताउँछन्। मृत्युको विषयमा प्रहरीले नजरअन्दाज गरेको भन्दै थप सशक्त भएर आन्दोलन गर्ने उनले बताए।

अर्का केन्द्रिय सदस्य मिलन आलेले बुधबार बिहान ८ बजेदेखि अनिश्चितकालीन आन्दोलन रहेको जनाए। निजी सवारी, अन्य लामो दुरीका सवारीलाई कुनै अवरोध नहुने उनले स्पष्ट पारेका छन्। अरु ७ विद्यार्थी संगठनबाट ऐक्यबद्धता छ। जसअन्तर्गत नेविसंघ पृथ्वीनारायण मूल इकाइ समिति सभापति दीपक वाग्ले (शर्मा), अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस जिल्ला समिति संयोजक वसन्त भट्टचन, नयाँ शक्ति विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पस कमिटी अध्यक्ष कृष्ण अधिकारी, समाजवादी विद्यार्थी फोरम पृथ्वीनारायण क्याम्पस कमिटी केन्द्रीय सदस्य विशाल गुरुङ, अनेरास्ववियु छैटौ पृथ्वीनारायण क्याम्पस कमिटी अध्यक्ष प्रताप पौडेल, अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस कमिटी अध्यक्ष शिव क्षेत्री र अनेरास्ववियू कास्की पृथ्वीनारायण कमिटी अध्यक्ष विवेक देवकोटाले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

अर्का नेता समित केसीले बस व्यवसायीको दादागिरीले पोखराको सार्वजनिक यातायात बदनाम भैरहेको गुनासो गरे। ‘बसमा ठक्कर खाएको मान्छेलाई ब्याक गरेर किच्ने अधिकार कसले दियो – ड्राइभर भनेको मान्छे मार्ने लाइसेन्स होइन’-आक्रोशित हुँदै उनले भने-‘घटनाको सत्यतथ्य छानवीन र आवश्यक कारबाही नभएसम्म आन्दोलन रोकिँदैन।’

मृतकका आफन्तले लास बुझेका छैनन्। पीडित र पीडकबीच वार्ता नमिलेपछि शव नबुझेका हुन्। पीडित पक्षले ५ लाखको रवैया देखाउँदै बस चालकले गरेको गल्ती क्षम्य नभएको भन्दै कडा कारबाहीको माग गरेका छन्।

पोखरा बस ब्यवसायी समितिले चाहीँ बिमाको ५ लाख सहित किरिया खर्च ५० हजार दिने जनाएको छ। तर पीडित पक्षले ५ लाखले नमान्ने प्रतिक्रिया दिए। ‘पैसामा मान्छेको मोल तौलिनु गलत हो। मान्छे मारेर ५ लाखमा उम्किन दिनुहुँदैन’-पीडित परिवारका एक सदस्यले भने-‘हामीलाई पैसाभन्दा कानुनको चिन्ता ठूलो छ। दोषीमाथि कडा कारबाही होस्।’  उनीहरुले कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका कास्की प्रहरी प्रवक्ता डिएसपी खत्रीले जानकारी दिए। ‘गाडी र चालक सोमबार नै नियन्त्रणमा लिएका हौं। मंगलबारमात्रै उजुरी परेकाले छानवीन शुरु भैसकेको छ’-उनले भने-‘सवारी ज्यान मुद्दामा म्याद थप गरेर कारबाही हुन्छ।’ उनका अनुसार दोषीलाई कारबाही भने अदालती तजबिज आधारमा हुने व्यवस्था छ।

Related News

सम्बन्धित समाचार

  • दुर्गा मन्दिरमा अक्षरयात्रा

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    पोखरा । अक्षरयात्राको १९७ औं कार्यक्रम स्रष्टा समाज पुम्दीभुम्दीको स्थानीय व्यवस्थापनमा पोखराको छोरेपाटन र पुम्दीभुम्दीको सीमानामा पर्ने धार्मिकस्थल दुर्गा मन्दिरमा…
  • आलु महोत्सव लक्षित सरसफाइ

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    हेमजा । ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव नजिकिँदा हेमजामा सरसफाइ गरिएको छ । महोत्सव आयोजक विष्णुपादुका क्लबको आयोजनामा…
  • सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    पोखरा । सामुदायिक शैक्षिक संस्थालाई समुदायको निगरानी र माया चाहिने सरोकारवालाले बताएका छन् । सामुुदायिक संस्थाको महŒव समुदायले नबुझ्दा समस्या…
  • पाइपलाइनमा हुने क्षतिको मूल्यांकन गर्न समिति

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडकखण्ड विस्तारका क्रममा कोत्रेदेखि विजयपुरसम्मका विभिन्न खानेपानी आयोजनाका पाइपलाइनमा हुने क्षतिको मूल्यांकनका लागि अनुगमन समिति…
  • लापरवाहीले बढ्यो सडक दुर्घटना

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    लेखनाथ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत राष्ट्रिय सडक सुरक्षा परिषद्को आयोजनामा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम शनिबार भएको…

hero news full width